+
+
Shares

‘ब्लु बस’ को चर्चा र ‘महिला बस’ मा चढ्दाको त्यो अनुभव

सार्वजनिक यातायात सबै नागरिकका लागि समान रूपमा सुरक्षित, सम्मानजनक र पहुँचयुक्त हुनुपर्छ ।

लक्ष्मी नेपाल लक्ष्मी नेपाल
२०८३ असार २६ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी साउनबाट महिलाका लागि निःशुल्क \'ब्लु बस\' सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।
  • यस अवधारणाले सार्वजनिक यातायातमा महिलाको सुरक्षा र सहज आवतजावतलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
  • यसको दीर्घकालीन दिगोपना र प्रभावकारितामाथि प्रश्न उठिरहेका छन् ।

केही वर्षअघि महिलाहरूका लागि मात्र छुट्याइएको बालकोट–कलंकी रुटको गाडीमा यात्रा गर्दाको मेरो अनुभवबाट कुराको सुरुवात गरौँ ।कार्यालय समयमा खचाखच भीड हुने तर अन्य समयमा अलि खाली हुने कारण बालकोट–कलंकी रुटमा सीमित यातायातले मात्र रूट पर्मिट पाएका हुन्छन् ।

ती ‘फोर्स’ गाडी भनिने साना मिनी बसजत्रा गाडीमा कार्यालय समयमा अत्याधिक भीड हुन्छ । यात्र निकै सकसपू्र्ण हुन्छ । यस्तो समस्या भएकाले महिलाहरूको यात्रा सुरक्षित बनाउने उद्देश्यले २०१५ तिर होला, महिला गाडी चलाइएको थियो ।

नयाँ गाडी नभई रुटकै बसलाई पालो तोकेर बिहान र बेलुकाको अत्यन्त चाप हुने समयमा महिलाहरूका लागि मात्र प्रयोग गरिने गरी निर्धारण गरिएको थियो ।

यद्यपि, उक्त व्यवस्था निःशुल्क नभई सशुल्क थियो । मैले पनि एक–दुई पटक ती महिला बसमा यात्रा गरेको थिएँ ।

बालकोट–कलंकी रुटको गाडी अफिस समयमा यति भीड हुन्थ्यो कि म चढ्ने ठाउँसम्म आइपुग्दा गाडीमा मान्छे बाहिरै झुन्डिने गरी भरिइसकेको हुन्थ्यो । म सँगै गाडी कुरिरहेका अरू मान्छेलाई कन्डक्टरले अझै कोचेर झुन्ड्याएरै लैजान्थे । म दृष्टिविहीन भएको कारणले ‘तपाईँलाई यो गाडीमा लैजान सकिँदैन, अर्कोमा आउनुहोस्’ भनी छोडेर जान्थे ।

अफिस समयका ६–७ वटा गाडीले छोडेर गएपछि मात्र म बल्ल–बल्ल गाडी चढ्न सक्थेँ ।

सदा झैँ एक दिन म त्यसैगरी गाडी चढ्न कुरिरहेकी थिएँ । म त्यस दिन चढेको गाडी अरू दिनभन्दा थोरै कम भीड थियो, भनौँ, कम्तीमा चढेर खुट्टा टेक्न मिल्थ्यो । चढिसकेपछि थाहा भयो– त्यो महिलाका लागि छुट्याइएको गाडी रहेछ । त्यस दिन र त्यसपछिका दिनमा पनि उक्त गाडीमा यात्रा गर्दा हामीले गरेको अनुभव त्यसको उद्देश्यभन्दा फरक रह्यो ।

अन्तर्राष्ट्रिय रूपमा हेर्दा पनि महिलाका लागि छुट्टै सार्वजनिक यातायात सञ्चालन गर्ने अभ्यास विभिन्न देशहरूमा देखिन्छ ।

सुरुमा गाडीका चालक र सहचालक पुरुष हुनुहुन्थ्यो । ‘महिला गाडी’ भनेर उडाउने र जिस्क्याउने सुरुवात उहाँहरूबाटै भयो । त्यसपछि अन्य गाडीवालाहरूले र बाटोमा भएका अरू गाडीभित्रका प्यासेन्जरले पनि महिला गाडी भनेर खुब उडाए । यो क्रम एकक्षण मात्र भएको भए पनि ‘ल त नयाँ हो, सबैलाई अनौठो लाग्यो होला’ भन्न सकिन्थ्यो, यसले निरन्तरता नै पाइरह्यो ।

गाडीका चालक, सहचालक र बाहिरका मान्छेले महिला गाडी भनेर उडाउने, जिस्क्याउने, केही नदेखेको जस्तो वा जात्रै लागेको जस्तो अर्कै दृष्टिले हेर्ने क्रमले निरन्तरता पायो । हामीले गाडीभित्रका महिलाहरूबीच कुरा गरेका थियौँ, ‘यो त सहज र सुरक्षित भन्दा झन् अपमानित यात्रा पो भयो ।’

गाडीको सिट त भरिएकै थियो तर मान्छे झुन्ड्याएर लाने बानी परेको भएर होला, गाडीवालाहरूलाई त्यति यात्रु भएर पुगेन । यात्रु खचाखच बनाउनका लागि गाडी प्रत्येक स्टपमा अस्वाभाविक लामो समय रोकिन्थ्यो ।

यसले गर्दा समयमा गन्तव्यमा पुग्नै सकिएन । उक्त व्यवस्था अफिस समयलाई लक्षित गरी बनाइएको थियो तर चाहिनेभन्दा बढी रोकिरहने भएकाले अरू सामान्य गाडी चढ्दाको भन्दा ढिलो हुने भयो ।

अफिसमा समयै पुग्नुपर्ने हुन्छ । गाडीको ताल त्यस्तो अनि त्यो गाडी भन्दा अरू नै गाडीमा चढ्न पाए हुन्थ्यो जस्तो हुन थाल्यो । धेरे भीड नै भए पनि कम्तीमा तिनीहरूले अलि छिटो पुर्‍याउँथे, महिला गाडी भन्दै मान्छेले जिस्क्याउँदैनथे भन्ने सोच आउन थाल्यो ।

यस्तै यस्तै कारणले होला सायद महिला गाडी धेरै दिन टिकेन । कारण के हो भन्ने कतै नखुलाई अन्ततोगत्वा बन्द नै गरियो ।

अहिले महिलाका लागि मात्रै भनेर ‘ब्लु बस’ सञ्चालन गर्ने कुरा आएको छ । यो पनि उतिबेलाको त्यो महिला बस जस्तै असफल हुन्छ भन्ने देखाउन खोजेको त होइन तर त्यसबाट पाठ भने सिक्नु जरूरी छ ।

यसका सकारात्मक र चुनौती दुवै पक्ष केलाउँदै उचित विश्लेषण गरी व्यवस्थालाई अझै प्रभावकारी बनाउन सकिन्छ भन्ने विषय सम्झाउन खोजेको हो।

यसलाई प्रशंसा र आलोचनात्मक दुवै दृष्टिबाट समीक्षा गर्नु आवश्यक छ ।

ब्लु बसको बजेट र व्यवस्थापनको पाटो

अहिले सरकारले महिलाका लागि निःशुल्क बस सञ्चालन गर्ने योजना बनाएको छ । उक्त कार्यक्रमका लागि बजेट पनि विनियोजन भइसकेको छ । एउटा विद्युतीय बसको दैनिक सञ्चालन खर्च करिब १० देखि १२ हजार रुपैयाँसम्म पर्ने र सुरुवाती चरणमा सञ्चालन गर्ने भनिएका आठवटा बसका लागि वार्षिक झन्डै ३ करोड रुपैयाँ न्यूनतम खर्च आवश्यक पर्ने देखिन्छ ।

यसै योजना अनुसार साझा यातायातले आफ्ना ८ वटा विद्युतीय बसलाई ‘ब्लु बस’ का रूपमा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । अब श्रावणबाट यो सुरु हुने निश्चित नै भइसकेको छ ।

यो रास्वपाको नयाँ अवधारणा भने होइन । चितवन क्षेत्र नं. २ का सांसदका रूपमा रवि लामिछानेको ३ वर्षअघि चितवनमा पनि ब्लु बस सञ्चालन गरेका थिए । ती बसहरूले कालिका नगरपालिका, भरतपुर र नारायणघाट क्षेत्रका महिलाहरूका लागि निःशुल्क यातायात सेवा प्रदान गरेका थिए । यात्रु एकदमै कम हुने, सञ्चालन खर्च धेरै र कमजोर व्यवस्थापनका कारण यो सुरु भएको ६ हप्तामै बन्द हुनुपुग्यो ।

महिला मात्रका लागि छुट्टै बस किन ?

अब महिलाका लागि छुट्टै बसको किन प्रस्ताव गरियो भन्ने कुरा तर्फ लागौँ । सार्वजनिक यातायातमा यौनजन्य दुर्व्यवहारका घटना हुने क्रम अझै पनि छ । त्यहाँ धेरै महिलाले आफूलाई सुरक्षित महसुस गर्दैनन् ।

भीडभाड हुने समयमा त झन दुर्व्यवहार हुने सम्भावना अझ बढी हुन्छ । यस्ते दुर्व्यवहारको डरका कारण धेरै किशोरी तथा महिलाहरू यात्रा गर्न डराइरहेका हुन्छन् । यस्तो अवस्थामा ब्लु बसको अवधारणा महिलालाई सार्वजनिक यातायातमा हुने यौन दुर्व्यवहार, अभद्र व्यवहार र असुरक्षाको अनुभूतिबाट राहत दिने प्रयास हो ।

सार्वजनिक यातायातमा महिला तथा किशोरीले दैनिक रूपमा भोग्नुपर्ने हिंसा जस्तै: जिस्क्याउने, शरीर छुने, अश्लील टिप्पणी गर्ने लगायतका घटनाले धेरै महिलाको यात्रा पीडादायी बन्ने गरेको छ । यो सेवाले महिलामा सुरक्षाको अनुभूति बढाउन सक्छ । व्यस्त समयमा महिलाले अझ सहज र सम्मानजनक रूपमा यात्रा गर्न सक्ने वातावरण सिर्जना हुन सक्छ ।

अन्तर्राष्ट्रिय रूपमा हेर्दा पनि महिलाका लागि छुट्टै सार्वजनिक यातायात सञ्चालन गर्ने अभ्यास विभिन्न देशहरूमा देखिन्छ । पाकिस्तानको कराँचीमा ‘पिङ्क बस’ सञ्चालनमा छ । भारतका केही राज्यहरूमा महिलाका लागि मात्र विशेष बस सेवा सञ्चालन गर्ने गरिन्छ ।

बङ्गलादेशको ढाका, इजिप्ट, मेक्सिको, ग्वाटेमाला तथा मलेसियाको क्वालालम्पुरमा पनि महिलाका लागि विशेष बस सञ्चालन गरिएका हुन्छन् वा कुनै रेलका डिब्बालाई महिलाका लागि भनेर छुट्याइएका हुन्छन् वा महिलाका लागि भनेर छुट्याइएका ट्याक्सी सेवाको व्यवस्था गरिएको छ ।

मेरो विचारमा भने ब्लु बस निःशुल्क हुनु यस व्यवस्थाको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यसै पनि सार्वजनिक बस मुख्यतः निम्न तथा मध्यम आय भएका नागरिकहरूले प्रयोग गर्ने भएकाले पनि निःशुल्क ब्लु बसले निम्न तथा मध्यम वर्गका महिलाको आवतजावत र स्वतन्त्रतामा सहयोगी भूमिका खेल्न सक्छ ।

महिलाको सुरक्षित आवागमन उनीहरूको सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक सहभागितासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको छ । ‘ब्लु बस’ सेवाले महिलाको आवागमन तथा सार्वजनिक यातायातको प्रयोग बढाउन सहयोग पुग्न सक्ने अपेक्षा गर्न सकिन्छ । यसले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा अन्य दैनिक कार्यका लागि महिलाको सार्वजनिक यातायात प्रयोग बढ्न सक्छ । महिलाको आर्थिक सहभागिता तथा सामाजिक समावेशीकरणमा सकारात्मक योगदान पुर्‍याउन भूमिका खेल्न सक्छ ।

दीर्घकालीन समाधान कि अल्पकालीन राहत ?

यद्यपि, महिलाका लागि मात्र छुट्टै यातायात सेवा सञ्चालन गर्नु लैङ्गिक समानता हासिल गर्ने उपयुक्त उपाय हो वा होइन भन्ने चाहिँ महत्त्वपूर्ण प्रश्न हो । महिलाका लागि छुट्टै बस सञ्चालन गरिँदैमा अन्य सार्वजनिक बसहरू महिलामैत्री बन्ने सुनिश्चितता हुन्छ भन्न सकिँदैन ।

सार्वजनिक यातायातमा महिलामाथि दुर्व्यवहार हुनुको वास्तविक जड भनेको कमजोर कानुन कार्यान्वयन, अपर्याप्त नियमन, कमजोर गुनासो सुनुवाइको व्यवस्था तथा विभेदपूर्ण सामाजिक सोच नै हो । महिला र पुरुषलाई छुट्टाछुट्टै यात्रा गराउँदा तत्कालीन जोखिम केही हदसम्म कम हुन सक्छ, तर यस व्यवस्थाले मात्र सम्पूर्ण सार्वजनिक यातायातलाई भने सुरक्षित बनाउन सक्दैन ।

यस योजनाको सबैभन्दा ठूलो चुनौती यसको दिगोपनासँग पनि जोडिन्छ । सार्वजनिक बस सञ्चालन गर्न विद्युत्, मर्मतसम्भार, कर्मचारीको तलब तथा प्रशासनिक व्यवस्थापनका लागि दैनिक रूपमा उल्लेखनीय खर्च आवश्यक पर्दछ । आठवटा विद्युतीय बस सञ्चालन गर्न वार्षिक करिब तीन करोड रुपैयाँ आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।

यदि सेवा निःशुल्क नै कायम राखियो भने सरकारले दीर्घकालसम्म निरन्तर अनुदान उपलब्ध गराउनुपर्ने अवस्था हुन्छ । त्यसैले यस्तो सेवालाई धेरै वर्षसम्म कसरी दिगो रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने प्रश्न गम्भीर रूपमा विचार गर्नु आवश्यक छ ।

सुरक्षित सार्वजनिक यातायात महिलाको मात्र सवाल हो त ?

सुरक्षित सार्वजनिक यातायात केवल महिलाको मात्र मुद्दा होइन, यो सबै नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय हो । सरकारले महिलाका लागि निःशुल्क ब्लु बस सञ्चालनबारे सोच्दै गर्दा सार्वजनिक यातायातमा अत्यधिक निर्भर रहने अन्य जोखिम समूह जस्तै; अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि पनि सहुलियत तथा पहुँचबारे सोच्नु आवश्यक छ ।

सुरक्षित सार्वजनिक यातायातसम्बन्धी छलफलमा उनीहरूको आवश्यकतालाई समान रूपमा समेटिनुपर्छ । हाल सञ्चालन गर्न लागिएका ब्लु बस र अन्य सम्पूर्ण सार्वजनिक सवारी साधनहरूमा ह्विलचेयर प्रयोग गर्ने र भर्‍याङ चढ्न कठिनाइ हुने देखिन्छ । यस्ता नागरिकका लागि न्यून उचाइ भएका (लो–फ्लोर) बस आवश्यक पर्छ ।

बस कहाँ आइपुग्यो वा कति मिनेटमा आइपुग्छ भनी हेर्न वा सुन्नका लागि स्पष्ट श्रव्य तथा दृश्य सूचना प्रणाली व्यवस्था हुनुपर्छ ।

यातायातका कर्मचारीलाई अपाङ्गतामैत्री सेवासम्बन्धी तालिम प्रदान गर्नु पनि महत्वपूर्ण हुन्छ । यदि ब्लु बस पहुँचयुक्त बनाइएन भने यसको खास आवश्यकता पर्ने धेरै महिलाहरू अझै सेवाबाट वञ्चित हुन्छन् । अपाङ्गता भएका महिला, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा साना बालबालिकासहित यात्रा गर्ने महिलाको पहुँच र आवश्यकतालाई ब्लु बसको डिजाइन तथा सञ्चालनमा विशेष ध्यान दिनुपर्छ ।

ब्लु बस सेवा विविध यौनिक तथा लैङ्गिक पहिचान भएका व्यक्तिहरूका लागि पनि उपलब्ध हुने वा नहुने विषयमा स्पष्ट नीति सार्वजनिक गर्न आवश्यक छ । अन्यथा दैनिक सञ्चालनका क्रममा अन्योल तथा विभेद उत्पन्न हुन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

ब्लु बस योजनाको सफलता कसरी मापन गर्ने ?

ब्लु बसमा प्रत्येक यात्रुले सहज रूपमा गुनासो दर्ता गर्न सक्ने डिजिटल तथा टेलिफोनमा आधारित गुनासो प्रणाली विकास गरिनुपर्छ । हरेक बसमा सीसीटीभी क्यामेरा, आपत्कालीन सहायता बटन तथा जीपीएस निगरानी प्रणाली अनिवार्य रूपमा जडान गरिनुपर्छ । चालक, सहचालक तथा अन्य कर्मचारीलाई लैङ्गिक समानता, यौनजन्य दुर्व्यवहार रोकथाम, अपाङ्गता समावेशिता तथा यात्रुप्रति सम्मानजनक व्यवहारसम्बन्धी नियमित तालिम प्रदान गरिनुपर्छ ।

बस स्टप, टिकट प्रणाली तथा प्रतिक्षालयलाई पनि समान रूपमा सुरक्षित र पहुँचयुक्त बनाइनुपर्छ । बस सञ्चालनको प्रभावकारिता नियमित रूपमा अध्ययन र यात्रुको अनुभवका आधारमा मूल्याङ्कन गरिनुपर्छ ताकि आवश्यक सुधार समयमै गर्न सकियोस् । ब्लु बस योजनाको सफलता केवल कति वटा बस सञ्चालनमा आए भन्ने आधारमा मात्र मूल्याङ्कन गर्नु पर्याप्त हुँदैन । यात्रुको सन्तुष्टि, यात्रुको सङ्ख्या, आर्थिक दिगोपन, सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहारमा आएको कमी, महिलाको आवागमनमा भएको वृद्धि र सार्वजनिक यातायातप्रति महिलाको विश्वास बढेको छ वा छैन भन्ने सूचकका आधारमा पनि यसको मूल्याङ्कन गरिनुपर्छ ।

अन्त्यमा, ब्लु बसले तत्कालीन रूपमा किशोरी तथा महिलामा सुरक्षाको अनुभूति बढाउन सक्ला, तर यसले लैङ्गिक समानताको सन्देश दिन्छ कि महिलालाई अलग राखेर सुरक्षा खोज्ने सोचलाई बलियो बनाउँछ भन्ने विषयमा पनि बहस आवश्यक छ ।

वास्तविक सामाजिक न्याय र समानता तब मात्र सम्भव हुन्छ जब महिला, पुरुष, विविध लैङ्गिक तथा यौनिक पहिचान भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिक सबैले आपसी सम्मानका साथ एउटै सार्वजनिक यातायातमा सुरक्षित यात्रा गर्न पाउँछन् ।

सार्वजनिक यातायात सबै नागरिकका लागि समान रूपमा सुरक्षित, सम्मानजनक र पहुँचयुक्त हुनुपर्छ । नेपालको संविधानले समानता, विभेदविरुद्धको अधिकार, सुरक्षित आवागमन तथा सामाजिक न्यायको प्रत्याभूति गरेको छ । त्यसैले सार्वजनिक यातायातसम्बन्धी कुनै पनि सुधार यी संवैधानिक मूल्य र सिद्धान्तअनुरूप हुन आवश्यक छ ।

‘महिला गाडी’ भनेर उडाउने, जिस्क्याउने, के-के देखेको वा जात्रै लागेको जस्तो गरी हेर्थे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?