News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता महतले पार्टीको बृहत्तर एकताका लागि १५औँ महाधिवेशन अगाडि साझा सहमतिको संयन्त्र बनाउनुपर्ने माग गर्नुभएको छ ।
- उक्त संयन्त्रले महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउने, क्रियाशील सदस्यता विवाद सुल्झाउने र विधान संशोधनका विषय टुङ्ग्याउने उहाँले बताउनुभयो ।
- नेता महतले पार्टीभित्रको अन्योल अन्त्य गरी एकताबद्ध बनाउन वर्तमान नेतृत्वसँग तत्काल गम्भीर छलफलका लागि अपिल गर्नुभएको छ ।
नेपाली कांग्रेस अहिले एउटा चुनौतीपूर्ण घडीमा छ। निर्वाचनपछि हाम्रो पार्टी सानो आकारमा सीमित भएको छ, संसद्मा हाम्रो सङ्ख्या सीमित छ र पार्टीको जुन जनाधार थियो, त्यो खस्किएको अवस्था छ। त्यसमाथि, पार्टीको नियमित १५औँ महाधिवेशन गर्नुपर्छ भन्ने पक्षका साथीहरू र विशेष महाधिवेशनमा भाग लिएर नेतृत्वमा पुग्नुभएका साथीहरूबीच देशैभरि एउटा मनोवैज्ञानिक खाडल विद्यमान छ। यसले गर्दा पार्टी झन् कमजोर हुन सक्ने अवस्थामा पुगेको छ।
अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। त्यो बृहत्तर एकता भएन भने नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय पार्टीका रूपमा कांग्रेसलाई पुनःस्थापित गर्ने हाम्रो अभियान कमजोर हुन्छ। त्यसैले अहिले प्राविधिक रूपमा आधिकारिकता प्राप्त गर्नुभएका गगनजीहरू (वर्तमान नेतृत्व) बाट एकताका लागि गम्भीर पहल हुन जरुरी छ।
त्यो नहुँदाखेरि पार्टीमा नयाँ ऊर्जा थपिन सकेको छैन र देशैभरिका साथीहरू विचलित हुनुहुन्छ। कतिपयले पार्टी छाडेर अन्य दलमा जान थालेका छन् भने कतिपय निष्क्रिय बस्ने अवस्था आएको छ।
साझा सहमतिको संयन्त्र किन आवश्यक ?
बृहत्तर एकताका लागि १५औँ महाधिवेशनको निष्पक्षता, पारदर्शिता, स्वामित्व र सहभागिता सुनिश्चित हुन जरुरी छ। नियमित अधिवेशनको नेतृत्व गरिरहेका साथीहरू र विशेष अधिवेशनबाट निर्वाचित भएका साथीहरूबीच एउटा प्रस्ट समझदारी बन्नु पर्छ।
हामीले अहिले कुनै ठूलो भागबन्डाको कुरा गरेका छैनौँ। हामीले केवल १५औँ महाधिवेशन निष्पक्ष हुने सुरक्षितताको ग्यारेन्टी खोजेका हौँ। त्यसका लागि दुवै पक्ष बसेर एउटा साझा सहमतिको संयन्त्र बनाउनुपर्छ। यस संयन्त्रले मुख्य रूपमा तीनवटा मूलभूत विषयहरूलाई टुङ्ग्याउनुपर्छ :
एक- १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियालाई अगाडि बढाउने।
दुई- क्रियाशील सदस्यताको विवाद समाधान गर्ने।
तीन- विधान संशोधनका विषयहरू टुङ्ग्याउने।
१४औँ महाधिवेशनको समिति र यो विशेष महाधिवेशनबाट आएको समितिलाई समायोजन गरेर वा एउटा सानो साझा संयन्त्र बनाएर यी कामहरू गरिनुपर्छ। यसो भएमा मात्र सबैले सम्मानपूर्वक र विश्वासका साथ महाधिवेशनमा भाग लिने वातावरण बन्छ र त्यसबाट आउने नेतृत्व सबैका लागि सर्वस्वीकार्य हुन्छ।
हामीले मलाई यो पद चाहियो वा त्यो पद चाहियो भनेका छैनौँ। १५औँ महाधिवेशन सम्पन्न नहुन्जेलका लागि एउटा अस्थायी साझा संयन्त्र बनाएर अघि बढौँ भन्ने मात्र हाम्रो आशय हो।
क्रियाशील सदस्यता : ‘गाडी चढिसकेकाहरूलाई ओराल्न मिल्दैन’
अहिले क्रियाशील सदस्यताको बारेमा पनि एउटा अन्योल सिर्जना गरिएको छ। पार्टीका साथीहरूले नवीकरण गरिसकेको विवरणलाई डिजिटल र अद्यावधिक गर्ने काम केन्द्रको जिम्मेवारी हो।
‘तपाईंहरू आउनुभएन भने गाडी छुट्छ’ भन्दै वर्षौँदेखि पार्टीमा लागेका साथीहरूलाई तर्साउनु उचित होइन। जो साथीहरूले नवीकरण गरिसकेका छन्, उनीहरू गाडीमै (पार्टीमै) छन्; अब उनीहरूलाई गाडीबाट निकाल्ने जस्तो कुरा गर्नु न्यायोचित हुँदैन।
डिजिटल गर्ने काम केन्द्रको हो, त्यो जिम्मेवारी पूरा नगरेर तल्लो तह (जिल्ला, क्षेत्र वा वडा) लाई दोषारोपण गर्न मिल्दैन। दशकौँदेखि पार्टीमा रगत–पसिना बगाएका साथीहरूलाई ‘अब तपाईंहरू पार्टीमा रहनुहुन्न’ भन्न पाइँदैन। जो साथीहरूले पार्टी छाडिसकेका छन्, उनीहरूको हकमा वडा र जिल्ला तहबाट बुझेर नामावली हटाउन सकिन्छ, तर बाँकी सबैको विवरण स्वतः डिजिटल गरिनुपर्छ।
वर्तमान नेतृत्वको सीमा र हाम्रो अपिल
विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्व भनेको छोटो समयका लागि बनेको एउटा अन्तरिम वा तदर्थ स्वरूप मात्र हो। यस नेतृत्वले अहिले नै सम्पूर्ण भ्रातृ सङ्गठनदेखि लिएर दूरगामी प्रभाव पार्ने विधान संशोधन र क्रियाशील सदस्यताका विषयहरू एकलौटी ढङ्गले टुङ्ग्याउने होइन। यी सबै कुरा १५औँ महाधिवेशनले नै टुङ्ग्याउनुपर्छ।
म वर्तमान नेतृत्वमा हुनुभएका साथीहरूलाई तत्काल गम्भीर छलफलका लागि अपिल गर्दछु। मलाई विश्वप्रकाशजीले ह्वाट्सएपमा पठाउनुभएको प्रस्ताव पनि प्राप्त भएको छ। उहाँहरूले आफ्ना कुरा राख्नुभएको छ, हाम्रा पनि आफ्ना कुराहरू छन्। अब फाट्टफुट्ट भेटघाट गरेर मात्र पुग्दैन, एक ठाउँमा बसेर गम्भीरतापूर्वक छलफल गरौँ र एउटा ‘मीटिङ पोइन्ट’ (सहमति) मा पुगौँ।
हामीले पार्टी एकता नचाहेको वा हामी अलगिन खोजेको भनी जुन किसिमको भ्रम फैलाइएको छ, त्यो पूर्णतः गलत हो। हामी केवल जायज र न्यायसङ्गत कुराहरू उठाइरहेका छौँ। यो अन्योल र विचलनको अवस्थालाई तत्काल टुङ्ग्याएर पार्टीलाई एकताबद्ध बनाउनु आजको आवश्यकता हो।
यसो गर्न सकियो भने मात्र नेपाली कांग्रेसले जनताको गुमेको विश्वासलाई फेरि पुनःस्थापित गर्न सक्नेछ।
(बिहीबार महत निवास बाँसबारीमा आयोजित पत्रकार सम्मेलनमा महतले व्यक्त विचारको सम्पादित अंश)
प्रतिक्रिया 4