News Summary
Generated by OK AI. Editorially reviewed.- भानुभक्तको स्मरणलाई अझ फराकिलो बनाउँदै भाषा, साहित्य, संगीत र संस्कृति मार्फत भौगोलिक सीमाभित्र रहेको नेपाल र सीमा बाहिर फैलिएको ‘भर्चुअल नेपाल’ लाई जोड्ने दीर्घकालीन राष्ट्रिय पहल अघि बढाऊँ। त्यसका लागि ‘भानुभक्त ग्लोबल नेपाली नेटवर्क’ स्थापना एउटा व्यावहारिक सुरुआत हुन सक्छ। भानुभक्त र भर्चुअल नेपाललाई जोड्ने यो भाषा कूटनीतिको मात्र यात्रा होइन; ज्ञानमा समान पहुँच, बहुभाषिक सम्मान, सांस्कृतिक कूटनीति र विश्वव्यापी नेपाली सम्बन्धको नयाँ राष्ट्रिय कल्पना पनि हो।
- म्यानमार, थाइल्यान्ड, मलेसिया, भारत, भूटान, फिजी, बेलायत, अमेरिका, अस्ट्रेलिया र अन्य भूभागमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायहरूको आफ्नै इतिहास, नागरिकता र सामाजिक यथार्थ छन्। उनीहरूलाई नेपालको प्रशासनिक विस्तार वा केवल \'प्रवासी\' का रूपमा बुझ्न मिल्दैन। नेपालले उनीहरूमाथि स्वामित्व दाबी गर्ने होइन; उनीहरूलाई आफ्नै इतिहास र पहिचान भएका सम्मानित साझेदारका रूपमा हेर्नुपर्छ।
- नेपालले भाषा र संस्कृति कूटनीतिक शक्ति प्रदर्शनका लागि होइन, विश्वभर फैलिएका नेपाली मूलका समुदायसँग आत्मीय, सम्मानजनक र दीर्घकालीन सम्बन्ध कायम राख्न प्रयोग गर्नुपर्छ। नेपालको मोडल सानो, खुला, बहुभाषिक, गैरदलीय, समुदाय–आधारित र डिजिटल–पहिलो हुनुपर्छ।
भानुजयन्तीमा हामी भानुभक्त आचार्यलाई आदिकविका रूपमा श्रद्धापूर्वक सम्झन्छौं। कविता वाचन, माल्यार्पण, साहित्यिक गोष्ठी र भाषिक–सांस्कृतिक कार्यक्रम मार्फत उनको योगदानलाई सम्मान गर्छौं। यस्ता कार्यक्रमहरूले नेपाली भाषा र साहित्यप्रतिको सामूहिक प्रेमलाई जीवित राखेका छन्। अब त्यही श्रद्धा र स्मरणलाई अझ फराकिलो नीतिगत सोचसँग जोड्ने समय आएको छ।
भानुभक्तको ऐतिहासिक महत्व रामायणलाई नेपाली भाषामा ल्याउनुमा मात्र सीमित छैन; उनको कामले ज्ञान, कथा र नैतिक विमर्शलाई सीमित वर्गको पहुँचबाट निकालेर आम मानिसको भाषामा पुर्यायो। आज त्यही भाषिक विरासत भा रतसहित नेपाल बाहिर रहेका एक करोडभन्दा बढी नेपाली मूलका तथा नेपालसँग जोडिएका मानिसलाई ‘भर्चुअल नेपाल’ को साझा संवादमा ल्याउने आधार बन्न सक्छ। यो भर्चुअल नेपाललाई भौगोलिक सीमाभित्र रहेको नेपालसँग जोड्ने एउटा महत्वपूर्ण कडी नेपाली भाषा हो, र त्यसका लागि भानुभक्त साझा प्रतीक बन्न सक्छन्।
भाषा उनका लागि सौन्दर्यको माध्यम मात्र थिएन; त्यो सार्वजनिक पहुँचको माध्यम पनि थियो। यस अर्थमा भानुभक्तलाई केवल कवि होइन, ज्ञान पहुँचका प्रारम्भिक लोकतान्त्रिक अभियन्ताका रूपमा पनि बुझ्न सकिन्छ। ‘नाम क्यै रहोस् पछि भनेर कुवा खनायो’ भन्ने भानुभक्तको घाँसी प्रसंगले सार्वजनिक योगदानको प्रश्न उठाउँछ। आज हाम्रो पुस्ताको ‘कुवा’ के हुन सक्छ? विश्वभर छरिएको नेपाली समुदायलाई भाषा, ज्ञान, स्मृति र नयाँ पुस्तासँग जोड्ने साझा संरचना निर्माण गर्नु शायद आजको समयको त्यस्तै सार्वजनिक योगदान हो।
नेपाल अब भूगोलभित्र मात्र सीमित देश रहेन। काठमाडौं, पोखरा, जनकपुर वा धनगढीसँगै दोहा, टोकियो, क्वालालम्पुर, बैंकक, सोल, सिड्नी, लन्डन, टोरन्टो र क्यालिफोर्नियामा पनि नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक जीवन फैलिएको छ। श्रम, अध्ययन, उद्यम, परिवार, रेमिट्यान्स, डिजिटल सञ्चार र भावनात्मक सम्बन्धले जोडिएको यो विस्तारित यथार्थलाई ‘भर्चुअल नेपाल’ का रूपमा बुझ्न सकिन्छ।
तर भर्चुअल नेपाल आफैंमा स्वतः संगठित राष्ट्रिय शक्ति बन्दैन। भाषा, स्मृति, ज्ञान र पुस्तान्तरणका पुल कमजोर भए भने विदेशमा हुर्कंदै गरेका नेपाली मूलका नयाँ पुस्तासँग नेपालको सम्बन्ध केवल चाडपर्व, पारिवारिक भेटघाट वा सामाजिक सञ्जालमा सीमित हुन सक्छ। त्यसैले यस्तो समुदायलाई किन जोड्ने भन्ने प्रश्न महत्वपूर्ण छ। केवल भावनात्मक कारणले मात्र होइन; विश्वभर फैलिएका नेपाली नागरिक, नेपाली मूलका समुदाय, नेपालीभाषी समूह, विद्यार्थी, पेशेवर, अनुसन्धानकर्ता र नयाँ पुस्ता नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र ज्ञान सम्बन्धी भविष्यका सम्भावित सहयात्री हुन्।
भाषा यहाँ केवल बोलचालको माध्यम होइन; यो स्मृति, सम्बन्ध र ज्ञानको संरचना हो। भाषाले हजुरबा–हजुरआमाको कथा नयाँ पुस्तासम्म पुर्याउँछ, लोकगीत र साहित्यलाई जीवित राख्छ, नेपालबारे सार्वजनिक ज्ञान बुझ्न सजिलो बनाउँछ र भौगोलिक दूरीलाई सांस्कृतिक आत्मीयतामा रूपान्तरण गर्छ। नेपाली भाषा सबैको एक मात्र पहिचान होइन, तर पुस्ता, भूगोल, नागरिकता र अनुभवले टाढिएका समुदाय बीच सम्बन्ध पुनःनिर्माण गर्ने एउटा प्रभावकारी सेतु अवश्य हो।
नेपालभित्र मानिसहरू मैथिली, नेपाल भाषा/नेवारी, भोजपुरी, थारू, तामाङ, लिम्बू, गुरुङ, मगर, डोटेली, शेर्पा, राजवंशी, किराती भाषाहरू र अनेक मातृभाषा तथा संस्कृतिसँग जोडिएका हुन्छन्। तर जब नेपालीहरू नेपालको भौतिक सीमा बाहिर पुगेर ‘भर्चुअल नेपाल’ को फराकिलो सांस्कृतिक क्षेत्रमा प्रवेश गर्छन्, उनीहरूको पहिलो सार्वजनिक पहिचान धेरै ठाउँमा ‘नेपाली’ हुन्छ। त्यसभित्र उनीहरूले आफ्ना स्थानीय जातीय संस्कृति, मातृभाषा, संगीत, परम्परा र पहिचानलाई पनि निरन्तर अभ्यास गर्छन्। यस्तो बहुभाषिक र बहुसांस्कृतिक ‘भर्चुअल नेपाल’ मा नेपाली भाषा सबैलाई विस्थापित गर्ने भाषा होइन; विभिन्न समुदायलाई जोड्ने साझा सम्पर्क भाषा ‘लिङ्गुवा फ्राङ्का’ बन्न सक्छ।
डायस्पोरामा काम गर्दा मैले यो कुरा प्रत्यक्ष अनुभव गरेको छु। थाइल्यान्डमा दुई–तीन पुस्तादेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायसँग जोडिंदा एउटा रोचक यथार्थ देखिन्छ। किरात चुम्लुङ जस्ता सांस्कृतिक–सामुदायिक पहलहरूले मगर, गुरुङ, नेवार, तामाङ लगायत विभिन्न जातीय, भाषिक र पुस्तागत पृष्ठभूमिका नेपाली मूलका समुदायलाई एउटै कार्यक्रममा ल्याउँदा धेरैको मातृभाषा फरक भए पनि साझा संवाद प्रायः नेपाली भाषामै अघि बढ्छ।
बर्मा/म्यानमारमा पनि स्थानीय राजनीतिक–सामाजिक परिस्थितिका कारण धेरै भाषिक, साहित्यिक र सांस्कृतिक गतिविधि धार्मिक वा सामुदायिक संस्थाका नाममा अघि बढेका देखिन्छन्। त्यसैगरी, भारतका दार्जीलिङ, असम लगायत क्षेत्रमा नेपाली भाषा, साहित्य, संगीत र सांस्कृतिक अभ्यासको परम्परा अत्यन्त समृद्ध छ। त्यहाँ हुने साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूले नेपाली भाषा नेपालभित्र मात्र होइन, नेपाल बाहिर पनि गहिरो बौद्धिक, साहित्यिक र सामुदायिक जीवन बोकेको भाषा हो भन्ने स्पष्ट देखाउँछन्। थाइल्यान्ड, बर्मा/म्यानमार, भारत, अमेरिका र अस्ट्रेलियामा देखिने यस्ता अनुभवले नेपाली भाषा नेपाल बाहिरका बहुभाषिक र बहुसांस्कृतिक समुदाय बीच साझा सम्पर्क भाषाका रूपमा प्रभावकारी हुनसक्ने देखाउँछन्।
सन् २०१३ मा अमेरिकाको भ्रमणमा रहँदा मैले यस्तै अर्को दृश्य नजिकबाट देखेको थिएँ। बोस्टनबाट मेनतर्फ जाने क्रममा न्यु ह्याम्पसायरमा नेपाली मूलका मानिसहरूले स्वस्फूर्त रूपमा भानुजयन्ती मनाइरहेको देख्दा म निकै प्रभावित भएँ। त्यहाँ न नेपालका कुनै सरकारी निकायको औपचारिक प्रतिनिधित्व देखिन्थ्यो, न नाम चलेका साहित्यकारको उपस्थिति। तर भूटानी मूलका नेपालीभाषी समुदाय लगायत स्थानीय नेपालीहरूले आफ्नै पहलमा भाषा, साहित्य र सांस्कृतिक स्मृतिलाई जोगाइरहेका थिए। यस्ता स्वस्फूर्त, औपचारिक–अनौपचारिक प्रयासहरू विश्वभर भइरहेका छन्। नेपालले तिनलाई नियन्त्रण गर्न खोज्ने होइन; परराष्ट्र मन्त्रालय अन्तर्गत एउटा सानो फोकल डेस्क वा डिजिटल प्लेटफर्म मार्फत स्वेच्छिक रूपमा अद्यावधिक, पहिचान र आपसमा जोड्ने व्यवस्था गरिदिए पुग्छ। त्यसले संसारभर नेपाली भाषा र संस्कृतिको संरक्षण कहाँ र कसरी भइरहेको छ भन्ने देखाउने मात्र होइन, एक देशमा रहेका नेपाली समुदायको सांस्कृतिक अनुभव अर्को देशका नेपाली समुदायसम्म पुर्याउने आदानप्रदानको बाटो पनि खोल्न सक्छ।
यसको अर्थ नेपाली भाषाले अरू मातृभाषालाई विस्थापित गर्नुपर्छ भन्ने होइन। नेपाली भाषा विदेशमा साझा सम्पर्क भाषा बन्न सक्छ, तर त्यो मातृभाषाहरूको मर्यादा घटाएर होइन, तिनलाई सम्मान गर्दै हुनुपर्छ। साझा भाषा तब मात्र पुल बन्छ, जब त्यसले अरू भाषाको अस्तित्व, सम्मान र सांस्कृतिक गहिराइलाई कमजोर बनाउँदैन। सयौं थुँगा फूल जस्ता मातृभाषा, संस्कृति र पहिचानलाई भर्चुअल नेपालमा जोड्ने धागोका रूपमा नेपाली भाषाले काम गर्न सक्छ भन्ने अनुभव डायस्पोरामा देखिन्छ। यही कारण भानुभक्तको योगदानलाई श्रद्धासुमन अर्पण गर्दै भानुभक्तकै नाममा विश्वभरका नेपाली मूलका समुदायलाई जोड्ने साझा नेटवर्क किन नबनाउने भन्ने प्रश्न उठ्छ।
म्यानमार, थाइल्यान्ड, मलेसिया, भारत, भुटान, फिजी, बेलायत, अमेरिका, अस्ट्रेलिया र अन्य भूभागमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली मूलका समुदायहरूको आफ्नै इतिहास, नागरिकता र सामाजिक यथार्थ छन्। उनीहरूलाई नेपालको प्रशासनिक विस्तार वा केवल ‘प्रवासी’ का रूपमा बुझ्न मिल्दैन। नेपालले उनीहरूमाथि स्वामित्व दाबी गर्ने होइन; उनीहरूलाई आफ्नै इतिहास र पहिचान भएका सम्मानित साझेदारका रूपमा हेर्नुपर्छ।
यहीं सांस्कृतिक कूटनीतिको प्रश्न उठ्छ। विश्वका धेरै देशले भाषा, संस्कृति र ज्ञानलाई दीर्घकालीन अन्तर्राष्ट्रिय सम्बन्धको आधार बनाएका छन्। चीनको कन्फ्युसियस इन्स्टिच्युट, बेलायतको ब्रिटिश काउन्सिल, जर्मनीको गोएथे–इन्स्टिच्युट, फ्रान्सको अलायन्स फ्राँसेज, दक्षिण कोरियाको सेजोङ इन्स्टिच्युट र रूसको रसियन हाउस/रूसी विज्ञान तथा संस्कृति केन्द्र जस्ता अभ्यासले एउटा पाठ दिन्छन्— भाषा कक्षा मात्र पर्याप्त हुँदैन; शिक्षक विकास, सांस्कृतिक कार्यक्रम, प्रमाणपत्र, डिजिटल सामग्री, विश्वविद्यालय साझेदारी, समुदाय सहभागिता र संस्थागत निरन्तरता मिलेर मात्र भाषा र संस्कृति आधारित कूटनीति प्रभावकारी बन्छ।
तर नेपालले यी मोडललाई हुबहु नक्कल गर्नुपर्दैन। ठूला शक्ति राष्ट्रहरूले यस्ता सञ्जाललाई आफ्नो प्रभाव, छवि, भाषा, शिक्षा र रणनीतिक हित विस्तार गर्ने साधनका रूपमा प्रयोग गरेका हुनसक्छन्। नेपालको स्थिति र रुचि फरक छ। नेपालले भाषा र संस्कृति कूटनीतिक शक्ति प्रदर्शनका लागि होइन, विश्वभर फैलिएका नेपाली मूलका समुदायसँग आत्मीय, सम्मानजनक र दीर्घकालीन सम्बन्ध कायम राख्न प्रयोग गर्नुपर्छ। नेपालको मोडल सानो, खुला, बहुभाषिक, गैरदलीय, समुदाय–आधारित र डिजिटल–पहिलो हुनुपर्छ।
नेपालको डायस्पोरा संलग्नता नीति रेमिट्यान्समा मात्र सीमित रहनुहुँदैन। यसलाई तीन फरक तर परस्पर सम्बन्धित कूटनीतिक मार्गमा विकास गर्नुपर्छ— आर्थिक कूटनीति, ज्ञान कूटनीति र सांस्कृतिक कूटनीति। आर्थिक कूटनीतिले लगानीकर्ता, व्यापारी, उद्यमी, पर्यटक, बजार र विकास साझेदारसँग नेपाललाई जोड्छ। ज्ञान कूटनीतिले नेपाली मूलका पेशेवर, अनुसन्धानकर्ता र नवप्रवर्तकलाई मात्र होइन, उनीहरू मार्फत होस्ट देशका विश्वविद्यालय, अनुसन्धान संस्था, थिंक ट्यांक, नीति सञ्जाल र उत्कृष्ट अभ्याससँग नेपाललाई जोड्न सक्छ। तर सांस्कृतिक कूटनीतिको मुख्य उद्देश्य विश्वभरका नेपाली मूलका तथा नेपालसँग सांस्कृतिक, भाषिक, पारिवारिक वा भावनात्मक सम्बन्ध भएका समुदायलाई नेपालसँग जीवित सम्बन्धमा राख्नु हो।
यी तीनमध्ये आर्थिक कूटनीति र ज्ञान कूटनीतिलाई ठोस परिणाममा रूपान्तरण गर्न बलियो संस्थागत संरचना, नीति समन्वय, लगानी प्रवर्धन, अनुसन्धान साझेदारी र सरकारी नेतृत्व आवश्यक पर्छ। तर तेस्रो मार्ग- सांस्कृतिक कूटनीति तुलनात्मक रूपमा सानो, लचिलो र समुदाय-आधारित ढाँचाबाट पनि शुरु गर्न सकिन्छ। यसमा सरकारको भूमिका नियन्त्रण गर्ने होइन; पहिचान गर्ने, जोड्ने, सहजीकरण गर्ने र न्यूनतम शासन संरचना दिने हो। यही कारण ‘भानुभक्त ग्लोबल नेपाली नेटवर्क’ सांस्कृतिक कूटनीतिको व्यावहारिक र कम–लागत कार्यान्वयन योजना हुन सक्छ।
यही तेस्रो मार्गको केन्द्रमा भाषा रहन्छ। भाषा मार्फत साहित्य जीवित रहन्छ, संगीत र लोकस्मृति पुस्तामा सर्छन्, सांस्कृतिक अभ्यासले निरन्तरता पाउँछन् र नेपालसँगको आत्मीय सम्बन्ध जीवित रहन्छ। त्यसैले यहाँ प्रस्ताव गरिएको भाषा–केन्द्रित पहल अलग्गै कूटनीतिक मार्ग होइन; समुदायमुखी सांस्कृतिक कूटनीतिको आधारभूत स्तम्भ हो।
यस्तो नीति लागू गर्दा नेपालले के पाउँछ? यो प्रश्नलाई केवल रेमिट्यान्स, दान वा लगानीको हिसाबले हेर्नुहुँदैन। विश्वभर फैलिएका नेपाली मूलका र नेपालसँग जोडिएका समुदाय नेपालका दीर्घकालीन सामाजिक, सांस्कृतिक र ज्ञान सम्बन्धी पूँजी हुन्। उनीहरूसँग भाषा छ, स्मृति छ, सीप छ, स्थानीय विश्वसनीयता छ, अन्तर्राष्ट्रिय सञ्जाल छ र नेपालप्रतिको भावनात्मक सम्बन्ध छ। सम्मानजनक रूपमा जोड्न सके नेपालले नरम शक्ति, पर्यटन र सांस्कृतिक उद्योगको सम्भावना, ज्ञान सञ्जाल, संकटका बेला समुदायस्तरको सहयोग, जनस्तरको अन्तर्राष्ट्रिय विश्वास र नयाँ पुस्तासँगको जीवित सम्बन्ध निर्माण गर्न सक्छ।
यस प्रस्तावको अर्थ नयाँ संस्था बनाएर पुराना कामलाई विस्थापित गर्नु होइन। उल्टै, पहिलेबाटै भइरहेका भाषा, साहित्य र सांस्कृतिक प्रयासलाई पहिचान, सम्मान र सहकार्यको साझा मञ्च दिनु हो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दशकौंदेखि विश्वका विभिन्न ठाउँमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धनमा सक्रिय छ। थाई-नेपाली संघले थाइल्यान्डमा नेपाली भाषा, संस्कृति र समुदायको पुस्तान्तरणका लागि काम गर्दै आएको छ। अखिल म्यानमार गोर्खा हिन्दु संघ जस्ता संस्थाले वर्षौंदेखि नेपाली भाषा, साहित्य, संस्कृति र सामुदायिक स्मृतिलाई जीवित राख्न भूमिका खेलेका उदाहरण छन्। एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) जस्ता संस्थाले अमेरिकाको ओहायोमा नेपाली भाषा, संगीत र संस्कृतिका माध्यमबाट नयाँ पुस्तालाई जोड्ने र नेपाली मूलको पहिचान जोगाउने प्रयास गरिरहेका छन्।
त्यसैगरी गैरआवासीय नेपाली संघ र यसका विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले पनि दोस्रो पुस्तालाई नेपालसँग जोड्न भाषा, संस्कृति, पहिचान र युवा सहभागिता सम्बन्धी कार्यक्रम बेलाबेला सञ्चालन गर्दै आएका छन्। नेपालका विभिन्न कूटनीतिक नियोगहरूले पनि भानुजयन्ती, साहित्यिक कार्यक्रम र सांस्कृतिक समारोह आयोजना गर्दै आएका छन्। यी केही प्रतिनिधि उदाहरण मात्र हुन्; विश्वभर यस्ता धेरै औपचारिक र अनौपचारिक प्रयासहरू भइरहेका छन्। समस्या प्रयासको अभाव होइन; समस्या ती प्रयासलाई चिन्ने, जोड्ने, सघाउने र नेपालसँग संस्थागत रूपमा सम्बन्धित बनाउने साझा संयन्त्रको अभाव हो।
यसका लागि परराष्ट्र मन्त्रालयमा नयाँ भारी संरचना बनाउनै पर्दैन। श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय हेर्ने विद्यमान संरचनाभित्रै सानो सम्पर्क कक्ष राखेर ‘भानुभक्त ग्लोबल नेपाली नेटवर्क’ शुरु गर्न सकिन्छ। यो नेटवर्क नियन्त्रण वा प्रतिनिधित्वको दाबी गर्ने संस्था होइन; विश्वभर छरिएका नेपाली भाषा, साहित्य, संगीत, संस्कृति र सम्पदा सम्बन्धी औपचारिक तथा अनौपचारिक, गैरदलीय पहलहरूलाई स्वेच्छिक रूपमा सूचीकृत, पहिचान र आपसमा जोड्ने डिजिटल प्लेटफर्म हुन सक्छ।
यस नेटवर्कमा नेपाली भाषा कक्षा, साहित्यिक मञ्च, सांस्कृतिक संस्था, संगीत तथा नृत्य कक्षा, विश्वविद्यालयमा रहेका नेपाल अध्ययन कार्यक्रम, समुदाय पुस्तकालय, युवा समूह, अभिभावक–नेतृत्वका नेपाली सिकाइ समूह, भानुजयन्ती आयोजक समिति, विदेशस्थित नेपालीका गैरराजनीतिक सञ्जाल र नेपाली मूलका समुदाय संस्थाहरूले आफ्नो सम्पर्क व्यक्ति, कार्यक्षेत्र र गतिविधि विवरण राखेर जोडिन सक्छन्। परराष्ट्र मन्त्रालयको भूमिका नियन्त्रण गर्ने होइन; विश्वभरका नेपाली भाषा, साहित्य, संस्कृति र समुदाय प्रयासलाई नक्साङ्कन गर्ने, जोड्ने, सघाउने, मान्यता दिने र सहकार्यमा रूपान्तरण गर्ने हुनुपर्छ।
यस नेटवर्कले पहिलो तीन वर्षमा पाँच व्यावहारिक काम गर्न सक्छ। पहिलो, विश्वभर सञ्चालनमा रहेका नेपाली भाषा कक्षा, सप्ताहान्त विद्यालय, विभिन्न विश्वविद्यालय अन्तर्गतका नेपाल अध्ययन कार्यक्रम, समुदाय पुस्तकालय, अनुवाद पहल र समुदाय संस्थाहरूको नक्साङ्कन। दोस्रो, नेपाली भाषा, साहित्य, संगीत र संस्कृतिसँगै मैथिली, नेपाल भाषा/नेवारी, भोजपुरी, थारू, तामाङ, लिम्बू, गुरुङ, मगर, डोटेली, शेर्पा, राजवंशी, किराती भाषाहरू र अन्य मातृभाषाका उपलब्ध सिकाइ सामग्री, साहित्यिक स्रोत, गीत, कथा, मौखिक इतिहास र सांस्कृतिक सामग्रीलाई डिजिटल अभिलेखीकरण गरी ‘भानुभक्त ग्लोबल नेपाली नेटवर्क’ को डिजिटल पुस्तकालयमा राख्ने। तेस्रो, बालबालिका, युवा र वयस्कका लागि उमेर अनुकूल डिजिटल नेपाली भाषा सामग्री तथा मातृभाषा–सम्पदा परिचय सामग्री विकास गर्ने। चौथो, डायस्पोरा शिक्षक र स्वयंसेवकका लागि छोटो अनलाइन प्रशिक्षण, साथै नेपाली मूलका नयाँ पुस्ताका लागि नेपाली भाषा, साहित्य र संस्कृति सम्बन्धी आधारभूत अनलाइन प्रमाणपत्र कार्यक्रम शुरु गर्ने। पाँचौं, हरेक वर्ष भानुजयन्तीको अवसरमा ‘ग्लोबल नेपाली भाषा संवाद’ आयोजना गर्ने।
यसका लागि प्रारम्भमै ठूलो बजेट वा विदेशमा नयाँ संस्थान खोल्नुपर्दैन। एउटा डिजिटल निर्देशिका, साझा स्रोत–पुस्तकालय, साना सहकार्य अनुदान, शिक्षक स्रोत सामग्री र विश्वविद्यालय–समुदाय साझेदारीबाट सुरुआत गर्न सकिन्छ। मूल कुरा नयाँ संरचना थप्नु होइन; छरिएका प्रयासलाई साझा उद्देश्य, गुणस्तर र निरन्तरतासँग जोड्नु हो।
विश्वभर बढिरहेका नेपाली डायस्पोरा संस्थालाई पनि केवल सम्मेलन, चुनाव वा सांस्कृतिक कार्यक्रम गर्ने संरचनाका रूपमा होइन; भाषा, साहित्य, संगीत, संस्कृति र पुस्तान्तरणका साझेदारका रूपमा पुनःपरिभाषित गर्नुपर्छ। विदेशस्थित नेपालीका सञ्जाल, पेशागत संगठन, महिला तथा युवा समूह, साहित्यिक मञ्च, विद्यार्थी समूह र स्थानीय सामुदायिक संस्थाले आ–आफ्नो ठाउँमा भाषा कक्षा, पुस्तकालय, वक्तृत्व, अनुवाद, डिजिटल अभिलेख र अन्तरपुस्तीय संवादका कार्यक्रम सञ्चालन गर्न सक्छन्।
तर यो नेटवर्क कुनै एक संस्था वा समूहको नियन्त्रणमा हुनुहुँदैन। यो स्वेच्छिक, गैरदलीय, पारदर्शी, युवा–समावेशी र महिला–समावेशी हुनुपर्छ। विदेशस्थित नेपाली सञ्जाललाई राज्यको विस्तारका रूपमा होइन, आफ्नै सन्दर्भमा काम गरिरहेका स्वायत्त साझेदारका रूपमा सम्मान गर्नुपर्छ। यसले प्रतिनिधित्वमाथि एकाधिकार होइन, साझा उद्देश्यमा सहकार्य खोज्नुपर्छ।
नागरिकता, राहदानी, कन्सुलर सेवा, कानूनी संरक्षण, बाह्य मतदान र प्रतिनिधित्व भने अलग तर अपरिहार्य नागरिक–सम्बन्ध संरचनाका विषय हुन्। ती सांस्कृतिक कूटनीति होइनन्, यद्यपि विदेशस्थित दूतावास र नियोग मार्फत सञ्चालन हुन्छन्। नागरिक अधिकार र सेवामा भरोसा नभए आर्थिक, ज्ञान वा सांस्कृतिक कूटनीति पनि कमजोर हुन्छ। त्यसैले यी तीन कूटनीतिक मार्गलाई बलियो बनाउने आधारका रूपमा प्रभावकारी नागरिक तथा कन्सुलर सेवा आवश्यक छ।
भानुभक्तलाई सम्झनु भनेको अतीतको गौरव दोहोर्याउनु मात्र होइन; उनको कामभित्र रहेको सामाजिक प्रश्नलाई वर्तमानमा पुनर्जीवित गर्नु हो। उनले आफ्नो समयको ज्ञान दूरी घटाए। हाम्रो समयको चुनौती विश्वभर छरिएको नेपाललाई भाषा, साहित्य, संगीत, संस्कृति र आत्मीयताको सम्बन्धले जोड्नु हो।
भानुजयन्तीमा कविता वाचन गरौं, माल्यार्पण गरौं, साहित्यिक गोष्ठी र सांस्कृतिक कार्यक्रम गरौं। यिनै अभ्यासहरूले भानुभक्तको स्मृति र नेपाली भाषाप्रतिको आत्मीयता पुस्तादेखि पुस्तासम्म पुर्याएका छन्। अब यस स्मरणलाई अझ फराकिलो बनाउँदै भाषा, साहित्य, संगीत र संस्कृति मार्फत भौगोलिक सीमाभित्र रहेको नेपाल र सीमा बाहिर फैलिएको ‘भर्चुअल नेपाल’ लाई जोड्ने दीर्घकालीन राष्ट्रिय पहल अघि बढाऔं। त्यसका लागि ‘भानुभक्त ग्लोबल नेपाली नेटवर्क’ स्थापना एउटा व्यावहारिक सुरुआत हुन सक्छ। भानुभक्तलाई साँचो श्रद्धाञ्जली तब हुनेछ, जब नेपालले देशभित्र र देशबाहिर रहेका आफ्ना समुदायलाई भाषाको कारण ज्ञान, संस्कृति वा राष्ट्रिय अपनत्वबाट टाढा हुन नदिने प्रतिबद्धता लिनेछ। भानुभक्त र भर्चुअल नेपाललाई जोड्ने यो भाषा कूटनीतिको मात्र यात्रा होइन; यो ज्ञानमा समान पहुँच, बहुभाषिक सम्मान, सांस्कृतिक कूटनीति र विश्वव्यापी नेपाली सम्बन्धको नयाँ राष्ट्रिय कल्पना पनि हो।
(डा. ढकाल नेपाली डायस्पोराद्वारा प्रवर्धित ग्लोबल थिंक ट्यांक नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) का संस्थापक तथा अध्यक्ष हुन्। उनी किङ मोंगकुट्स युनिभर्सिटी अफ टेक्नोलोजी नर्थ बैंककमा विगत १५ वर्षभन्दा बढी समयदेखि भाषा विज्ञानको प्राध्यापकका रूपमा कार्यरत छन्।)
प्रतिक्रिया 4