0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

जेनेभामा श्रममन्त्री यादवसँग यूएई, पोर्चुगल र जापानका मन्त्रीको भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोजगारमन्त्री रामजी यादवले जेनेभामा यूएईका समकक्षीसँग द्विपक्षीय श्रम सहकार्य र नेपाली श्रमिकको हितबारे छलफल गर्नुभयो ।
  • मन्त्री यादवले पोर्चुगलका श्रममन्त्री मारिया रोसारियो पाल्मासँग त्यहाँ रहेका नेपाली श्रमिकको सुरक्षा र नैतिक भर्ना प्रक्रियाबारे कुराकानी गर्नुभयो ।
  • उहाँले जापानका राज्यमन्त्री नागासाका यासुमासासँग श्रम आप्रवासन, सिप विकास र फर्किएका श्रमिकको पुनःएकीकरणका क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गर्नुभयो ।

२८ जेठ, काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनका लागि जेनेभामा रहेका युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले भेटवार्तालाई तीव्रता दिएका छन् । सम्मेलनको मुख्य सत्र सकिएपछि मन्त्री यादवले विभिन्न देशका समकक्षीसँग भेटघाट गरिरहेका छन् ।

मन्त्री यादवले संयुक्त अरब इमिरेट्स (यूएई)का मानव संसाधन तथा इमिरातीकरण मन्त्री डा. अब्दुल रहमान अब्दुलमनान अल अवार, पोर्चुगलका श्रम, ऐक्यबद्धता तथा सामाजिक सुरक्षा मन्त्री मारिया रोसारियो पाल्मा र जापानका स्वास्थ्य, श्रम तथा कल्याण राज्यमन्त्री नागासाका यासुमासासँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा उनले द्विपक्षीय श्रम सहकार्य, ती देशमा रहेका नेपाली श्रमिकहरूको हकहित लगायतका विषयमा कुराकानी गरेका छन् ।

उनले यूएईका मन्त्री अवारसँग दुई देशबीच श्रम आप्रवासन सुशासनलाई सुदृढ र सहकार्य गर्ने विषयमा कुराकानी गरेका थिए । मन्त्री यादवले युएईमा श्रमिकको भर्ना प्रक्रिया, रोजगारी तथा स्वदेश फिर्तीसम्बन्धी सन् २०१९ को समझदारीपत्रको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

त्यस्तै मन्त्री यादवले सिप विकास साझेदारी, व्यावसायिक सुरक्षा तथा स्वास्थ्य, सामाजिक सुरक्षा र सिप तथा अनुभवसहित स्वदेश फर्किने नेपाली श्रमिकको पुनःएकीकरणको लागि पारस्परिक सहयोगमा जोड दिए ।

त्यस्तै पोर्चुगलका मन्त्री पाल्मासँग नेपाल र पोर्चुगलबीच द्विपक्षीय श्रम सहकार्य र पोर्चुगलमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा हितका विषयमा कुरा गरेका थिए ।

भेटका क्रममा मन्त्री यादवले पोर्चुगलमा रहेका नेपाली श्रमिकको संरक्षणका लागि नैतिक तथा पारदर्शी भर्ना प्रक्रिया र संस्थागत सहकार्यको आवश्यकतालाई विशेष महत्त्वका साथ जोड दिएका थिए ।

साथै, उनले सुरक्षित, मर्यादित र पारस्परिक लाभदायी श्रम आप्रवासनका लागि पोर्चुगलसँगको सहकार्यलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै जापानका राज्यमन्त्री यासुमासासँगको भेटमा नेपाल–जापान श्रम आप्रवासन, सिप विकास र श्रमिक कल्याण सम्बन्धी सहकार्यबारे जोड दिए । भेटका क्रममा मन्त्री यादवले सिप विकास, कार्यस्थलमा आधारित तालिम, भाषा तयारी, नैतिक तथा जिम्मेवार भर्ना प्रक्रिया र श्रम आप्रवासनबाट फर्किएका श्रमिकको पुनःएकीकरणका क्षेत्रमा थप सुदृढ सहकार्यको लागि प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?