News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र निर्देशकका रूपमा लेखकले विश्वकप फुटबललाई संसारकै सबैभन्दा ठूलो अलिखित पटकथाका रूपमा व्याख्या गरेका छन् ।
- छनोट प्रतियोगितालाई चलचित्रको अडिसनसँग तुलना गर्दै उनले विश्वकपको अनिश्चितता नै यसको सबैभन्दा ठूलो आकर्षण रहेको बताएका छन् ।
- खेल मैदानमा प्रशिक्षकले निर्देशन दिए पनि जीवनका महान् कथाहरू कसैको नियन्त्रणमा नहुने र समयले नै अन्तिम निर्णय गर्ने उनको निष्कर्ष छ ।
‘एक्सन’ !
चलचित्र निर्देशनको यात्रामा मैले यो शब्द सयौं पटक उच्चारण गरेको छु । कहिले प्रेमिल दृश्य सुरु गर्न, कहिले विद्रोह त कहिले मौनता अनि कहिले आँसुका लागि । एउटा दृश्य जीवित बनाउन, पात्रलाई बोल्न सिकाउन र त्यो कथा दर्शकको मनसम्म पुर्याउन यही एउटा शब्दबाट यात्रा सुरु हुन्छ । त्यसपछि कलाकार बोल्छन्, क्यामेरा चल्छ, प्रकाशले दृश्यलाई आकार दिन्छ र सम्पादन कोठामा पुग्दासम्म एउटा कथाले पूर्णता पाइसकेको हुन्छ ।
कहिलेकाहीँ घरीघरी खिच्दा पनि दृश्य मन पर्दैनथ्यो र फेरि खिचिन्थ्यो । कलाकार चुक्थे, फेरि अभिनय गराइन्थ्यो । संवाद फेरिन्थ्यो, क्यामेराको कोण बदलिन्थ्यो । सम्पादन कक्षमा पुगेपछि पनि केही दृश्य काटिन्थे, केही थपिन्थे र अन्ततः धेरै पटकको प्रयासपछि पर्दामा देखिने कथा जन्मिन्थ्यो ।
तर, एक दिन जीवनले मलाई एउटा यस्तो कथासँग परिचित गरायो, जहाँ ‘एक्सन’ त हुन्छ तर निर्देशक हुँदाहुँदै पनि निर्देशक हुन पाउँदिन । जहाँ ‘कट’ भन्ने अधिकार कसैसँग हुँदैन । जहाँ ‘रिटेक’ माग्न सकिन्नँ । जहाँ गल्ती सुधार्न अर्को टेक लिने कुनै अवसर बाँकी रहँदैन । अझ भनौं, जहाँ अन्तिम दृश्य कसैले लेखेकै हुँदैन । र, त्यो कथा हो विश्वकप फुटबलको ।
फुटबल र चलचित्र दुवैले संसारलाई भावनाको एउटै धागोले बाँधेका छन् । इतिहासको क्यालेन्डर पल्टाउँदा यी दुईको जन्मबीच ३२ वर्षको दूरी देखिन्छ । आधुनिक फुटबलले सन् १८६३ मा बेलायतमा आफ्ना औपचारिक नियम र संरचना प्राप्त गर्यो भने चलचित्रले सन् १८९५ मा फ्रान्सका लुमिएर दाजुभाइहरूको पहिलो सार्वजनिक प्रदर्शनसँगै आफ्नो यात्रा सुरु गर्र्योे । यस अर्थमा चलचित्र, फुटबलभन्दा करिब ३२ वर्ष कान्छो कला हो ।
यद्यपि, मानव सभ्यतामा फुटबलजस्ता खेलहरू हजारौं वर्षअघिदेखि खेलिँदै आएका थिए, जबकि चलचित्र अपेक्षाकृत नयाँ आविष्कार हो । फरक समय, फरक भूगोल र फरक माध्यममा जन्मिए पनि यी दुवैले अन्ततः मानिसलाई समान कुरा दिएका छन कथा, भावना र स्मृतिहरू ।
धेरैका लागि विश्वकप फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता होला, कसैका लागि राष्ट्रिय गौरव, त कसैका लागि मनोरञ्जन । तर, एउटा चलचित्र निर्देशकका रूपमा मैले विश्वकपलाई सधैं फरक आँखाले हेरेको छु । मलाई यो खेलभन्दा पहिले एउटा कथा लाग्छ । तर यस्तो कथा जसको जन्म सेतो कागजमा नभएर हरियो मैदानमा हुन्छ ।

मलाई विश्वकप कहिल्यै केवल फुटबल लागेन, संसारकै सबैभन्दा ठूलो ‘अलिखित पटकथा’ लाग्यो । चलचित्रको कथा लेखकले लेख्छ, तर विश्वकपको कथा कसैले लेख्दैन । सायद त्यसैले यसको आकर्षण पनि यही हो । चलचित्रको कथा पर्दा उघ्रेपछि मात्र सुरु हुँदैन, त्यसअघि नै दर्शकसँग उसको सम्बन्ध जोडिन थालिसकेको हुन्छ ।
शीर्षक घोषणा हुन्छ, पोस्टर सार्वजनिक हुन्छन्, ट्रेलर आउँछ, कलाकारका अन्तर्वार्ता आउँछन्, गीतसंगीतले आफ्नो उचाइ लिइसकेका हुन्छन् । त्यसबेलादेखि नै दर्शकले अनुमान लगाउन थाल्छन कथा कस्तो होला ? नायकको प्रवेश कसरी होला ? अन्य पात्रहरू कसरी अघि बढ्लान् ? अन्त्य कस्तो होला ? अर्थात्, हलमा पुग्नुअघि नै कथा दर्शकको मनमा प्रवेश गरिसकेको हुन्छ ।
विश्वकप पनि त्यस्तै हो । छनोट प्रतियोगितादेखि नै कथा जन्मिसकेको हुन्छ । कुनै राष्ट्र आफ्नो पहिलो विश्वकपको सपना पछ्याइरहेको हुन्छ, कुनै महान खेलाडी अन्तिम पटक देशका लागि खेल्ने तयारीमा हुन्छ, त कुनै युवा खेलाडी पहिलो पटक विश्वमञ्चमा पाइला राख्ने अवसरको प्रतीक्षामा हुन्छ ।
मलाई छनोट प्रतियोगिता सधैं चलचित्रको ‘अडिसन’ जस्तो लाग्छ । चलचित्रमा निर्देशकले पात्र छान्छ, विश्वकपमा पात्रलाई समयले छान्छ । त्यसपछि संसारभर अर्को दृश्य सुरु हुन्छ । जर्सी सार्वजनिक हुन्छ, समर्थकले पुराना झण्डा निकाल्छन्, टिकटका लागि लाखौं मानिसले आवेदन दिन्छन्, सामाजिक सञ्जाल बहसले भरिन्छ ।
को बलियो ? को कमजोर ? यसपालिको नायक को बन्ला ? तर, यी प्रश्नहरूको उत्तर कसैसँग हुँदैन । यही अनिश्चितता नै विश्वकपको पहिलो आकर्षण हो । निर्देशकका रूपमा मैले बुझेको सत्य के हो भने, दर्शकलाई सबैभन्दा धेरै मन पर्ने कथा त्यही हो जसको अन्त्य उसलाई थाहा हुँदैन ।
मैदानभित्रको खेलसँगै बाहिर पनि अर्को दृश्य समानान्तर रुपमा चलिरहेको हुन्छ । साथीभाइ, परिवार र आफन्त जम्मा हुन्छन् । खेल हेर्न कोही ठूलो टेलिभिजन किन्छन्, कोही कामबाट छट्टी लिन्छन्, कोही रातभर जाग्राम बस्छन् । उनीहरू खेल मात्र हेर्दैनन्, सामूहिक अनुभूतिका साथ जीवन बाँचिरहेका हुन्छन् ।
रोचक त के छ भने, बाजीका कारण कतिपय आफ्नो मनपर्ने टोलीभन्दा टाढा गएर अर्को टोलीको जितको कामना गरिरहेका हुन्छन् । एउटै खेल करोडौंले फरक–फरक उद्देश्यले हेरिरहेका हुन्छन् ।
चलचित्रको संसारमा पनि धेरै मेहनत र ठूलो लगानीका चलचित्र कहिलेकाहीँ दर्शकको मन जित्न असफल हुन्छन्, तर कम अपेक्षा गरिएका चलचित्रले इतिहास रचिदिन्छन् । विश्वकपमा पनि त्यही नियम लागू हुन्छ । बलिया मानिएका टोली हार्छन्, अनि सामान्य ठानिएका टोलीहरूले संसारलाई चकित पार्छन् ।
हजारौं कथामध्ये जस्तै केही चलचित्र मात्र अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सफल हुन्छन्, त्यसरी नै हजारौं टोलीमध्ये सीमित टोली विश्वकपको अन्तिम प्रतिस्पर्धामा पुग्छन् । दुवै यात्रामा संघर्ष छ, छनोट छ, दबाब र इतिहास रच्ने सम्भावना पनि उत्तिकै छ ।
चलचित्रको टिकटले दुई घण्टाको कथा किन्छ भने विश्वकपको टिकटले जीवनभर सम्झिने क्षण किन्छ । वास्तवमा यो कागजको टुक्रा मात्र होइन, कथाभित्र प्रवेश गर्ने अनुमति पनि हो । त्यसैले विश्वकपमा दर्शक मात्र हुँदैनन्, त्यहाँ कथा बाँचिरहेका पात्रहरू हुन्छन् । रंगशालाको दृश्य हेर्दा मेरो ध्यान प्रायः खेलाडीभन्दा पहिले समर्थकतर्फ जान्छ ।
अनुहारमा झण्डा कोरेका समर्थक, काँधमा बोकिएका बालबालिका, दशकौं पुरानो हारको पीडा आँखामा बोकेका वृद्ध र पहिलो पटक विश्वकप हेर्ने उत्साहमा कल्पिरहेका किशोर । वास्तवमा उनीहरू त्यहाँ खेल हेर्न आएका होइनन्, आफ्नो जीवनको एउटा स्मरणीय क्षण बाँच्न आएका हुन् ।
राष्ट्रिय गान बज्छ, कतै प्रार्थना हुन्छ, कतै मौनता । निर्देशकको आँखाले हेर्दा यतिबेलासम्म कथा सुरु भइसकेको हुन्छ । रेफ्रीले सिट्ठी फुक्नुअघि नै भावनाले पहिलो संवाद बोलिसकेको हुन्छ । अनि त्यो क्षण आउँछ । रेफ्रीको मुखमा सिट्ठी । एउटा सानो आवाज तर त्यसको प्रतिध्वनि एकैपटक पाँचवटै महादेशमा यसरी गुञ्जिन्छ कि मानौं, संसारको समय एउटै विन्दुमा रोकिएको छ । मेरो कानले त त्यो आवाज सधैं ‘एक्सन’ भनेको सुन्छ ! त्यो आवाजसँगै खेल मात्र सुरु हुँदैन, करोडौं मानिसको धड्कन एउटै लयमा चल्न थाल्छ ।

दुई घण्टाको चलचित्र होस् वा नब्बे मिनेटको खेल, दर्शकलाई अन्त्य थाहा हुँदैन । त्यसको प्रतीक्षा नै कथाको इन्धन हो । चलचित्रमा निर्देशकले कलाकारलाई निर्देशन दिनसक्छ, संवाद फेर्न सक्छ, दृश्य दोहोर्याउन सक्छ । तर विश्वकपले हरेक चार वर्षमा एउटै यथार्थ स्मरण गराइदिन्छ जीवनका महान् कथाहरू कसैको नियन्त्रणमा हुँदैनन् ।
प्रशिक्षकसँग योजना त हुन्छ तर परिणाम हातमा हुँदैन, खेलाडीसँग सीप हुन्छ तर नतिजा थाहा हुँदैन, समर्थकसँग विश्वास हुन्छ तर निश्चितता हुँदैन । यही अनिश्चितताले विश्वकपलाई खेलभन्दा माथि उठाउँछ ।
चलचित्रमा ‘ट्विस्ट’ लेखकले लेख्छ तर विश्वकपमा समयले । अप्रत्याशित पास, अफसाइड, लाइन्सम्यानको झण्डा, रेफ्रीको निर्णय, पेनाल्टी क्षेत्रको स्पर्श, इन्जुरी टाइमको गोल यी सबै खेलका नियम मात्र होइनन्, कथाका अनगिन्ती मोडहरू हुन् । यी मोडले पात्रको भाग्य बदल्छन्, नायक जन्माउँछन् र इतिहास फेरिदिन्छन् ।
टचलाइनमा उभिएको प्रशिक्षक मलाई सेटमा उभिएको निर्देशकजस्तै लाग्छ । फरक यति हो, निर्देशकले दृश्य बिग्रियो भने ‘रिटेक’ लिन सक्छ, तर प्रशिक्षकले सक्दैन । त्यसैले चलचित्र निर्देशनभन्दा कठिन निर्देशन विश्वकपको टचलाइनमा उभिएर गर्नुपर्छ, किनकि त्यहाँ कल्पनाले होइन, समयले आदेश दिन्छ ।
भीएआरको निर्णय पर्खिरहेको दृश्य हेर्दा मलाई सम्पादन कक्षको याद आउँछ । एउटै दृश्य फरक फरक कोणबाट हेरिन्छ, सत्य खोजिन्छ । चलचित्रमा सम्पादनले कथालाई प्रभावशाली बनाउँछ भने विश्वकपमा भीएआरले खेल न्यायपूर्ण बनाउने प्रयास गर्छ । तर, विश्वकपको सबैभन्दा ठूलो पात्र न खेलाडी हुन्, न प्रशिक्षक, न रेफ्री नै, त्यो पात्र समय हो । समयले नै साधारण खेलाडीलाई अमर बनाउँछ, महान् टोलीलाई घुँडा टेकाउँछ र असम्भवलाई सम्भव बनाउँछ ।
चलचित्रमा पृष्ठभूमिमा संगीत बज्छ, तर विश्वकपमा समर्थकहरू आफैं संगीत सिर्जना गर्छन् । राष्ट्रगानको सामूहिक स्वर, गोलपछिको उमंग उन्माद, हारपछिको सन्नाटा यी भावनाले रचेका ध्वनि हुन् । कहिलेकाही सबैभन्दा ठूलो ध्वनि ‘मौनता’ हुन्छ, जुन विश्वकपले बारम्बार प्रमाणित गर्छ ।
पेनाल्टी अघिको मौनता, हारपछिको सन्नाटा र जितपछिको गर्जन साझा भाषा हुन् । त्यसैले भाषा र संस्कृति फरक भए पनि विश्वकपले भौगोलिक सिमाना मेटाइदिन्छ ।
अन्तिम सिटी बज्छ, स्टेडियम खाली हुन्छ, तर कथा यत्तिमा समाप्त हुँदैन । त्यो समर्थकका घर फर्कन्छ, बालबालिकाको सपनामा बस्छ, अर्को चार वर्षको प्रतीक्षामा बाँच्छ । अन्ततः मानिस खेलसँग होइन, कथासँग प्रेम गर्छ । सायद त्यसैले हामी चलचित्र बनाउँछौं, त्यसैले विश्वकप हेर्छौं । चलचित्रमा निर्देशकले कथा सुनाउँछ, तर विश्वकपमा कथा आफैं बोल्छ । जब रेफ्रीको पहिलो सिट्ठी बज्छ, त्यहाँ खेल सुरु हुँदैन त्यो क्षण मैदानमा एउटा कथा जन्मिन्छ ।
प्रतिक्रिया 4