News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रहरी प्रशासनको सहयोगमा सभापति गगन थापाको घर र सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ गरिएको दाबी गरेको छ ।
- प्रतिनिधिसभा बैठकमा सचेतक निश्कल राईले सरकारले नै राज्य आतंक सिर्जना गरेको आरोप लगाउँदै यसको कडा विरोध गर्नुभयो ।
- सोमबार बिहान अनलाइनखबर, कान्तिपुर र हिमालय टीभी अगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएपनि प्रहरीले अहिलेसम्म गाडीधनीको पहिचान गर्न सकेको छैन ।
३० असार, काठमाडौं । नेपाली कांग्रेसले प्रहरी प्रशासनकै सहयोगमा पार्टीका सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङ भएको दाबी गरेको छ ।
प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । सभामुख डोलप्रसाद अर्ष्यालले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सचेतक निश्कल राईले यस्तो दाबी गरेका हुन् ।
‘सरकार १८२ सिटको प्रचण्ड बहुमतको सरकारमाथि किन प्रश्न गरिस् भन्दै सभापतिज्यूको घर अगाडि लगेर पार्क गर्छ । त्यो पनि प्रहरी प्रशासनकै सहयोगमा,’ उनले भने, ‘शंकास्पद लागेपछि समुदायले शान्ति सुरक्षा खोज्छ । बिडम्बना प्रहरी मुकदर्शक बन्छ र दिनभर गाडी पार्कमै छाड्छन् ।’ यसलाई उनले राज्य आतंक भनेका छन् ।
‘बाटो जाम गर्छ, आतंक सिर्जन गर्छ । समुदायले गाडीको मालिक चाहियो भनेपछि हतारमा प्रहरीले हामी मिलाउँछौं भन्दै गाडी लिएर जान्छ,’ उनले भने ।
साथै उनले मिडिया हाउस अगाडि गाडी पार्किङको विषय पनि उठाए ।
‘सोमबारको घटना सभापतिज्यूको घरमा मात्रै भएको होइन । कान्तिपुर, अनलाइनखबरजस्त प्रपतिष्ठित सञ्चारमाध्यम अगाडि पनि त्यस्तै गाडी छाडेर हिडिन्छ । त्यो पनि सत्तारुढ दलकै नेताको गाडी,’ उनले भने ।
अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो ।
एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो । शंकास्पद तरिकाले पार्किङ गरिएपछि मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि तीनवटै मिडिया हाउसमा प्रहरी आएर गाडीधनीको सोधखोज गरेका थिए । कसले यस्तो गर्यो भन्ने अहिलेसम्म प्रहरीले ठोस रुपमा पत्ता लगाएको छैन ।
मिडियाहरूको आवतजावतमा अवरोध गर्ने गरी शंकास्पद रूपमा पार्किङ गरिएको घटनाबारे संसद्मा प्रश्न उठेको हो ।
प्रतिक्रिया 4