News Summary
Generated by OK AI. Editorially reviewed.- नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौँले दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय तोकेको छ।
- न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई ठगी, संगठित अपराध र राज्य विरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत सजाय निर्धारण गरेको हो।
- यस मुद्दामा अदालतले १६ जनालाई दोषी ठहर गरेको छ भने सात जनाले सफाइ पाएका छन्।
३० असार, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो । नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि जिल्ला अदालतले सजाय तोकेको हो। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो।
उनलाई फरक-फरक मुद्दामा फरक फरक सजाय निर्धारण गरिएको छ । ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना निर्धारण गरिएको छ ।
राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ। त्यस्तै थप तीन महिना कैद तोकिएको छ।
अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको छ । यस मुद्दामा न्यायाधीश खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो। जसमा १६ जनालाई दोषी ठहर गरिएको थियो भने सात जनाले सफाइ पाएका थिए।
प्रतिक्रिया 4