+
+
Shares

एक वर्षसम्म सञ्चार माध्यममा अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते ९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।
  • ट्राफिक जरिबानाबारे आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिँदै मन्त्री पुनले यसबाट चोट पुगेकाहरूसँग सार्वजनिक रूपमा माफी मागेका छन् ।
  • मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आफूले ५० हजार जरिबाना हुनुपर्छ भनी दिएको अभिव्यक्ति फिर्ता लिएको जानकारी गराएका छन् ।

२७ असार, काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका छन् ।

ट्राफिक जरिबानासम्बन्धी दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि उनले शनिबार अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका हुन् ।

‘कडा घोषणा– आजदेखि मैले कुनै पनि ठूला–साना युटुवर (युट्युबर) सहित सोसल मिडियाहरू र पत्रकारहरू कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन,’ मन्त्री पुनले ‘एक्स’ मा लेखेका छन् ।

उनले केही दिन अगाडि ट्राफिक जरिबानासम्बन्धी कुरामा आफूलाई केही थाहा छैन भन्दा भन्दै पनि युट्युबरले कोट्याई–कोट्याई सोधेको पनि उल्लेख गरेका छन् । ‘मैले अटेर गर्नेलाई जरिबाना गर्नुपर्छ भनेको हो र ५० हजारको कुरा उनीहरूले नै निकालेको हो,’ पुनले भनेका छन् ।

मन्त्री पुनले अन्तरवार्ता दिँदा ५० हजार जरिबाना गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति फिर्ता लिँदै माफीसमेत मागेका छन् ।

‘केही दिन अगाडि सोसल मिडियाका केही पत्रकारहरूलाई अन्तरवार्ता दिँदा रु. ५० हजार जरिबाना गर्नुपर्छ भनेर मैले बोलेको कुरा फिर्ता गर्दै मैले निम्नअनुसारको घोषणा गर्दछु,’ उनले लेखेका छन्, ‘अचानक त्यसो बोल्दा कसैलाई अज्ञानवश चोट पुगेको छ भने माफ गर्नुहोला । ट्राफिक नियमलाई अटेर गर्नेहरूले मुटुमा हात राखेर सोच्नु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?