News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गाङ्गुली अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को ‘हल अफ फेम’मा समावेश भएका छन् ।
- ‘आईसीसी हल अफ फेममा समावेश हुन पाउँदा सम्मानित महसुस गरेको छु,’ गाङ्गुलीले भने ।
- १६ वर्ष लामो खेल जीवनमा उनले १८ हजार ५ सय ७५ रन बनाउँदै भारतीय क्रिकेटमा आक्रामक नेतृत्व प्रदान गरेका थिए ।
२७ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा महान् ब्याटरमध्येका एक सौरभ गाङ्गुली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘हल अफ फेम’मा समावेश भएका छन् ।
भारतीय क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका गाङ्गुलीलाई विश्व क्रिकेटका महान् खेलाडीको सूचीमा समावेश गर्दै आईसीसीले यो सम्मान प्रदान गरेको हो ।
‘आईसीसी हल अफ फेममा समावेश हुन पाउँदा सम्मानित महसुस गरेको छु। क्रिकेटका महान् खेलाडीहरूसँग आफ्नो नाम जोडिनु मेरो जीवनकै सबैभन्दा विशेष क्षणमध्ये एक हो,’ गाङ्गुलीले भने ।
१६ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवनमा गाङ्गुलीले टेस्ट र एकदिवसीय क्रिकेटमा गरी १८ हजार ५ सय ७५ रन बनाएका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ शतक प्रहार गरेका छन् ।
सन् १९९६ मा लर्ड्समा इंग्ल्यान्डविरुद्ध टेस्ट क्रिकेटमा पदार्पण गरेका गाङ्गुलीले पहिलो खेलमै शतक बनाएका थिए । त्यसपछि ट्रेन्ट ब्रिजमा भएको अर्को टेस्टमा पनि उनले शतक प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरेका थिए ।
एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरसँग मिलेर गाङ्गुलीले विश्व क्रिकेटकै उत्कृष्ट सुरुवाती साझेदारीमध्ये एक निर्माण गरेका थिए । विशेषगरी अफ साइडमा आकर्षक सट खेल्ने क्षमताका कारण उनी विश्व क्रिकेटमा चर्चित थिए ।
सन् २००० मा भारतीय टोलीको कप्तानी सम्हालेपछि गाङ्गुलीले टोलीमा आक्रामक सोच र आत्मविश्वास भरेका थिए । उनको नेतृत्वमा भारत सन् २००३ को एकदिवसीय विश्वकपको फाइनलसम्म पुगेको थियो ।
उनले वीरेन्द्र सहवाग, युवराज सिंह, हरभजन सिंह र जहीर खानजस्ता युवा खेलाडीलाई अवसर दिँदै भारतीय क्रिकेटको नयाँ पुस्ता निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । पछि यही पुस्ताका धेरै खेलाडी सन् २०११ को विश्वकप विजेता भारतीय टोलीका महत्वपूर्ण सदस्य बने ।
सन् २००८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका गाङ्गुली भारतीय क्रिकेटका उत्कृष्ट कप्तान र ब्याटरमध्ये एक मानिन्छन् ।
खेलाडी जीवनपछि पनि उनी क्रिकेट प्रशासनमा सक्रिय रहँदै आएका छन् । उनी बीसीसीआईको अध्यक्ष पनि भइसकेका छन् ।
प्रतिक्रिया 4