News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पर्यटन बोर्ड र यूएनडीपीको संयुक्त पहलमा एलजीबीटीआईक्यू प्लस समुदायका लागि २८ दिने वेलनेस थेरापी तालिम काठमाडौंमा सुरु भएको छ ।
- समावेशी पर्यटन प्रवर्द्धन र नेपाल वेलनेस वर्ष–२०२७ को तयारी स्वरूप नौ जनालाई स्पा तथा वेलनेस सेवाको व्यावहारिक र सैद्धान्तिक सिप प्रदान गरिने छ ।
- पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐयरले सीमान्तकृत समुदायलाई व्यावसायिक सिपमार्फत सशक्त बनाउनु सामाजिक न्याय र पर्यटन विकासको आधार भएको बताउनुभयो ।
३१ असार, काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) सहयोग तथा ब्लु डाइमन्ड सोसाइटी (बीडीएस) को समन्वयमा एलजीबीटीआईक्यू प्लस समुदायका सदस्यका लागि २८ दिने वेलनेस थेरापी (स्पा) तालिम काठमाडौंमा सुरु भएको छ ।
समावेशी पर्यटन विकास, सिपमूलक रोजगारी प्रवर्द्धन तथा ‘नेपाल वेलनेस वर्ष–२०२७’ को राष्ट्रिय अभियानमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा नौ जना सहभागी छन् ।
तालिम मार्फत सहभागीलाई मानव शरीरको संरचना र कार्यप्रणाली, व्यावसायिक आचारसंहिता, ग्राहक सेवा, सरसफाइ तथा सुरक्षाका मापदण्ड, स्पा तथा वेलनेस सेवा सञ्चालनका आधारभूत ज्ञानसँगै पूर्णशरीर मसाज, रिफ्लेक्सोलोजी, टाउको तथा काँध मसाज, बडी स्क्रब लगायत व्यावहारिक सिप प्रदान गरिने छ ।
चार सातासम्म सञ्चालन हुने तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीले स्पा थेरापिस्टको प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस वर्ष’ घोषणा गरेसँगै योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार, आध्यात्मिक पर्यटन तथा हिमाली उपचार परम्परालाई अन्तर्राष्ट्रिय पर्यटन उत्पादनका रूपमा प्रवर्द्धन गर्ने राष्ट्रिय लक्ष्य अघि सारेको छ ।
यसै सन्दर्भमा सञ्चालन गरिएको तालिमले नेपालको पर्यटनलाई वेलनेस पर्यटनतर्फ विस्तार गर्दै सम्मानजनक रोजगारी र दिगो आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले हालै तयार पारेको राष्ट्रिय वेलनेस पर्यटन रणनीति तथा कार्ययोजनाले गुणस्तरीय सेवा, दक्ष जनशक्ति विकास, सुरक्षित तथा नैतिक अभ्यास प्रवर्द्धन र वेलनेस थेरापीलाई सम्मानित तथा व्यावसायिक पेसाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐयरले पर्यटनको प्रतिफल समाजका सबै समुदायसम्म पुग्नुपर्ने नेपालको दृष्टिकोण रहेको उल्लेख गर्दै वेलनेस पर्यटनले सम्मानजनक रोजगारी, उद्यमशीलता र समावेशी आर्थिक वृद्धिका नयाँ अवसर सिर्जना गर्ने बताए ।
‘नेपाल वेलनेस वर्ष–२०२७ को आधारभूत सिद्धान्त पर्यटनको लाभ प्रत्येक समुदायसम्म पुर्याउनु हो, यस पहल मार्फत एलजीबीटीआईक्यू प्लस समुदायलाई केवल लाभग्राहीका रूपमा होइन, नेपालको विकासोन्मुख वेलनेस पर्यटन उद्योगका सक्रिय साझेदारका रूपमा स्थापित गर्न खोजिएको छ,’ उनले भने ।
निमित्त प्रमुख ऐरले पर्यटन बोर्ड समावेशी, सम्मानजनक र सबैका लागि पहुँचयोग्य पर्यटन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सीमान्तकृत समुदायलाई व्यावसायिक सिपमार्फत सशक्त बनाउनु सामाजिक न्यायसँगै नेपालको पर्यटन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने आधार भएको बताए ।
‘विविधता नेपालको सबैभन्दा ठूलो शक्ति हो र समावेशी पर्यटन उद्योग दिगो राष्ट्रिय विकासका लागि अपरिहार्य छ,’ उनले थपे ।
एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडीले समावेशी सिप विकास दिगो पर्यटन विकासको केन्द्रबिन्दु रहेको उल्लेख गर्दै सीमान्तकृत समुदायका लागि सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नु परियोजनाको प्रमुख उद्देश्य भएको बताए ।
उनका अनुसार व्यावसायिक वेलनेस सिपमा गरिएको लगानीले सहभागीको आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूलाई सम्मानजनक जीविकोपार्जन र बढ्दो वेलनेस पर्यटन बजारमा सक्रिय सहभागिताका लागि सक्षम बनाउने छ ।
प्रतिक्रिया 4