+
+
Shares

सुकुमवासी बस्ती हटाइएको स्थानमा फर्काईंदै मनोहरा नदी

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीहरू विस्थापित भएको यो बस्तीमा फेरि दिनहुँ जसो डोजर चल्न थालेको छ । फरक यति छ, त्यतिबेला बस्ती खाली गराउन डोजर चलेका थिए, अहिले मनोहरा नदीको धार परिवर्तन गराउन ।

सन्त गाहा मगर कमल प्रसाईं सन्त गाहा मगर, कमल प्रसाईं
२०८३ असार ५ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुकुमवासी बस्ती खाली गराएपछि मनोहरा जग्गा एकीकरण आयोजनाले मनोहरा नदीलाई २०२१ सालको नापी अनुसारकै पुरानो बहाव क्षेत्रमा फर्काउन शुरू गरेको छ।
  • आयोजनाले तत्काल ३०० मिटर नदीको धार परिवर्तन गर्ने र बाँकी १ हजार २०० मिटरको काम ५० करोड लागतमा सम्पन्न गर्ने योजना बनाएको छ।
  • नदीलाई पुरानै स्थानमा फर्काउँदा काठमाडौं र भक्तपुरतर्फ सीमांकन बिग्रिएका कुल ११८ रोपनी जग्गाको यथार्थ स्रेस्ता मिल्ने आयोजना प्रमुखले बताएका छन्।

४ असार, काठमाडौं । कोटेश्वरबाट बनेपातर्फ एक किलोमिटर जति अगाडि बढ्दा बायाँतर्फ केही महिनापहिलेसम्म देखिने घनाबस्ती अहिले खण्डहरमा परिणत भएको छ । गत वैशाख दोस्रो सातासम्म त्यहाँ ७७७ परिवारका करिब एक हजार ६ सय सदस्य बस्थे । सरकारले डोजर लगाएपछि उनीहरू त्यहाँबाट लाखापाखा लागेका छन् ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीहरू विस्थापित भएको यो बस्तीमा फेरि दिनहुँ जसो डोजर चल्न थालेको छ । फरक यति छ, त्यतिबेला बस्ती खाली गराउन डोजर चलेका थिए, अहिले मनोहरा नदीको धारा परिवर्तन गराउन ।

मनोहरा नदीको एक हजार ५०० मिटर दुरी यसअघिको अव्यवस्थित बस्तीरहेको क्षेत्रमा सार्ने तयारी सुरु भएको मनोहरा जग्गा एकीकरण आयोजनाका अधिकारीहरू बताउँछन् । यद्यपि तत्काललाई तीन सय मिटर मात्र नदीको धार परिवर्तन गराउन खोजिएको छ ।

थप एक हजार दुई सय मिटर धार परिवर्तन गर्न करिब ५० करोड लाग्ने आयोजनाको प्रक्षेपण छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि टेन्डर खोलेर बाँकी काम पुरा गरिने तयारी रहेको आयोजना प्रमुख निर्मलराज बरालले जानकारी दिए ।

वि.स. २०२१ सालमा नापी हुँदा मनोहरा जहाँबाट बगेको थियो, त्यही स्थानबाट बग्न दिने गरी काम भइरहेको आयोजना प्रमुख बरालले जानकारी दिए । उनी भन्छन्, ‘अव्यवस्थित बस्तीले गर्दा नदीलाई वास्तविक स्थानबाट बगाउन सकेका थिएनौं, बस्ती खाली भएपछि मनोहरालाई साविककै ठाउँमा लैजाने गरी काम भइरहेको हो ।’

यो क्षेत्र काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ र मध्यपुर थिमि नगरपालिकाको वडा नम्बर १ मा पर्दछ । नदीले धार परिवर्तन गर्दा काठमाडौंमा स्रेस्ता कायम भएका १०० रोपनी जग्गा भक्तपुरतर्फ र भक्तपुरमा स्रेस्ता कायम भएका १८ रोपनी जग्गा काठमाडौंतर्फ परेको छ ।

‘नदीलाई पुरानै स्थानमा लैजाँदा ११८ रोपनी जग्गाको यथार्थ विवरण मिल्छ,’ आयोजना प्रमुख बराल भन्छन्, ‘सरकारले अव्यवस्थित बस्ती हटाएपछि आयोजनाको वर्षौंदेखि रोकिएको काम अगाडि बढेको छ ।’

मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुकाजी डंगोल सुकुमवासी बस्ती खाली भएपछि आयोजनाको काम सहज भएको बताउँछन् । त्यतिमात्र होइन मनोहराले धार परिवर्तन गर्दा जग्गा गुमाएकाहरू पनि खुशी भएको उनको भनाइ छ । ‘लालपुर्जा हातमा हुँदाहुँदै जग्गामा खोला बगिरहेको थियो, आफने जग्गा फिर्ता पाउने भएपछि स्थानीयवासी हर्षित छन्,’ वडाध्यक्ष डंगोल भन्छन् ।

के हो मनोहरा जग्गा एकीकरण आयोजना ?

२०५६ सालमा स्थानीय स्वायत्त शासन नियमावली जारी भएको तीन वर्षपछि काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरले संयुक्त रुपमा सुरु गरेको शहरीकरण आयोजना हो, मनोहरा जग्गा एकीकरण आयोजना ।

मनोहरा नदी किनारका २ हजार २ सय ५४ रोपनी जग्गा एकीकरण गर्न बनेको आयोजना दुई वर्षमै सम्पन्न गर्न लक्ष्य लिइएको थियो । असार ३२ गते यो आयोजना स्विकृत भएको २४ वर्ष पुरा हुँदैछ तर यसको आधा काम पनि नभएको जानकारहरू बताउँछन् ।

आयोजना समयमै सम्पन्न नहुँदा जग्गा किनबेच, कित्ताकाट, घर बनाउन नपाउने, कानुनी अन्योल जस्ता भोग्नु परेको स्थानीयको गुनासो छ ।

काठमाडौं महानगर र मध्यपुर थिमि नगरपालिकाका अधिकारीहरू भने अदालतमा परेका मुद्दा, जग्गा अतिक्रमण, आयोजना प्रभावितको विरोध, मनोहरा नदीको धार परिवर्तन, पर्याप्त बजेटको अभाव जस्ता कारणले समयमै आयोजना सम्पन्न हुन नसकेको बताउँछन् ।

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?