+
+
Shares
पहिलो महाधिवेशन :

रास्वपामा समायोजनबाट आएकालाई प्रतिस्पर्धामा खुकुलो

शनिबार करिब ५ घण्टा लामो बैठकपछि निस्किएका एक नेताले निष्कर्ष सुनाउँदै भने, ‘एकपटकका लागि समयोजनबाट आउनेहरूलाई प्रतिस्पर्धा गराउनु हुँदैन भन्ने भयो ।’

लिलु डुम्रे दिनेश गौतम सुवास पण्डित लिलु डुम्रे, दिनेश गौतम, सुवास पण्डित
२०८३ असार ६ गते २२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले समायोजनबाट आउनेहरूका लागि विना प्रतिस्पर्धा पद पाउने गरी विधान संशोधन गरेको छ ।
  • नयाँ विधान अनुसार १५८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचित र ५१ जना मनोनीत हुने तथा पदाधिकारी संख्या १९ पुर्‍याइएको छ ।
  • चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आइतबारदेखि शुरू हुँदै छ र प्रतिनिधिहरू आउने क्रम जारी छ ।

६ असोज, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समायोजनबाट आउनेहरूका लागि अतिरिक्त लाभ हुनेगरी विधान संशोधन गरिएको छ । शनिबार ५ घण्टा भन्दा बढी समय लगाएर सकिएको वर्तमान समितिको अन्तिम बैठकले समायोजनबाट आउनेहरूका लागि बिना प्रतिस्पर्धा पद प्राप्ति गर्नेगरी बाटो खुलाउँदै विधानमा व्यवस्था गरेको हो ।

बैठकबाट पारित विधानमा १५८ सदस्यीय केन्द्रीय सदस्य हुने व्यवस्था गरिएको छ । तीमध्ये ९९ सदस्य निर्वाचित हुने र ५१ सदस्यीय मनोनीत गर्ने गरी विधान संशोधन गरिएको छ । प्रदेश सभापतिहरू स्वत: केन्द्रीय समितिको पदेन सदस्य हुने भएका छन् ।

पदाधिकारीको संख्या १९ जना बनाइएको छ । पदाधिकारीमा वरिष्ठ नेता पनि रहनेगरी पदाधिकारी संख्या १९ जनाको बनाइएको छ । यसअघि विधानमा समावेश नगरिएको वरिष्ठ नेताको व्यवस्था संशोधित विधानमा भने राखिएको छ ।

सभापति, वरिष्ठ नेता, उपसभापति–३, महामन्त्री–२, सहमहामन्त्री–५ जनाको व्यवस्था गरिएको छ । उपसभापति १ र सहमहामन्त्री १ जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।

थप पदाधिकारीमा कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना हुनेगरी विधानको व्यवस्था गरिएको छ । कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता मनोनीत हुनेछन् ।

रास्वपा नेताहरूको अनुसार समायोजनबाट आउनेहरूलाई एकपटकका लागि ‘विशेष सुविधा’ हुनेगरी विधानको व्यवस्था गरिएको छ ।

सभापति रवि लामिछाने स्वयं समायोजनबाट रास्वपामा जोडिएकाहरूलाई यति छिट्टै प्रतिस्पर्धा गराउन उपयुक्त नहुने विचार राखेका थिए । रास्वपाका एक नेताले भने, ‘एकपटकका लागि समयोजनबाट आउनेहरूलाई प्रतिस्पर्धा गराउनु हुँदैन भन्ने भयो । अर्को अर्को पटक पनि त्यो सुविधा पाउने होइन ।’

सभापतिमा रवि लामिछाने निर्विकल्प छन् । वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहले निरन्तरता पाउनेछन् । उपसभापतिमा डा. स्वर्णिम दोहोरिने छन् । रास्वपा स्रोतका अनुसार, अर्का उपसभापतिमा सुनिल लम्साल नाम करिब निश्चित जस्तै छ । बाँकी रहेको एक उपसभापतिमा महिलाका लागि प्रतिस्पर्धा गराउनु पर्ने हुन्छ ।

रास्वपाकै शीर्ष तहका एक नेताले भने, ‘उपसभापतिमा निर्वाचन भयो भने महिलाबाट उपसभापति हुनेहरूको लागि हुन्छ ।’ उपसभापतिमा लिमा अधिकारी, सोबिता गौतम, प्रतिभा रावल, समीक्षा बाँस्कोटा लगायत महिला नेताहरू आकांक्षी छन् ।

कार्यकारी पद महामन्त्रीमा भूपदेव शाह दोहोरिने भएका छन् । उनी बालेन निकट हुन् । रास्वपाको मूलधारबाट आएकाहरूबाट भने महामन्त्रीको टुंगो नलागेको नेताहरू बताउँछन् ।

मूलधारको रास्वपामा महामन्त्रीको आकांक्षी आधा दर्जन बढी छन् । हालका महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, प्रवक्ता मनिष झा, नेताहरू शिशिर खनाल, गणेश पराजुली लगायत महामन्त्री पदका आकांक्षी हुन् ।

सभापतिले मनोनीत गर्ने ५० जनामा पनि महिला ३३ प्रतिशत हुनुपर्ने विषय बैठकमा उठेको छ । केन्द्रीय समितिमा दलितको संख्या पनि सुनिश्चित हुनुपर्ने सदस्यहरूले माग गरे ।

केन्द्रीय सदस्यमा समेत समायोजनबाट आएकालाई सहज हुनेगरी निर्वाचित र मनोनीतको संख्या टुंगो लगाइएको छ । केन्द्रीय सदस्य ५१ जना मनोनीत गर्नेगरी संख्या बढाउनुमा समायोजनबाट आउनेहरूलाई थप्न सकिने मनसायले भएको नेताहरूले जानकारी गराएका छन् ।

पार्टी संरचनामा नयाँ रहेका बालेन पक्षका नेताहरू प्रतिस्पर्धा गर्दा पराजित हुनसक्ने विश्लेषणसहित उनीहरूलाई समेट्नका लागि मनोनीतको आकार बढाइएको अनौपचारिक कुराकानीका क्रममा नेताहरू बताउँछन् । ‘सभापतिले मनोनीत गर्ने ५० जनामा ५० प्रतिशत बालेन पक्षकै हुन्छन्,’ अर्का एक नेता भन्छन् ।

९९ जना निर्वाचित केन्द्रीय सदस्यमा प्रत्येक प्रदेशबाट ५/५ का दरले निर्वाचित हुने विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले जानकारी गराए । ‘ती पाँच जनामा समावेशीताका आधारमा २ जना महिला हुनैपर्छ,’ पराजुलीले भने, ‘बाँकी ६४ केन्द्रीय सदस्यका खुला प्रतिस्पर्धी हुनेछन् ।’

निर्वाचनबाट चयन हुने ९९ केन्द्रीय सदस्यका लागि आकांक्षीहरूको लर्को लागेको छ । हालको केन्द्रीय समितिमा रहेका, विभागका सदस्य, समायोजनबाट आएकाहरू सयौंले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका छन् । सभापति लामिछानेले केन्द्रीय सदस्यका लागि स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । पार्टीहरूको महाधिवेशन सम्भवत सबैभन्दा बढी केन्द्रीय सदस्यको उम्मेदवारी पर्ने सूचना प्राप्त गरेको जानकारी गराएका थिए ।

महाधिवेशन प्रतिनिधिहरूका समेत समायोजितबाट आउनेहरूको लागि सहज बनाइएको छ ।

प्रवक्ता मनिष झाका अनुसार, समायोजनबाट आउनेका लागि थप तीन सय थप्न सकिने र त्यसका लागि दुई महामन्त्रीले निर्णय लिने जानकारी गराएका छन् । हालसम्म प्रतिनिधिहरूको यकिन तथ्यांक रास्वपाले बाहिर ल्याएको छैन । समयोजनबाट तीन सय थपिने अवस्थामा ४२ सय हारहारी महाधिवेशन प्रतिनिधि हुने जानकारी गराइएको छ ।

समावेशीताबारे बैठकमा उठ्यो प्रश्न

रास्वपाको पारित विधानमा केही केन्द्रीय सदस्यहरूले फरक मत राखेका छन् । पदाधिकारीमा महिला प्रतिनिधित्व २३ प्रतिशतमा खुम्च्याइएको छ ।

जसमा शनिबार दिउँसो बसेको अन्तिम केन्द्रीय समिति बैठकमा केही सदस्यहरूले फरक मत राखे । विधानको व्यवस्था अनुसार, ३३  प्रतिशत महिला सुनिश्चित हुनुपर्ने छ ।

‘३३ प्रतिशत मन्त्री बनेका छन् । तर पार्टीमा महिला पदाधिकारी २३ प्रतिशतमा खुम्च्याइएको विषय उठ्यो,’ एक केन्द्रीय सदस्यले भने, ‘पदाधिकारीमा ३३ प्रतिशत महिला सुनिश्चितको माग उठेको छ ।’

सह र उपमा मात्र महिला राख्न खोजेकोमा सदस्यहरूले फरक मत राखेको बैठकमा सहभागी ती नेताले बताए ।

सभापति लामिछानेले पदाधिकारीमा पनि ३३ प्रतिशत पुर्‍याउन विधान परिमार्जन गर्न सकिने बताएको बैठकमा सहभागी अर्का एक सदस्यले बताए । ‘सभापतिले परिमार्जन गर्न सकिने बताउनु भएको छ,’ ती सदस्यले भने ।

सभापतिले मनोनीत गर्ने ५० जनामा पनि महिला ३३ प्रतिशत हुनुपर्ने विषय बैठकमा उठेको छ । केन्द्रीय समितिमा दलितको संख्या पनि सुनिश्चित हुनुपर्ने सदस्यहरूले माग गरे ।

‘दलितको संख्या कम भएकोमा फरक मत आएको थियो । विधानमा सुनिश्चित गर्नुपर्ने माग उठेको हो,’ बैठक स्रोतले भन्यो ।

जेनजी सदस्य १० देखि १५ प्रतिशत, अल्पसंख्यक १ प्रतिशत र प्रवासका प्रतिनिधिले १० प्रतिशत आफूहरूको उपस्थिति माग गरेका छन् ।

स्रोतका अनुसार, महिलाको विषय तोसिमा कार्की, अल्पसंख्यकको विषयमा कुसुम महर्जन, दलितको विषयमा शिव नेपाली र खगेन्द्र सुनुवारले उठाएका थिए ।

जेनजीहरू पनि प्राथमिकतामा राख्नुपर्ने मागसहित केही सदस्यहरूले बैठकमा कुरा उठाएका थिए ।

अतिरिक्त अधिकार प्रयोग गर्दिनँ : सभापति लामिछाने

सदस्यहरूको धारणा सुनेपछि सभापति लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको प्रष्ट पारे ।

विधान संशोधन हुँदा पदाधिकारीको संख्या बढाइएको र मनोनीतको संख्या पनि धेरै राखिएकोमा सभापति लामिछानेले विशेष परिस्थितिको रुपमा बुझ्न आग्रह गरे ।

‘सभापतिलाई अतिरिक्त अधिकार लिएको हो कि भन्ने प्रश्न पनि उठेको छ । यो विशेष परिस्थिति हो । मनोनीतको संख्या धेरै भएको हो कि पदाधिकारीको संख्या पनि प्रश्न उठेको छ  । मलाई अतिरिक्त अधिकारको अभ्यास गर्ने परिपाटीलाई प्रशय दिइनँ जस्तो लाग्छ,’ उनले भनेका छन् ।

महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने सभापति लामिछानेले सुनाए  । आफ्नो कार्यकाल अत्यन्त सुन्दर र ऐतिहासिक रहेको उनको भनाइ छ । ‘मुलुक र स्थायीत्वका लागि मुलुकलाई निकास दिनका लागि हामी एक ठाउँमा उभिएका छौं । परिणाम दिन सकिएन भने यसको कुनै अर्थ हुँदैन,’ लामिछानेले भनेका छन् ।

स्थापनाको ४ वर्षमा पहिलो शक्ति बनेको रास्वपाको वर्तमान कार्यसमितिको अन्तिम बैठक ५ घण्टा बढी समय लगाएर सकियो । सभापति थापाले बैठकको अन्त्य गर्दै एक अर्कालाई थ्याङ्कु र सरि भनौं भन्दै वर्तमान समितिको बैठक समापन गरे ।

पार्टी आधारभूमि चितवनमा पहिलो महाधिवेशन आयोजना गरेको रास्वपाले आइतबार महाधिवेशन उद्घाटन गर्दैछ । नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिहरू चितवन आउने क्रम जारी छ । भरतपुरको गेष्ट हाउस चौरमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ ।

तस्वीरहरू : कमल प्रसाईं/अनलाइनखबर

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?