News Summary
Generated by OK AI. Editorially reviewed.- असार अन्तिम सातासम्म देशभर ५४ दशमलव ५२ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।
- गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको तथ्याङ्कले स्पष्ट पारेको छ ।
- सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ८७ दशमलव ८ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ३२ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ ।
३१ असार, काठमाडौं । यस वर्ष असार महिना सकिनै लाग्दा करिब ५५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार असार अन्तिम सातासम्म आइपुग्दा देशभरि ५४.५२ प्रतिशत रोपाइँ सकिएको हो।
देशभरि कुल १३ लाख ७० हजार ६२ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकोमा हालसम्म ७ लाख ४६ हजार ९ सय ६० दशमलव ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष यसै अवधिसम्ममा ५९.२८ प्रतिशत रोपाइँ भएको थियो । यसलाई आधार मान्दा समग्रमा यस वर्षको रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ ।
रोपाइँको अवस्थालाई प्रदेशगत रूपमा विश्लेषण गर्दा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रोपाइँ भएको छ ।
सुदूरपश्चिम प्रदेशमा कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ लाख ३६ हजार ३२ हेक्टर अर्थात् ८७.८ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष यसै अवधिसम्ममा त्यहाँ ९३.१० प्रतिशत रोपाइँ भएको थियो ।
मधेश प्रदेशमा भने अहिले निरन्तरको वर्षापछि बल्ल रोपाइँले गति लिएको छ । मधेश प्रदेशमा कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमध्ये १ लाख २६ हजार ४ सय ३९ हेक्टरमा रोपाइँ भएको छ, जुन जम्मा ३२.८ प्रतिशत मात्र हो । गत वर्ष पनि मधेशमा यस अवधिसम्म ३३.७८ प्रतिशत रोपाइँ भएको थियो ।
यस वर्षको तथ्यांकमा कोशी प्रदेशको अवस्था भने उत्साहजनक देखिएको छ । गत वर्षको तुलनामा रोपाइँ वृद्धि भएको यो एक मात्र प्रदेश हो ।
कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८७ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ६ सय १९ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष २९ असारसम्म ४१.३२ प्रतिशत मात्र रोपाइँ भएको कोशीमा यस वर्ष ५४.९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।
यस्तै गण्डकी प्रदेशमा कुल ९३ हजार ६ सय ६ हेक्टर क्षेत्रफलमध्ये ६१ हजार ७ सय २७ हेक्टर अर्थात् ६५.९ प्रतिशत रोपाइँ भएको छ, जुन गत वर्ष ७१.०३ प्रतिशत थियो ।
त्यसैगरी कर्णाली प्रदेशमा ४३ हजार २ सय ९० हेक्टरमध्ये २६ हजार ६७ हेक्टर अर्थात् ६०.२ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष कर्णालीमा ८३.२३ प्रतिशत रोपाइँ भएको थियो ।
लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ हेक्टरमध्ये १ लाख ७९ हजार ६ सय ३१ हेक्टरमा रोपाइँ भएको छ । यो ५९.६ प्रतिशत हो ।
यस्तै बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ६५ हजार ४ सय ४६ हेक्टर (५७.१ प्रतिशत) क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यसै अवधिसम्म लुम्बिनीमा ७३.६८ प्रतिशत र बागमतीमा ७६.३१ प्रतिशत रोपाइँ भएको थियो ।
प्रतिक्रिया 4