News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकता नभए कांग्रेसको पुनःउत्थान कठिन हुने बताए।
- उनले पार्टी एकताका लागि विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगन थापाहरूबाट गम्भीर पहल हुन जरुरी रहेको उल्लेख गरे।
- वर्तमान नेतृत्वले ठोस कदम नचाल्दा पार्टी कमजोर बन्दै गएको र कार्यकर्ताहरूमा विचलन देखिएको उनले दाबी गरे।
२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकता हुन नसके नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय शक्तिका रूपमा कांग्रेसको पुनरुत्थान कठिन हुने बताएका छन्।
बिहीबार बिहान बाँसबारीस्थित महत निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता महतले निर्वाचनपछि पार्टी संसद्मा सीमित सङ्ख्यामा खुम्चिएको र पार्टीको परम्परागत जनाधार समेत खस्किएकाले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताए।
विशेषगरी नियमित १५औँ महाधिवेशनका पक्षधरहरू र विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका नेताहरूबीच देशैभरि एउटा गम्भीर मनोवैज्ञानिक खाडल विद्यमान रहेको औँल्याउँदै उनले यसले पार्टीलाई झन् कमजोर बनाउने अवस्था सिर्जना गरेको उल्लेख गरे।
‘अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। यो बृहत्तर एकता भएन भने कांग्रेसलाई पुनःस्थापित गर्ने हाम्रो अभियान कमजोर हुन्छ,’ डा. महतले भने, ‘यसका लागि विशेष महाधिवेशनबाट प्राविधिक रूपमा आधिकारिकता प्राप्त गर्नुभएका गगनजीहरूबाट गम्भीर पहल हुन जरुरी छ।’
वर्तमान नेतृत्वबाट ठोस र जिम्मेवार कदम चालिनसकेका कारण पार्टीमा नयाँ ऊर्जा थपिन नसकेको र देशैभरिका कार्यकर्ताहरूमा विचलन देखिएको उनको दाबी थियो। नेतृत्व तहबाटै भरोसा र विश्वास जगाउन नसक्दा कतिपय साथीहरूले पार्टी छाड्न थालेको र कतिपय निष्क्रिय बस्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरे।
नेता महतले अब कांग्रेससँग अलमलिने समय धेरै नभएको चेतावनी समेत दिए। ‘फाट्टफुट्ट र अनौपचारिक भेटघाटबाट मात्र सबैलाई समेटेर लैजाने यो एकता अभियानले पूर्णता पाउन सक्दैन,’ उनले थपे, ‘यसका लागि तत्कालै एउटा गम्भीर र सघन छलफल हुनुपर्दछ र चाँडोभन्दा चाँडो निष्कर्ष निकालेर पार्टीलाई गति दिनुपर्छ।’
के भने महतले ?
अहिले हामी एउटा चुनौतीपूर्ण घडीमा छौँ। यो निर्वाचनपछि हाम्रो पार्टी सानो आकारमा सीमित भएको छ, संसद्मा हाम्रो सङ्ख्या सीमित छ र पार्टीको जुन जनाधार थियो, त्यो खस्किएको अवस्था छ।
त्यसमाथि, पार्टीको १५औँ महाधिवेशन नियमित गर्नुपर्छ भन्ने पक्षका र विशेष महाधिवेशनमा भाग लिएर नेतृत्वमा पुगेका नेताहरूबीच देशैभरि एउटा मनोवैज्ञानिक खाडल विद्यमान छ। यसले गर्दा पार्टी झन् कमजोर हुन सक्ने अवस्थामा पुगेको छ।
अहिलेको सबैभन्दा ठूलो र चुनौतीपूर्ण अवस्थामा मुख्य आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। त्यो बृहत्तर एकता भएन भने नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय पार्टीका रूपमा कांग्रेसलाई पुनःस्थापित गर्ने हाम्रो अभियान कमजोर हुन्छ, यो हामी सबैलाई थाहा छ। त्यसैले पार्टीमा बृहत्तर एकता अपरिहार्य छ।
र, त्यसका लागि अहिले प्राविधिक रूपमा विशेष महाधिवेशनबाट निर्वाचित भई नेतृत्वमा पुग्नुभएका र आधिकारिकता प्राप्त गर्नुभएका साथीहरूबाट गम्भीर पहल हुन जरुरी छ। त्यो नहुँदाखेरि पार्टीमा नयाँ ऊर्जा थपिन सकेको छैन र देशैभरिका साथीहरू विचलित हुनुहुन्छ। कतिपयले पार्टी छाडेर अन्य दलमा जान थालेको अवस्था छ भने कतिपय साथीहरू निष्क्रिय हुनुहुन्छ। पार्टीप्रतिको विश्वास, भरोसा र आशा कमजोर भएको अवस्था छ, यो एउटा कटु यथार्थ हो।
त्यसैले मलाई लाग्छ, पार्टीमा बृहत्तर एकता हुन एकदमै जरुरी छ, तर हामीसँग समय धेरै छैन। यसको पहल फेरि गगनजीहरूबाटै (जसले अहिले प्राविधिक रूपमा पार्टीको आधिकारिकता प्राप्त गर्नुभएको छ) हुन जरुरी छ। फाट्टफुट्ट भेटघाटबाट मात्र सबैलाई समेटेर लैजाने यो एकता अभियानले पूर्णता पाउन सक्दैन। यसका लागि एउटा गम्भीर छलफल हुनुपर्दछ र त्यसबाट चाँडोभन्दा चाँडो एउटा निष्कर्ष निकाल्नुपर्दछ।
प्रतिक्रिया 4