+
+
Shares

महिलालाई उद्यमसँग जोड्दै छथर गाउँपालिका

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते ८:५८

४ असार, तेह्रथुम । ग्रामीण समाजमा महिलाको भूमिका घरायसी जिम्मेवारीमा मात्र सीमित छैन । पछिल्लो समय महिलाहरू आर्थिक गतिविधि, व्यवसाय र उद्यमशीलतामा समेत सक्रिय बन्दै गएका छन् । तर, आवश्यक सीप, ज्ञान, प्रविधि र अवसरको अभावका कारण धेरै महिला अझै पनि व्यवस्थित रूपमा उद्यमसँग जोडिन सकेका छैनन् ।

यही अवस्थालाई मध्यनजर गर्दै तेह्रथुमको छथर गाउँपालिकाले महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले उद्यमशीलता विकास सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरेको छ ।

छथर गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा उद्यमी बन्न चाहने तथा व्यवसाय सञ्चालन गरिरहेका महिलाहरूको सहभागिता रहेको थियो । तालिममार्फत सहभागी महिलाहरूलाई उद्यम सञ्चालनका आधारभूत पक्ष, व्यवसायिक सोचको विकास, स्थानीय स्रोत-साधनको प्रभावकारी उपयोग, उत्पादनको बजारीकरण, वित्तीय व्यवस्थापन तथा उद्यम विस्तारका सम्भावनाबारे जानकारी प्रदान गरिएको छ ।

महिलाहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै उद्यम सञ्चालन गरिरहेका महिलाहरूलाई व्यवसाय व्यवस्थापनमा थप सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छथर गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

उनका अनुसार सीप र ज्ञानको अभावमा सञ्चालन भइरहेका साना व्यवसायलाई व्यवस्थित बनाउँदै महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

ग्रामीण क्षेत्रमा महिलाहरू कृषि, पशुपालन, घरेलु उद्योग तथा साना व्यवसायमा लामो समयदेखि संलग्न हुँदै आएका छन् । तर ती गतिविधिलाई व्यवसायिक उद्यमका रूपमा विकास गर्न योजना निर्माण, बजार व्यवस्थापन र आर्थिक पक्षको ज्ञान आवश्यक पर्ने देखिन्छ । तालिमले महिलाहरूलाई आफ्नो व्यवसायलाई नयाँ ढंगले सोच्न र सम्भावनाको खोजी गर्न सहयोग पुगेको छ ।

तालिममा सहभागी उद्यमी लक्ष्मी थापाका अनुसार यसअघि आफूहरूले अनुभव र सीमित ज्ञानका आधारमा मात्रै व्यवसाय सञ्चालन गर्दै आएका थिए । तालिमपछि व्यवसाय सञ्चालन गर्ने नयाँ तरिका, व्यवस्थापनका उपाय तथा बाहिरी बजारसम्बन्धी जानकारी प्राप्त भएको उनले बताइन् । प्राप्त ज्ञानले आफ्नो व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै महिलालाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमका लागि छथर गाउँपालिका विशेष अवसरका रूपमा छनोट भएको हो । देशभरका ७५३ स्थानीय तहमध्ये कार्यक्रम सञ्चालनका लागि छनोट भएका १०० स्थानीय तहमध्ये तेह्रथुमबाट छथर गाउँपालिका मात्रै छनोट भएको छ ।

यही अवसरलाई उपयोग गर्दै गाउँपालिकाले उद्यमी तथा उद्यम गर्न इच्छुक महिलाहरूलाई समेटेर तालिम सञ्चालन गरेको छथर गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख ठाकुर कार्कीले बताए ।

महिलालाई उद्यमसँग जोड्नु केवल आम्दानीको माध्यम सिर्जना गर्नु मात्र होइन, आत्मविश्वास, नेतृत्व क्षमता र निर्णय गर्ने क्षमताको विकास गर्नु पनि हो । महिलाहरू आर्थिक रूपमा सक्षम हुँदा परिवार, समाज र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

छथर गाउँपालिकाले महिला, युवा तथा विभिन्न लक्षित वर्गको क्षमता विकासका लागि विगतदेखि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रमले स्थानीय स्रोत र सीपको उपयोग गर्दै स्वरोजगार सिर्जना गर्न तथा ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?