+

टी-२० विश्वकपको फर्म्याट परिवर्तन, अब सुपर १० र इलिमिनेटर पनि हुने

२०८३ असार  ३१ गते १५:५३ २०८३ असार ३१ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले पुरुष टी–२० विश्वकपमा दोस्रो चरणको टोली संख्या आठबाट बढाएर १० पुर्‍याउँदै नयाँ ढाँचा अनुमोदन गरेको छ ।
  • सन् २०२८ को विश्वकपमा अब सुपर एटको सट्टा सुपर १० चरण हुने र इलिमिनेटर प्रणाली समावेश गरिने भएको छ ।
  • आईसीसीले १४ टोली सहभागी हुने एकदिवसीय विश्वकपमा समूह चरणअघि सुपर सिरिज नामक नयाँ चरण समावेश गर्ने निर्णय गरेको छ ।

३१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुषतर्फका आफ्ना प्रमुख प्रतियोगिताको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको छ । स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसी बोर्ड बैठकले पुरुष टी–२० विश्वकप र एकदिवसीय विश्वकपलाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने उद्देश्यले नयाँ ढाँचा अनुमोदन गरेको हो ।

आईसीसीका अनुसार सन् २०२८ देखि हुने पुरुष टी–२० विश्वकपमा दोस्रो चरणको टोली संख्या आठबाट बढाएर १० पुर्‍याइनेछ । यसले उदीयमान राष्ट्रलाई दोस्रो चरणमा पुग्ने अवसर कायम राख्दै प्रतिस्पर्धाको स्तर थप उकास्ने विश्वास गरिएको छ ।

हालसम्म समूह चरणपछि ‘सुपर एट’ खेलाइँदै आएकोमा अब त्यसको स्थानमा ‘सुपर १०’ हुनेछ । प्रतियोगिताको सुरुआती समूह चरणमा २० टोलीलाई चार–चार टोलीका पाँच समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली दोस्रो चरणमा पुग्नेछन् ।

दोस्रो चरणमा १० टोलीलाई दुई समूहमा पाँच–पाँच टोलीका रूपमा विभाजन गरिनेछ । यस चरणमा प्रत्येक समूहको विजेता टोली सिधै सेमिफाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले क्रसओभर इलिमिनेटर खेल्नेछन् ।

एउटा समूहको दोस्रो टोलीले अर्को समूहको तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नयाँ ढाँचाअनुसार समूह चरणका खेल ४० बाट घटेर ३० हुनेछन् भने ‘सुपर १०’ चरणका खेल १२ बाट बढेर २० पुग्नेछन् । यससँगै प्रतियोगितामा इलिमिनेटरका दुई अतिरिक्त खेल पनि थपिनेछन् ।

आईसीसीले प्रतियोगिताको अन्तिम चरणसम्म प्रत्येक खेललाई थप अर्थपूर्ण र प्रतिस्पर्धात्मक बनाउन इलिमिनेटर प्रणाली समावेश गरिएको जनाएको छ ।

विश्वकप छनोटको नयाँ व्यवस्था

आईसीसी बोर्डले सन् २०२८ को टी–२० विश्वकपका लागि नयाँ छनोट प्रणाली पनि स्वीकृत गरेको छ ।

सन् २०२६ को विश्वकपमा खेले पनि स्वतः छनोट हुन नसकेका टोली सिधै ग्लोबल क्वालिफायरमा पुग्नेछन् । स्कटल्यान्डलाई भने विशेष परिस्थितिका आधारमा युरोप क्षेत्रीय फाइनलमा सिधै प्रवेश दिइनेछ ।

ग्लोबल क्वालिफायरका बाँकी आठ स्थान क्षेत्रीय छनोटमार्फत भरिनेछन् । अफ्रिका, एसिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट हुनेछन् ।

ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रको उत्कृष्ट टोलीसँगै समग्रमा उत्कृष्ट तीन टोलीले न्यूनतम प्रदर्शन मापदण्ड पूरा गरेमा टी–२० विश्वकप २०२८ मा स्थान बनाउनेछन् ।

सहयोगी राष्ट्रका लागि नयाँ विश्वस्तरीय प्रतियोगिता प्रस्ताव

आईसीसीले सहयोगी सदस्य राष्ट्रका लागि १६ टोली सहभागी हुने नयाँ विश्वस्तरीय प्रतियोगिताको अवधारणालाई पनि समर्थन गरेको छ । यो प्रतियोगिता टी–२० विश्वकपअघि आयोजना गर्ने प्रस्ताव गरिएको छ, जसले सहयोगी राष्ट्रलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा उपलब्ध गराउने र विश्वकपका लागि थप गुणस्तरीय तयारी गर्ने अवसर दिने विश्वास गरिएको छ ।

यद्यपि, यस प्रतियोगितालाई अन्तिम स्वीकृति भने नोभेम्बरमा बस्ने आईसीसीको वित्त तथा व्यावसायिक मामिला समितिको समीक्षा पछि बोर्डले दिनेछ ।

एकदिवसीय विश्वकपमा पनि नयाँ चरण

आईसीसीले १४ टोली सहभागी हुने पुरुष एकदिवसीय विश्वकपको ढाँचा पनि परिवर्तन गरेको छ । अब प्रतियोगितामा समूह चरणअघि ‘सुपर सिरिज’ नामक नयाँ चरण समावेश गरिनेछ, जसले सुरुआती चरणका खेललाई अझ बढी महत्व दिने उद्देश्य राखिएको आईसीसीले जनाएको छ।

आईसीसी टी-२० विश्वकप टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय