News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले मिडियाको गेटमा अवरोध गर्ने गरी पार्किङ गरिएका गाडीका विषयमा छानबिन र कारबाही हुनुपर्ने अडान दोहोर्याए।
- लामिछानेले आफ्नो पार्टीका कार्यकर्ता संलग्न भए पनि कारबाही हुने स्पष्ट पार्दै सांसदलाई समेत कारबाही गर्ने दृष्टान्त प्रस्तुत गरे।
- उनले सुकुमवासी समस्या समाधान र राष्ट्रिय राजनीतिका विविध विषयमा प्रधानमन्त्री बालेन शाहसँग परिणामुखी छलफल भएको जानकारी दिए।
३० असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मिडियाका गेटमा अवरोध पुग्नेगरी शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने स्पष्ट अडान रहेको प्रष्ट पारेका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यो घटनाबारे पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको र उक्त कुरामा अहिले पनि अडिग रहेको बताए ।
‘पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो । यो गलत हो भनेर हामीले भनेका छौं । छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ सञ्चारकर्मीको जिज्ञासामा उनले भने ।
तत्कालका लागि ट्राफिक प्रहरीले के गर्यो वा गरेन भन्ने विषय बेग्लै भएको भन्दै पार्टीको स्पष्ट धारणा रहेको सभापति लामिछानेको भनाइ छ । उनले घटना अस्वाभाविक रहेको बताएका छन् ।
‘पार्टीले जुन गम्भीरतापूर्वक विज्ञप्ति निकालेको छ । त्यसमा गम्भीरता हेर्नुभयो होला । तत्काललाई के गरियो भन्ने बेग्लै कुरा हो । तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको स्पष्ट छ,’ लामिछानेले भने, ‘हामी त्यसमै अडिग छौं । तत्काललाई छोडियो, कि समाइयो कि, के मुद्दा लाग्यो कि लागेन भन्ने बेग्लै कुरा हो । समग्रमा यो जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसमाथि पार्टीले जुन विज्ञप्ति निकालेर भनेको छ, त्यसमा पार्टी अडिग छ ।’
लगत्तै उनलाई सञ्चारकर्मीले ‘रास्वपाकै कार्यकर्ता परे भने कारबाही हुन्छ कि हुँदैन ?’ भनेर प्रश्न सोधेका थिए ।
जवाफमा लामिछानेले भनेका छन्, ‘किन हुँदैन ? त्यस्तो पनि प्रश्न हो र ? रास्वपा त्यो पार्टी हो जसले आफ्नो सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको हो । रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ ? किन नहुनु, जो भए पनि हुन्छ ।’
उनले पछिल्लोपटक प्रधानमन्त्री बालेन शाहसँगको भेटघाटबारे जानकारी दिँदै सुकुमवासी समस्या र अन्य विविध विषयमा छलफल भएको बताए ।
‘विशेषगरी सुकुमवासी समस्या समाधान गर्नका लागि प्रभावकारी बनाउनुपर्ने र अन्य विभिन्न विषयमा घनिभूत छलफल गर्यौं,’ लामिछानेले भने, ‘राष्ट्रिय राजनीतिक र भोलिका परिस्थितिकाबीचमा परिणामुखी छलफल गर्यौं ।’
प्रतिक्रिया 4