0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सुक्खा मनसुनमा पनि गम्भीर विपद्को जोखिम

‘एउटा मात्र पूर्वानुमानयोग्य विपद्को तयारी गर्ने युग समाप्त’

विज्ञहरु भन्छन्– समग्र रूपमा मनसुन सुक्खा हुने संकेत देखिए पनि जोखिम कम हुन्छ भन्ने होइन । छोटो अवधिमा हुने तीव्र वर्षाले गम्भीर विपद् निम्त्याउन सक्छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८३ जेठ २७ गते ८:५७

२७ जेठ, काठमाडौं । यस वर्षको मनसुनमा औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम कम नहुने विज्ञहरुले बताएका छन् । उनीहरूका अनुसार छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले यो वर्षको मनसुन अझ खतरनाक बन्न सक्छ ।

नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको ‘हिन्दुकुश हिमालय मनसुन आउटलुक २०२६’ ले यस वर्षको मनसुन अवधिमा नेपाल, भारत, भुटान र पाकिस्तानलगायतका देशहरूमा औसतभन्दा कम वर्षा हुने तथा अधिकांश भागमा औसतभन्दा बढी तापक्रम रहने प्रक्षेपण गरेको छ ।

यसअघि २५ वैशाखमा जल तथा मौसम विज्ञान विभागले मनसुन आउटलुक सार्वजनिक गर्दै नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने सम्भावना रहेको जनाएको थियो । त्यसको ठिक एक महिनापछि इसिमोडले पनि त्यस्तै प्रक्षेपण सार्वजनिक गरेको हो ।

विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय जलवायु मोडलहरूको पूर्वानुमानमा आधारित मनसुन आउटलुक २०२६ मा सरदरमा कम वर्षा हुने औंल्याइए पनि आकस्मिक बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको जोखिम भने उच्च रहने सम्भावना रहेको उल्लेख छ ।

मंगलबार मनसुन आउटलुक सार्वजनिक कार्यक्रममा इसिमोडका जलविद् मनीष श्रेष्ठले भने, ‘मनसुन कमजोर भए पनि छोटो समयमा हुने तीव्र वर्षा ठूलो चिन्ताको विषय हो ।’

मनसुनमा वर्षा र गर्मीबारे इसिमोडको प्रतिवेदनमा के छ ? 

इसिमोडको मनसुन पूर्वानुमान प्रतिवेदनले नेपालभर सामान्यभन्दा सुख्खा अवस्था रहने उच्च सम्भावना (६०–८० प्रतिशत) देखाएको छ । विशेषगरी पश्चिम नेपालमा सामान्यभन्दा बढी सुख्खा अवस्था रहने सम्भावना ६०–८० प्रतिशत रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, एशिया–प्रशान्त जलवायु केन्द्र (एपीसीसी), कोलम्बिया विश्वविद्यालयअन्तर्गतको इन्टरनेशनल रिसर्च इन्स्टिच्युट फर क्लाइमेट एन्ड सोसाइटी (आईआरआई) तथा युरोपेली संघको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस (सी३एस) का पूर्वानुमानहरूले पनि नेपालभर औसतभन्दा कम वर्षा हुने संकेत गरेका छन् । यी पूर्वानुमानअनुसार सुख्खापन पश्चिमतर्फ जाँदा क्रमशः बढ्दै जाने देखिन्छ ।

सी३एसका अनुसार नेपालको अधिकांश क्षेत्रमा मनसुन अवधिमा सामान्यभन्दा ५० देखि १०० मिलिमिटरसम्म कम वर्षा हुन सक्छ भने पश्चिमी नेपालमा यो कमी २०० मिलिमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी, साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम–३४ ले पनि देशका अधिकांश भागमा औसतभन्दा कम वर्षा हुने संकेत गरेको छ । यद्यपि, पश्चिमी नेपालका केही क्षेत्रमा भने औसत नजिकको वर्षा हुन सक्ने सम्भावना देखाइएको छ ।

तापक्रमका सन्दर्भमा, जल तथा मौसम विज्ञान विभागले जस्तै इसिमोड, एपीसीसी र आईआरआईका पूर्वानुमानहरूले पनि नेपालभर मनसुन अवधिमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना औंल्याएका छन् । विशेषगरी पहाडी र तराई क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना ६०–८० प्रतिशत रहेको उल्लेख गरिएको छ ।

इसिमोडले पूर्वी नेपालमा तापक्रम वृद्धि हुने सम्भावना अझ बढी रहेको संकेत गरेको छ । त्यस्तै, सी३एस ले पनि देशभर औसतभन्दा माथिको तापक्रम रहने प्रक्षेपण गर्दै नेपालभर औसत तापक्रम ०.५ देखि १ डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान गरेको छ ।

वर्षा र गर्मीको संयोजनले मनसुनमा खडेरी र बाढी दुवैको जोखिम

इसिमोडका अनुसार अनियमित वर्षा र बढ्दो तापक्रमको संयोजनले एउटै मौसममा खडेरी र बाढी दुवैको जोखिम बढाउने सम्भावना हुन्छ । लामो समयसम्म पानी नपरी सुख्खा अवस्था रहने र त्यसपछि एक्कासि भारी वर्षा हुने क्रमले विशेषगरी पहाडी क्षेत्रमा आकस्मिक बाढी र पहिरोको जोखिम बढाउन सक्छ ।

इसिमोडका जलविद् मनीष श्रेष्ठ भन्छन्, ‘समग्र रूपमा मनसुन सुक्खा हुने संकेत देखिए पनि जोखिम कम हुन्छ भन्ने होइन । छोटो अवधिमा हुने तीव्र वर्षाले गम्भीर विपद् निम्त्याउन सक्छ ।’

विज्ञहरुले पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र एन्सो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपल (आईओडी)को हालको अवस्थाको विश्लेषणलाई आधार मानेर यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेका हुन् । किनभने हाल हिन्द महासागरमा एन्सो तटस्थ हुने अवस्थामा रही एल–निनोको अवस्थातर्फ उन्मुख छ । प्रशान्त महासागरको तापक्रम औसतभन्दा बढी हुने अवस्थालाई ‘एल निनो’ भनिन्छ । यसले दक्षिण एसियाली मनसुनलाई कमजोर बनाउँछ ।

यसैगरी आईओडी हाल तटस्थ अवस्थामा छ । मनसुन ऋतुको अन्त्यसम्ममा भने आईओडी धनात्मक हुने आकलन छ । त्यसैले जुन महिनाको मध्यसम्म ठिकै पानी परे पनि जुनको अन्त्यतिरबाट सुक्खा हुँदै जाने र सेप्टेम्बरको अन्त्यतिर पुनः मनसुन सक्रिय हुनसक्ने अनुमान गरिएको छ । तर समग्रतामा मनसुन अवधिभर औसतभन्दा कम पानी पर्ने र बढी गर्मी हुने पूर्वानुमान गरिएको हो ।

हिट स्ट्रेस र पानीका स्रोत सुक्ने जोखिम

बढ्दो तापक्रमले गर्मीजन्य तनाव (हिट स्ट्रेस) बढाउनुका साथै पानीको उपलब्धता पनि घटाउने सम्भावना हुन्छ । मनसुन सुरु हुनुअघि हिमपातको स्थायित्व (स्नो पर्सिस्टेन्स) कम हुनुका कारण क्षेत्रको प्राकृतिक जल सञ्चिति कमजोर बनेको छ, जसले नदी प्रणाली र भू–जल पुनर्भरण प्रक्रिया पनि प्रभावित हुने चिन्ता छ ।

इसिमोडमा कार्यरत पाकिस्तानका रिमोट सेन्सिङ विशेषज्ञ शेर मुहम्मद उच्च ताफक्रम र कम वर्षाको संयुत्त प्रभावले नदी, मुहान तथा अन्य जल प्रणालीहरूको पुनर्भरण क्षमता घट्न सक्ने सम्भावना रहेको बताउँछन् ।

इसिमोडका अर्का विज्ञ सार्थक श्रेष्ठ पनि हिमपातको स्थायित्व घटेकाले जल सञ्चितिको प्राकृतिक सुरक्षा कवच कमजोर अवस्थामा पुगेको बताउँछन् ।

विज्ञहरूका अनुसार यी संयुक्त जोखिमहरूले दक्षिण एशियाभर विपद् योजना तथा उद्धार व्यवस्थापनलाई थप जटिल बनाइरहेका छन् ।

इसिमोडकी जल तथा विपद् जोखिम न्यूनीकरण प्रमुख नीरा श्रेष्ठ प्रधानका अनुसार मनसुनको बढ्दो अनिश्चितताले समन्वयसम्बन्धी चुनौती सिर्जना गरिरहेको छ । त्यसैले तयारीका लागि अब सरकार, प्राविधिक निकाय र स्थानीय तहबीच अझ सशक्त समन्वय आवश्यक छ ।

खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमा दबाब

इसिमोडको प्रतिवेदनमा खाद्य उत्पादन, जलस्रोत र ऊर्जा प्रणालीमाथि बढ्दो दबाबका साथै ग्रामीण र सहरी दुवै क्षेत्रमा जोखिम बढ्दै गएको उल्लेख छ ।

रिका इन्डियाका प्रमुख कार्यकारी अधिकृत रणित चटर्जीले भने, ‘लामो सुख्खा अवधिपछि हुने अनियमित वर्षाले पहिरोको जोखिम बढाउँछ । र, यसले बसाइँसराइ, खाद्यान्न मूल्यवृद्धि, ऊर्जा संकट र पर्यटन क्षेत्रमा अवरोधजस्ता सामाजिक–आर्थिक दबाबलाई अझ बढाउन सक्छ ।’

भारतकै प्यालाडियम इन्डियाका विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशीलता टोली प्रमुख नवनीत यादव यो पूर्वानुमानले विपद् व्यवस्थापन निकायहरूलाई तयारीका लागि महत्वपूर्ण अवसर प्रदान गरेको बताउँछन् । कमजोर मनसुनकै अवस्थामा पनि छोटो अवधिको तीव्र वर्षाले पहाडी उपत्यकाहरूमा आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने भएकाले पूर्वतयारी गर्न उनी सुझाव दिन्छन् ।

‘एउटा मात्र पूर्वानुमानयोग्य विपद्को तयारी गर्ने युग समाप्त’

वैज्ञानिकहरूले प्रभावमा आधारित पूर्वानुमान प्रणाली र प्रारम्भिक चेतावनी संयन्त्रलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।

इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठ भन्छन्, ‘खडेरी र बाढीको जोखिमलाई अब छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिँदैन । प्रारम्भिक चेतावनी प्रणाली, छोटो अवधिका पूर्वानुमान र स्थानीय तहमा आधारित तयारीका उपायहरूलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ ।’

जलवायु परिवर्तनका कारण मौसममा उतारचढाव बढ्दै जाँदा एउटै प्रकारको विपद्को तयारी मात्र पर्याप्त नहुने विज्ञहरूको भनाइ छ ।

एउटा मात्र पूर्वानुमानयोग्य विपद्को तयारी गर्ने युग समाप्त भइसकेको बताउँदै इसिमोडका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ सास्वत सान्यालले भने, ‘अब पूर्वानुमानमा आधारित अग्रिम कार्य र प्रारम्भिक चेतावनी प्रणाली नै तयारीको आधार बन्नुपर्छ ।’

प्रभावमा आधारित पूर्वानुमान र तयारीमा जोड

जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरी हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्दछ ।

तर जलवायु परिवर्तनका कारण वर्षा अनियमित र खण्डित भइरहेको छ । हरेक वर्ष पृथ्वी पनि तात्दै गएको छ भने अनावृष्टि र अतिवृष्टिका घटना पनि बढेका छन् । त्यसैले समुदाय र सम्बन्धित निकायहरूले छोटो अवधिका मौसम पूर्वानुमान तथा सतर्कता सूचनालाई नजिकबाट पछ्याउन आवश्यक रहेको विज्ञहरु बताउँछन् ।

बंगलादेश इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक ए.के.एम. सैफुल इस्लामका अनुसार यस वर्षको मनसुन पूर्वानुमानले गर्मी र असमान वर्षाका संयुक्त जोखिमसहित चुनौतीपूर्ण अवस्थाको संकेत गरेको छ । उनी भन्छन्, ‘विपद् व्यवस्थापन निकायहरूले प्रभावमा आधारित पूर्वानुमान र तयारीलाई सुदृढ बनाउनुपर्छ, किनकि जोखिमहरू दिनप्रतिदिन जटिल बन्दै गएका छन् ।’

लेखक
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?