२८ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुका लागि अद्यावधिक जलवायु आँकलन सार्वजनिक गर्दै देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने र बढी गर्मी हुने सम्भावना यथावत् रहेको जनाएको छ ।
विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले १ जुनदेखि ३० सेप्टेम्बरसम्म (१८ जेठदेखि १४ असोज २०८३) को अवधिलाई समेटेर सार्वजनिक गरेको आँकलनले यस वर्ष मनसुन अपेक्षाकृत कमजोर हुन सक्ने संकेत गरेको हो ।
महाशाखाले यसअघि गत वैशाख २५ गते यस वर्षको मनसुनको आंकलनसहितको प्रतिवेदन सार्वजनिक गर्दा पनि कम वर्षा र बढी गर्मी हुने जानकारी दिएको थियो । एक महिनापछि सार्वजनिक अद्यावधिक विवरणमा पनि यसलाई यथावत राखिएको छ ।
एक महिना अघिको आँकलनमा उच्च हिमाली भेगका केही क्षेत्रलाई हल्का हरियो रंगले संकेत गरेर सरदर वर्षा हुन सक्ने अनुमान गरिए पनि यद्यावधिक विवरणमा त्यसलाई हटाइएको छ ।
नेपालको वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा मनसुनबाट प्राप्त हुने भएकाले मनसुनी वर्षामा आउने कमीले कृषि उत्पादन, खानेपानी, जलस्रोत व्यवस्थापन तथा जलविद्युत् उत्पादनमा समेत प्रभाव पार्न सक्ने चिन्ता छ ।
सरदरभन्दा कम पानी परे पनि विपदको जोखिम कायमै
यद्यपि यस वर्षको मनसुनमा सरदर भन्दा कम वर्षा हुने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम कम नहुने विज्ञहरुले बताएका छन् ।
उनीहरूका अनुसार छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र पानीको अभावले यो वर्षको मनसुन अझ खतरनाक बन्न सक्ने सम्भावना छ ।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)का जलविद् मनीष श्रेष्ठ भन्छन्, ‘समग्र रूपमा मनसुन सुक्खा हुने संकेत देखिए पनि जोखिम कम हुन्छ भन्ने होइन । छोटो अवधिमा हुने तीव्र वर्षाले गम्भीर विपद् निम्त्याउन सक्छ ।’
पूर्वको तुलनामा पश्चिममा कम पानी पर्ने सम्भावना झन् धेरै

विभागका अनुसार नेपालको पूर्वी भूभागको तुलनामा पश्चिमी भूभागमा कम पानी पर्ने सम्भावना झन् धेरै छ ।
कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, कर्णालीका उत्तरपश्चिमी क्षेत्र, गण्डकी प्रदेशका पूर्वी भूभाग, बागमती प्रदेशका दक्षिणी क्षेत्र, मधेशका पश्चिमी भूभाग तथा कोशीका मध्य क्षेत्रहरूमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
देशका बाँकी भूभागमा पनि वर्षा सरदरभन्दा कम रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । यसले देशभर नै मनसुनी वर्षामा कमी आउने संकेत गरेको मौसमविद्हरू बताउँछन् ।
कम वर्षाले विशेषगरी वर्षामा निर्भर खेतीपाती प्रभावित हुन सक्ने देखिएको छ । नेपालमा धान खेतीको ठूलो हिस्सा अझै पनि वर्षामा निर्भर रहेकाले मनसुनी वर्षामा कमी आए रोपाइँ, बाली वृद्धि तथा उत्पादनमा असर पर्ने जोखिम रहने मौसमका अध्येता एवम् विपदविज्ञ डा. धर्मराज उप्रेती बताउँछन् ।
अधिकतम तापक्रम बढ्ने सम्भावना
विभागको प्रक्षेपणअनुसार मनसुन अवधिमा देशभर अधिकतम तापक्रम पनि सरदरभन्दा माथि रहने सम्भावना छ ।
कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनी प्रदेशका दक्षिणी क्षेत्र, गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका दक्षिणपश्चिमी क्षेत्र, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी भूभाग तथा कोशी प्रदेशका उत्तरपूर्वी र दक्षिणी क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरी भूभाग, गण्डकी प्रदेशका उत्तरपूर्वी क्षेत्र तथा कोशी प्रदेशका मध्य भूभागमा यो सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । देशका अन्य भूभागमा भने ४५ देखि ५५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ ।
अधिकतम तापक्रम बढ्दा ताता दिनहरूको संख्या बढ्ने, गर्मीको प्रभाव तीव्र हुने तथा ऊर्जा र पानीको मागमा वृद्धि हुन सक्ने डा. उप्रेती बताउँछन् ।
रातको तापक्रम पनि बढ्ने
मनसुन अवधिमा न्यूनतम तापक्रम अर्थात् राति र बिहानको तापक्रम पनि सरदरभन्दा माथि रहने सम्भावना रहेको विभागको आँकलन छ ।
लुम्बिनी प्रदेशका दक्षिणी भूभाग, मधेश प्रदेशका पूर्वी तथा पश्चिमी क्षेत्र, कोशी प्रदेशका दक्षिणी भूभाग तथा कर्णाली, गण्डकी र बागमती प्रदेशका केही क्षेत्रमा न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, कर्णालीका उत्तरपूर्वी क्षेत्र, लुम्बिनीका पूर्वी भूभाग, गण्डकीका उत्तरी क्षेत्र तथा कोशीका पूर्वी भूभागमा यो सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । अन्य क्षेत्रमा भने ४५ देखि ५५ प्रतिशत सम्भावना रहेको विभागले जनाएको छ ।
न्यूनतम तापक्रम बढ्दा रातको समयमा पनि पर्याप्त चिसोपन महसुस नहुने, मानव स्वास्थ्यमा असर पर्ने तथा कृषि बालीको वृद्धि चक्रमा परिवर्तन आउन सक्ने विज्ञहरूको भनाइ छ ।
जलवायु परिवर्तनको प्रभाव अझ स्पष्ट
पछिल्ला वर्षहरूमा नेपालमा मनसुनी वर्षाको वितरण असन्तुलित बन्दै गएको छ । कतिपय क्षेत्रमा अत्यधिक वर्षा हुने र कतिपय क्षेत्रमा लामो समयसम्म सुख्खा अवस्था रहने प्रवृत्ति बढ्दै गएको मौसमविद्हरू बताउँछन् ।
जलवायु परिवर्तनका कारण तापक्रम निरन्तर बढिरहेको र वर्षाको स्वरूपमा पनि परिवर्तन देखिन थालेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यस वर्षको मनसुनी आँकलनले पनि वर्षा कम र तापक्रम बढी रहने संकेत गरेकाले कृषि, जलस्रोत, खानेपानी, स्वास्थ्य तथा विपद् व्यवस्थापनका निकायहरूले पूर्वतयारी बढाउनुपर्ने आवश्यकता देखिएको छ ।
बढ्दो तापक्रमले गर्मीजन्य तनाव (हिट स्ट्रेस) बढाउनुका साथै पानीको उपलब्धता पनि घटाउने सम्भावना हुन्छ । मनसुन सुरु हुनुअघि हिमपातको स्थायित्व (स्नो पर्सिस्टेन्स) कम हुनुका कारण क्षेत्रको प्राकृतिक जल सञ्चिति कमजोर बनेको छ, जसले नदी प्रणाली र भू–जल पुनर्भरण प्रक्रिया पनि प्रभावित हुने चिन्ता छ ।
इसिमोडका वरिष्ठ सल्लाहकार अरुणभक्त श्रेष्ठ भन्छन्, ‘खडेरी र बाढीको जोखिमलाई अब छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिँदैन । प्रारम्भिक चेतावनी प्रणाली, छोटो अवधिका पूर्वानुमान र स्थानीय तहमा आधारित तयारीका उपायहरूलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ ।’ जलवायु परिवर्तनका कारण मौसममा उतारचढाव बढ्दै जाँदा एउटै प्रकारको विपद्को तयारी मात्र पर्याप्त नहुने विज्ञहरूको भनाइ छ ।
विशेषगरी मनसुनी वर्षामा निर्भर किसानहरूलाई सिँचाइ व्यवस्थापन, वैकल्पिक बाली तथा जल संरक्षणका उपायहरू अवलम्बन गर्न विज्ञहरूले सुझाव दिएका छन् । यस्तै, उच्च तापक्रमका कारण गर्मीजन्य स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले स्थानीय तह तथा स्वास्थ्य निकायहरूले पनि आवश्यक तयारी गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया 4