+
+
Shares

प्रेस तर्साउन भिजिलान्ते शैली प्रदर्शन गरिएको कांग्रेसको निष्कर्ष

कांग्रेसको बुझाइ संसद्‌मा राख्दै उनले भनिन्, ‘स्वतन्त्र प्रेस तर्साउन भिजिलान्ते शैली अपनाइएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संचार गृह अगाडि शंकास्पद रूपमा सवारी पार्किङ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ मागेको छ ।
  • कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बाँस्कोटाले मिडिया हाउस अगाडि सवारी पार्किङ गर्ने कार्यमा सरकारको संलग्नता नरहेको दाबी गरिन् ।
  • कांग्रेस सांसद गीता गुरुङले सदनमा सम्बोधन गर्दै महँगी, अर्थतन्त्रको शिथिलता र नागरिकमाथि भएको दमनका विषयमा प्रधानमन्त्रीको जवाफ माग गरिन् ।

३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संचार क्षेत्रलाई निरुत्साहित गर्ने कामको विरोध जनाएको छ ।

बुधबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्दै सांसद गीता गुरुङले केही नेता र मिडिया हाउसहरू अगाडि शंकास्पद रुपमा गाडीस् पार्किङ गरिएको कार्यको विरोध जनाइन् ।

कांग्रेसको बुझाइ संसद्‌मा राख्दै उनले भनिन्, ‘स्वतन्त्र प्रेस तर्साउन भिजिलान्ते शैली अपनाइएको छ ।’

अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर मिडिया हाउसका कार्यालयअघि सोमबार बिहान शंकास्पद रुपमा गाडी पार्किङ गरिएको थियो । एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएपछि सम्बन्धित मिडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि मिडिया हाउस पुगेर प्रहरीले गाडीधनीको सोधखोज गरे । गाडी उठाएर लगे । तर कसले यस्तो गर्‍‍यो भन्ने विषयमा प्रहरीले केही पत्ता लगाएको छैन ।

बरु त्यस्ता गाडीलाई पाँच सय जरिबाना मात्रै तिराएर छाडिएको छ । जबकि, संचार गृह अगाडि शंकास्पद पार्किङ गरिएका गाडी उठाएर लैजान क्रेनलाई ८ हजारदेखि १०/१२ हजार रुपैयाँ तिरिएको थियो ।

यो विषयमा संसद्‌मा प्रश्न उठाउँदै कांग्रेसले सरकारसँग जवाफ मागेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै कतिपय सांसदले समेत यो विषयमा छानबिनको माग गरेका छन् । कतिपय रास्वपाका सांसदले भने यो घटनामा सरकार नजोडिएको दाबी गर्दै आएका छन् ।

सोमबार नै यो विषय संसदीय समितिमा समेत उठेको थियो । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा यो विषय उठेको हो ।

बैठकमा बोल्दै कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समिक्षा बास्कोटाले कान्तिपुर टेलिभिजन, हिमालय टेलिभिजन, अनलाइनखबर र भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारी पार्किङ गरिएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताएकी थिइन् ।

तर मिडिया हाउसको गेटमा सवारी पार्किङ गरी अवरोध गर्ने कार्यमा सरकारको संलग्ना नरहेको दाबी गरेकी थिइन् ।

‘मिडिया हाउस अगाडि सरकारले गाडी पार्किङ गरेको होइन’ उनले भनेकी थिइन्, ‘गाडीका नम्बर प्लेट हेर्दाखेरि प्राइभेट नम्बर प्लेटहरू देखिएको छ । यो विषयमा पनि समितिको ध्यानाकर्षण भएको छ ।’

त्यसदिन दिन उनले दोहोर्‍याइ दोहोर्‍याइ मिडिया हाउस अगाडि सरकारले गाडी पार्किङ नगरेको दाबी गरेकी थिइन् ।

‘यहाँ बस्दाबस्दै ट्राफिक प्रहरीले ती गाडीहरू उठाइराखेको भनेर जानकारी आएको छ । मलाई जहाँसम्म लाग्छ सरकारले यस्तो काम गर्दैन’ उनले भनेकी थिइन्, ‘यो विषयमा हामीले सरकारको गम्भीर ध्यानाकर्षण गरायौँ । मिडियालाई त्रसित बनाउने कार्यमा संलग्न जोकोही होस् यसलाई गम्भीर रुपमा लिएर भोलिको दिनमा पनि उचित छलफल गर्नुपर्छ ।’

संसद्मा यो विषय विपक्षी दलहरूले उठाउँदा सत्तारुढ रास्वपाका अधिकांश् सांसद मौन रहँदै आएका छन् । बरु विपक्षीले यो विषय उठाउँदा कतिपयले सरकारलाई जोडेको भनेर नियमापत्ति गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा यो विषय उठाउँदै नेपाली कम्युनिस्ट पार्टीले शंकास्पद रुपमा गाडी पार्किङ गर्ने कार्यमा सरकार समर्थित व्यक्तिको संलग्नता रहेको दाबी गर्यो । ‘प्रकारान्तरले देखियो राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो’ नेकपाका सांसद रमेश मल्लले भने ।

शंकास्पद रुपमा गाडी पार्किङ गर्ने कार्यको विरोध गर्दै यसमा सरकार र सत्तारुढ दलतिरै औंला ठड्याएपछि सत्तारुढ दलका कतिपय सांसदले शब्द चयनलाई लिएर नियमापत्ति गरेका हुन् ।

रास्वपा सांसद टिका संग्रौलाले ‘विभिन्न स्थानमा पार्किङ गरिएका गाडीहरूको विषयलाई लिएर यसमा सिंगो राज्यको अपमान हुने गरी’ अभिव्यक्ति आएको भन्दै नियमापत्ति गरिन् ।

‘राज्यको नैतिकता र शिष्टाचार प्रतिकुल हुने गरी उहाँ (विपक्षी दलका सांसद्)ले राज्यले परिचालन गरेको भन्ने शब्द प्रयोग गर्नुभयो । म यो शब्दप्रति घोर आपत्ति जनाउन चाहन्छु’ उनले भनिन्, ‘र नियमापत्ति यसकारण गर्न चाहन्छु, एउटा व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सिंगो राज्यलाई मुछ्न पाइँदैन् ।’

मिडिया हाउसहरू अगाडि शंकास्पद गाडी तेर्साउने कार्यमा सरकारलाई जोडेर प्रश्न गरेको कांग्रेसले सरकारमाथि अन्य बिभिन्न विषयमा समेत प्रश्न गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद गुरुङले भनेकी छन्, महँगीले सगरमाथा नाघेको छ । अर्थतन्त्र शिथिल छ । सेयर बजार ओरालो लागेको लागै छ । विमानस्थलमा विदेशिनेको भिडमा कमी आएको छैन । सरकारको कमजोरी औल्याउँदा जेन्सी युवाहरु नै असुरक्षित भएर जीवन रक्षाको माग गरिरहेका छन् । माजिद अंसारी सरिश्मा थापा लगायतका जेन्सी अभियन्तामाथि निर्मम दमन.भएको छ ।’

कर्णाली दलित, मधेसी महिला जनजाति र सीमान्तकृत समुदायले नै आज पनि राज्यबाट बढी असुरक्षित रहेको उनले बताइन् ।

‘के भइरहेको छ ? नागरिकले सोधिरहेका छन्– के युवाले नेतृत्व गरेको सरकारमा करुणा भाव हुँदैन श्र के अहंकार र प्रतिशोध नै कानून र मानवीय संवेदना भन्दा माथि हुन्छ ?’ उनले भनेकी छन् ।

नागरिक समाजले पनि प्रश्न गरिरहेको उनले बताइन् ।

‘सडकमा घन्किएको ६ सत्तामा पुर्याउने धेरै युवा आज निराश भएका छन् प्रधानमन्त्री ज्यू’ उनले भनेकी छन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यू संसदमा आउनुहोस् । प्रश्नबाट भाग्ने होइन प्रश्नको सामना गर्ने राजनीतिक संस्कारको नेतृत्व गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?