+
+
Shares

दुर्घटना राहतमा छुट्टै कोष स्थापना गर्न ट्रक व्यवसायी महासंघको माग

महासंघका अनुसार सार्वजनिक यातायातका सवारी दुर्घटनामा घाइतेको उपचारका लागि अस्पतालमा लाखौं रुपैयाँ खर्च हुने गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी दुर्घटनाका पीडितका लागि कानुनमै व्यवस्था हुने गरी छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ।
  • महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँले कानुनमन्त्री सोविता गौतमलाई ज्ञापनपत्र बुझाउँदै हालको बीमा व्यवस्था अपर्याप्त भएकाले व्यवसायीले अतिरिक्त आर्थिक भार बेहोर्नुपरेको उल्लेख गर्नुभएको छ।
  • महासंघले दुर्घटनामा घाइतेको उपचार र पुनर्स्थापनाको सम्पूर्ण जिम्मेवारी बीमा कम्पनीले लिनुपर्ने तथा आगामी बजेटका व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने माग गरेको छ।

३१ असार, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृतकका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले कानुनमै व्यवस्था हुने गरी छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको छ ।

महासंघले मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम समक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा सम्बोधन गरिएको सवारी दुर्घटना बीमा व्यवस्था थप प्रभावकारी बनाउन कानुनी व्यवस्था आवश्यक रहेको जनाएको हो ।

महासंघ अध्यक्ष राजेन्द्रविक्रम बानियाँले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सदस्य संस्थाहरूले व्यवसायीबाट निश्चित शुल्क संकलन गरी सवारी दुर्घटनामा घाइते भएका तथा मृत्यु भएका व्यक्तिका परिवारलाई बीमा निर्देशिकामा उल्लेख गरिएको रकम अपुग हुने अवस्थामा थप राहत उपलब्ध गराउँदै आएको उल्लेख गरिएको छ ।

महासंघका अनुसार सार्वजनिक यातायातका सवारी दुर्घटनामा घाइतेको उपचारका लागि अस्पतालमा लाखौं रुपैयाँ खर्च हुने गरेको छ । तर, हालको बीमा व्यवस्था अनुसार उपलब्ध हुने उपचार खर्च पर्याप्त नभएकाले व्यवसायीले अतिरिक्त आर्थिक भार बेहोर्नुपरेको अवस्था छ ।

दुर्घटनामा मृत्यु भएका घटनामा पनि बीमा रकमप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले क्षतिपूर्ति माग्ने, सवारीसाधनमा आगजनी गर्ने तथा प्रहरी प्रशासनले समेत व्यवसायीलाई अतिरिक्त सहमतिमा पुग्न दबाब दिने अवस्था रहेको अध्यक्ष बानियाँको भनाइ छ ।

ज्ञापनपत्रमा सार्वजनिक सवारीसाधनले वैध बीमा पोलिसी खरिद गरेको अवस्थामा दुर्घटनापछि घाइतेको उपचार र पुनर्स्थापनाको सम्पूर्ण जिम्मेवारी बीमा कम्पनीले नै लिनुपर्ने व्यवस्था गर्न माग गरिएको छ ।

महासंघले आव २०८३/८४ को बजेटमा दुर्घटनामा मृत्यु हुनेका लागि बीमा रकम १० लाख रुपैयाँ पुर्‍याइए पनि घाइतेको उपचार खर्च भने पुरानै ३ लाख रुपैयाँ कायम रहेकाले त्यसले उपचार, पुनर्स्थापना र राहतका लागि पर्याप्त नहुने जनाएको छ ।

यसैकारण राहतजन्य कार्य सञ्चालन गर्न ऐनमै छुट्टै दुर्घटना राहत कोष स्थापना गर्न, त्यसको सञ्चालनका लागि घाइते राहत कोष निर्देशिका जारी गर्न तथा महासंघ र सम्बद्ध संस्थाहरूले सदस्य व्यवसायीबाट संकलन गर्ने रकम मार्फत उक्त कोष सञ्चालन गर्न सकिने व्यवस्था संशोधित ऐनमा समावेश गर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?