News Summary
Generated by OK AI. Editorially reviewed.- गायक एकदेव लिम्बुको चर्चित गीत 'झिमझिमाउने आँखा' अब चिनियाँ भाषामा पनि सार्वजनिक भएको छ ।
- प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले उक्त गीतलाई 'स्याओ स्याओ' नाममा आफ्नो कन्सर्टमा प्रस्तुत गरेकी छन् ।
- लिम्बुले नेपाली गीतलाई अन्तर्राष्ट्रिय मञ्चमा ग्लोबल स्टारले प्रस्तुत गर्नु सिंगो देशका लागि गौरवको विषय भएको बताएका छन् ।
काठमाडौं । गायक एकदेव लिम्बुको पछिल्लो हिट ‘झिमझिमाउने आँखा’ लाई चिनियाँ भाषामा पनि सुन्न पाइने भएको छ । नेपाली र हिन्दीपछि यो गीत अब चिनियाँ भाषामा तयार छ ।
यो गीतलाई प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले आधिकारिक रूपमा चिनियाँ भाषामा रूपान्तरण गरेको जानकारी लिम्बुले दिएका छन् । उनले आफ्नो गीत ३ भाषामा तयार भएको जनाउँदै इन्स्टाग्राम स्टोरीमार्फत सपना पूरा भएको अर्थमा वर्णन गरेका छन् ।
साथै, लिम्बुले यो अवसरमा प्रशंसकलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । गायिका लुसीले मकाउमा हालै आयोजित आफ्नो चर्चित ‘स्टे रोमान्टिक’ कन्सर्टको दोस्रो दिन यस गीतलाई चिनियाँ भाषामा लाइभ प्रस्तुत गर्दै हजारौँ दर्शकलाई सरप्राइज दिएकी थिइन् ।
चिनियाँ भाषामा यो गीतको बोल स्याओ स्याओ राखिएको छ । लुसीले यस गीतलाई चिनियाँ–तिब्बती लोक शैलीको फ्युजनमा निकै सुमधुर ढंगले प्रस्तुत गरेकी छिन्, जसलाई चिनियाँ तथा नेपाली सङ्गीतप्रेमीले रुचाएका छन् ।
लिम्बुको यो गीत रिलिज लगत्तै ग्लोबल हिट भएको थियो । युट्युबले ट्रेन्डिङ पृष्ठ हटाउनुअघि यो गीतको ग्लोबल ट्रेन्डिङमा थियो भने स्पोटीफाईमा भारतसहितका केही देशमा उत्कृष्ट ५० को भाइरल गीतको सूचीमा समावेश थियो ।
यसअघि भारतीय गायिका नेहा कक्करले यो गीतलाई लिम्बुसँगको सहकार्यमा हिन्दीमा ल्याइसकेकी छिन् । लिम्बुले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘मैले यो गीत कुनै चर्चा वा व्यावसायिक सफलताको लागि नभई आफ्ना वास्तविक भावना पोख्नका लागि लेखेको थिएँ । आज एउटा नेपाली गीतलाई विश्वकै ठूलो मञ्चमा, अन्तर्राष्ट्रिय दर्शकका सामु एक ग्लोबल स्टारले प्रस्तुत गरिरहनुभएको छ । यो मेरो मात्र होइन, सिंगो देश र नेपाली सङ्गीतकै ठुलो उपलब्धि हो ।’
प्रतिक्रिया 4