0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

२५ वर्षपछि जन्मगाउँ पुग्दा मैले जे देखें

आज सडक, बिजुली र इन्टरनेट त गाउँ पुगेको छ, तर खाद्यान्नदेखि इन्धनसम्म सबै कुरा बजारकै भर पर्नुपर्ने अवस्था छ। वनमा हरियाली बढेको छ, तर पानीका मुहान सुकिरहेका छन्। सुविधा बढेसँगै किन कमजोर बनिरहेको छ गाउँको परम्परागत आत्मनिर्भरता ?  

डा. कमल थापा डा. कमल थापा
२०८३ जेठ २७ गते ७:५०

पच्चीस वर्षपछि म आफ्नो जन्मगाउँ फर्किएँ। समयको यो अन्तराल आफैंमा एउटा पुस्तान्तरण जस्तै रहेछ। फरक यति थियो कि यसपटक म मोटर चढेर गाउँ पुगें, जबकि बाल्यकालमा यही बाटो घण्टौं पैदल हिंडेर पार गर्नुपर्थ्यो। गाउँ पुग्नासाथ महसुस भयो- समयले केवल मानिसहरूलाई मात्र होइन; भूदृश्य, घर, संस्कृति र प्रकृतिसँगको सम्बन्धलाई समेत बदलिसकेको रहेछ।

मेरो जन्मघर तीनतले थियो, ढुङ्गाले छाएको। घरको संरचना केवल बसोबासको स्थान मात्र नभई कृषि–पशुपालनमा आधारित ग्रामीण जीवनशैलीको प्रतिबिम्ब थियो। माथिल्लो तलामा अन्न भण्डारण हुन्थ्यो, भुइँतलामा अँगेना, गोठ र दैनिक जीवनका गतिविधि सञ्चालन हुन्थे। आज त्यही घर उभिएको त छ, तर यसको स्वरूप फेरिएको छ।

गोबर–माटोले लिपिएका भित्ताहरू सिमेन्टले ढाकिएका छन्, खर र ढुङ्गाको छानोको ठाउँ टिनले लिएको छ र पुराना भण्डारण कक्षहरू शयनकक्षमा परिणत भएका छन्। यी परिवर्तनहरूले जीवन सहज बनाएका छन्, विशेषगरी महिलाहरूको श्रम घटाएको छ; तर सँगै परम्परागत निर्माणकला र स्थानीय जीवनशैलीका केही आयाम हराउँदै गएका छन्।

घर राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको रहेछ। मोबाइल नेटवर्क, इन्टरनेट, घरमै खानेपानी र सडकको सुविधा पुगेको छ। विगतमा सामान्य स्वास्थ्य सेवा पाउन पनि दुई दिन पैदल हिंड्नुपर्ने अवस्था थियो भने आज एम्बुलेन्स बोलाउन सकिन्छ। यस्तो परिवर्तन देख्दा आफ्ना हजुरबुवा–हजुरआमाको सम्झना आयो।

मेरी हजुरआमाले जीवनभर धुवाँले भरिएको अँगेनामा खाना पकाउनुभयो, जबकि हजुरबुवा हृदयघातका कारण बित्नुभयो। आजका स्वास्थ्य सेवा र स्वच्छ ऊर्जा सुविधा त्यतिबेला उपलब्ध भएका भए उनीहरूको जीवन फरक हुन सक्थ्यो कि भन्ने प्रश्न मनमा उठ्यो।

तर विकासका यी सकारात्मक सङ्केतहरू बीच केही विरोधाभासहरू पनि देखिए। घरमै खानेपानी पुगेको छ, तर गाउँका पुराना पँधेरा र खोल्साहरू सुकेका छन्। वनस्पति आवरण बढेको जस्तो देखिए पनि पानीका मुहानहरू किन सुक्दैछन् ? के वन विस्तार मात्र पर्याप्त छ वा पानीको संरक्षणका लागि घाँसेमैदान, चरन क्षेत्र, सिमसार र स्थानीय वनस्पति समुदायहरूको पनि उत्तिकै महत्त्व हुन्छ ? यस्ता प्रश्नहरूले गाउँको बदलिंदो पारिस्थितिक अवस्थाबारे गम्भीर रूपमा सोच्न बाध्य बनायो।

गाउँको कृषि–पशुपालन प्रणालीमा आएको परिवर्तन अझ गहिरो थियो। एक समय कृषि, वन र पशुधन बीचको घनिष्ठ सम्बन्धले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भर बनाएको थियो। गोठबाट मल आउँथ्यो, खेतमा प्रयोग हुन्थ्यो। खेतका पराल र घाँस पशुलाई खुवाइन्थ्यो र वनबाट दाउरा तथा सोत्तर प्राप्त हुन्थ्यो। आज गोठहरू रित्तिएका छन्, पशुधन घटेको छ र धेरै खेतबारी बाँझिएका छन्। पशुपालन कमजोर भएसँगै जैविक मलको उत्पादन घटेको छ र परम्परागत कृषि प्रणाली पनि कमजोर बन्दै गएको छ।

खाद्य प्रणालीमा आएको परिवर्तन झन् उल्लेखनीय थियो। मेरो बाल्यकालमा गाउँ धेरै हदसम्म आत्मनिर्भर थियो। मकै, कोदो, धान, आलु, तरकारी तथा विभिन्न स्थानीय बालीहरू गाउँमै उत्पादन हुन्थे। वनबाट कन्दमूल, च्याउ र जङ्गली फलफूल प्राप्त हुन्थे। दूध, घिउ, मासु र दाउराको अभाव थिएन।

बाहिरबाट मुख्यतः नुन, मट्टीतेल र कपडा मात्र किनिन्थ्यो। आज भने चामल, दाल, तेल, एलपी ग्यास, पशुचारा र दैनिक उपभोगका अधिकांश वस्तु बजारबाट आउँछन्। गाउँ पहिलेभन्दा सुविधासम्पन्न देखिए पनि जीविकोपार्जनका आधारभूत आवश्यकतामा बाह्य बजारमाथिको निर्भरता उल्लेखनीय रूपमा बढेको छ।

२५ वर्षअघि गाउँलेहरूले मुख्यतः नुन, मट्टीतेल र कपडा मात्र बाहिरबाट ल्याउँथे; आज खाद्यान्नदेखि इन्धनसम्मका अधिकांश आवश्यक वस्तुहरू बजारबाट आउँछन्। विकासका धेरै सङ्केतहरू देखिए- बिजुली, सडक, सञ्चार, ग्यास, खानेपानी र स्वास्थ्य सेवाको पहुँच। तर सँगै केही पानीका स्रोत, केही चरन क्षेत्र, केही चौतारा, केही लोकभाका, केही सामुदायिक अभ्यास र केही स्थानीय ज्ञान प्रणालीहरू हराउँदै गएको पनि देखियो

अर्को दिन गाउँ वरिपरि घुम्दा धेरै खेतबारी बाँझै देखिए। पुराना गोरेटाहरू झाडी र वनमाराले ढाकिएका थिए। एक समय पशु चराइने चौर र खरबारीहरू अहिले झाडीमा परिणत भएका छन्। पहिलो नजरमा यो हरियाली उत्साहजनक देखिए पनि एउटा प्रश्न उठ्छ- के हरियाली बढ्नु मात्र पारिस्थितिक स्वास्थ्यको सूचक हो ? यदि चरनभूमि, घाँसेमैदान र खुला क्षेत्रहरू सबै झाडीले ढाकिए भने जैविक विविधताको अवस्था वास्तवमै सुधारिएको मान्न सकिन्छ त ?

गाउँ वरिपरि वनस्पति आवरण बढेको देखिए पनि त्यो विस्तार मुख्यतः वनमारा जस्ता मिचाहा प्रजातिहरूको प्रभुत्व जस्तो लाग्यो। यसलाई केवल जलवायु परिवर्तनको परिणाम भन्नुभन्दा पनि परम्परागत कृषि–पशुपालन प्रणालीको क्षयसँग जोडेर हेर्न आवश्यक छ। चरन प्रणालीको लोपसँगै खुला भूदृश्यहरू हराएका छन् र घाँसेमैदानमा निर्भर धेरै वनस्पति तथा जीवजन्तुका वासस्थानहरू परिवर्तन भएका छन्।

स्थानीयहरूले बाँदर, बँदेल, चितुवा र भालुको गतिविधि बढेको बताए। यसले कृषि उत्पादनमा क्षति र मानव–वन्यजन्तु द्वन्द्व बढाएको छ। यहाँ एउटा जटिल प्रश्न उठ्छ— वन्यजन्तुको सङ्ख्या किन बढिरहेको छ ? के यो संरक्षणको सफलताको परिणाम हो ? वा परम्परागत सिकार, स्थानीय नियन्त्रण प्रणाली र जनसङ्ख्या व्यवस्थापनका अभ्यासहरू हराउँदै जाँदा मानिस र वन्यजन्तु बीचको सन्तुलनमा परिवर्तन आएको हो ? संरक्षणको मूल्याङ्कन केवल जनावरको सङ्ख्या बढेको आधारमा गर्न मिल्छ कि मानव–प्रकृति सहअस्तित्वको आधारमा पनि गर्नुपर्छ ?

प्राकृतिक र सांस्कृतिक सम्पदाहरूमा पनि उल्लेखनीय रूपान्तरण देखियो। केही प्राकृतिक पोखरीहरू सिमेन्टले घेरिएका छन्, तर पानीको सतह घटेको छ। यात्रुहरूको विश्रामस्थलका रूपमा रहेका लाँकुरीका रूखमुनिका चौताराहरू धेरैजसो मोटरबाटो र नयाँ संरचनाले विस्थापित गरेका छन्। विकासले सुविधा दिएको छ, तर सांस्कृतिक भूदृश्यका केही अमूल्य प्रतीकहरू हराउँदै गएका छन्।

लोकसंस्कृतिमा आएको परिवर्तन पनि गहिरो छ। एक समय अर्मपर्म र सामूहिक श्रम आदानप्रदान ग्रामीण समाजका आधार थिए। रोपाइँ गर्ने, धान काट्ने, घर छाउने वा गोठ बनाउने काम सामूहिक रूपमा सम्पन्न हुन्थे। सोरठी, सालैजो, मारुनी र भैलोका गीतहरू गाउँभरि गुञ्जन्थे। आज मोबाइल फोन र सामाजिक सञ्जाल गाउँसम्म पुगेका छन्, तर सामूहिक रूपमा गाइने लोकभाकाहरू क्रमशः मौन हुँदै गएका छन्।

ऊर्जा प्रयोगमा आएको परिवर्तनले महिलाहरूको श्रम बचाएको छ। दाउराको ठाउँ एलपी ग्यासले लिएको छ, धुवाँ घटेको छ र स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ। तर दाउराको माग घटेसँगै वनसँग मानिसको दैनिक सम्बन्ध पनि कमजोर भएको देखिन्छ। जब मानिसको जीविकोपार्जन वनसँग प्रत्यक्ष रूपमा जोडिंदैन, तब वनप्रतिको जिम्मेवारी र सम्बन्धको स्वरूप पनि बदलिन्छ।

गाउँका अधिकांश बासिन्दा मगर र विश्वकर्मा समुदायका हुन्। एक समय ब्रिटिश र भारतीय सेनामा भर्ती हुने परम्पराले यहाँको अर्थतन्त्रलाई धानेको थियो। आज त्यसको स्थान खाडी मुलुक, युरोप, अमेरिका र अन्य विकसित देशहरूमा हुने वैदेशिक रोजगारीले लिएको छ। साथै धेरै परिवार तराई, शहर र विदेशतिर बसाइँ सरेका छन्। गाउँमा मुख्यतः वृद्धवृद्धा मात्र स्थायी रूपमा बसिरहेका छन्। धेरै घरहरू वर्षको अधिकांश समय बन्द रहने र चाडपर्वमा मात्र खुल्ने अवस्था छ।

तर सबै कुरा हराएका भने छैनन्। मैले लटरम्म पहेंलिएका ऐंसेलु खाएँ, चराहरूको आवाज सुनें र केही पुराना रूखहरू अझै उभिएका देखें। ती क्षणहरूले प्रकृतिको निरन्तरता अझै बाँकी रहेको अनुभूति गराए।

प्रकृतिविद्का रूपमा यो यात्रा मेरो लागि उत्तरभन्दा प्रश्नहरूको यात्रा बढी बन्यो। मैले वनस्पति बढी देखें तर पानी कम पाएँ। वन्यजन्तु बढी देखिए तर खेती कम देखियो। घरहरू सुविधासम्पन्न देखिए, तर मानिसहरू कम भेटिए। विकासका संरचनाहरू बढे तर सांस्कृतिक भूदृश्यका केही तत्त्वहरू हराए। आत्मनिर्भर उत्पादन प्रणाली कमजोर भयो तर बजारमाथिको निर्भरता बढ्यो।

२५ वर्षअघि गाउँलेहरूले मुख्यतः नुन, मट्टीतेल र कपडा मात्र बाहिरबाट ल्याउँथे; आज खाद्यान्नदेखि इन्धनसम्मका अधिकांश आवश्यक वस्तुहरू बजारबाट आउँछन्। विकासका धेरै सङ्केतहरू देखिए- बिजुली, सडक, सञ्चार, ग्यास, खानेपानी र स्वास्थ्य सेवाको पहुँच। तर सँगै केही पानीका स्रोत, केही चरन क्षेत्र, केही चौतारा, केही लोकभाका, केही सामुदायिक अभ्यास र केही स्थानीय ज्ञान प्रणालीहरू हराउँदै गएको पनि देखियो।

यो केवल एउटा गाउँको कथा होइन; नेपालका धेरै मध्यपहाडी गाउँहरूले भोगिरहेको सामाजिक, आर्थिक, सांस्कृतिक र पर्यावरणीय रूपान्तरणको साझा कथा हो। अन्ततः प्रश्न यही रहन्छ— हामी कस्तो गाउँ, कस्तो प्रकृति र कस्तो विकास भावी पुस्तालाई हस्तान्तरण गर्दैछौं ?

(डा. थापा प्रकृतिविद् तथा संरक्षण वैज्ञानिक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?