रुसको फेडरल मेडिकल एण्ड बायोलोजिकल एजेन्सी (एफएमबीए) ले चन्द्रमाको सतहमा काम गर्नका लागि अन्तरिक्ष यात्रीहरूलाई तयार पार्ने उद्देश्यले जमिनमै आधारित एक विशेष नमुना संमिश्रण (ग्राउन्ड-बेस्ड एनालग कम्प्लेक्स) निर्माण गरिरहेको छ। एफएमबीएका एक अधिकारीले रूसी समाचार संस्था टासलाई यसको जानकारी दिएका हुन्।
उक्त अधिकारीले टाससँग भनेका छन्, ‘एफएमबीए अन्तरिक्ष चिकित्सा र जीवविज्ञान केन्द्रले यस क्षेत्रको विकास गरिरहेको छ र यसलाई रुसी अन्तरिक्ष उद्योगको रणनीतिक प्राथमिकताहरूमध्ये एकको रूपमा हेरेको छ। विशेष गरी, उनीहरू ‘लुनार टेस्ट साइट’ को निर्माणमा जुटिरहेका छन्, जसले चन्द्रमाको सतह जस्तै वातावरण तयार पार्नेछ र अन्तरिक्ष यात्रीहरूलाई त्यहाँ काम गर्नका लागि प्रशिक्षित गर्नेछ।’
यस केन्द्रमा अन्तरिक्ष यात्रीहरूले यान बाहिर गरिने गतिविधिहरूको अभ्यास गर्नेछन्। यस अन्तर्गत यानबाट बाहिर निस्कने, लक गर्ने, उपकरणहरूको मर्मतसम्भार तथा नवीकरण गर्ने र बस्ने मोड्युलमा फर्किएपछि चन्द्रमाको धुलो सफा गर्ने जस्ता सीपहरू सिकाइनेछ। चन्द्रमाको सूक्ष्म धुलोको प्रभाव विरुद्ध लड्ने उपायहरू विकास गर्न, आपत्कालीन अवस्थाहरूका लागि प्रोटोकलहरू तयार पार्न र लामो समयसम्म रहने अत्यधिक तनावका बीच मानव स्वास्थ्यको मूल्याङ्कन गर्नका लागि यस केन्द्रमा एउटा छुट्टै एकाइको प्रस्ताव गरिएको छ। यसमा मनोवैज्ञानिक पक्ष र चालक दलको सामूहिक कार्य (टिमवर्क) को परीक्षण समेत सामेल हुनेछ।
यसका साथै, उडानको समयमा अन्तरिक्ष यात्रीहरूको सेन्सरी र भेस्टिबुलर सिस्टमलाई अनुकूल बनाउन एफएमबीएले विशेष सिमुलेटरहरू विकास गरिरहेको छ। चन्द्रमामा अवतरण गर्ने बित्तिकै काम सुरु गर्नका लागि चालक दलको तत्परता मूल्याङ्कन गर्ने विधिहरू पनि तयार पारिँदै छ।
परियोजनाको जटिलताबारे चर्चा गर्दै ती अधिकारीले अगाडि भनेका छन्, ‘यो चिकित्सा, शरीर विज्ञान र इन्जिनियरिङको त्रिवेणीका रूपमा रहेको एक अत्यन्तै जटिल कार्य हो, र यसका लागि रुसको एफएमबीएसँग देशभित्रै विशिष्ट क्षमताहरू उपलब्ध छन्।’
प्रतिक्रिया 4