+
+
Shares

सुदूरपश्चिममा बजेट पास गराउन मुख्यमन्त्रीले गरेको प्रस्ताव नेकपाले गर्‍यो अस्वीकार

आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रमुख प्रतिपक्षी दल नेकपालाई प्रदेश सभामा पेस भएको बजेट पारित गर्न सघाउन प्रस्ताव गरेका छन् । नेकपाले भने उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

जनक विष्ट जनक विष्ट
२०८३ असार ३१ गते २०:१०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पारित गर्न प्रमुख प्रतिपक्षी दल नेकपालाई सघाउन प्रस्ताव गरेका छन् ।
  • नेकपाका संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकार गर्दै आफूहरूले सहयोग गर्न नसकिने बताएका छन् ।
  • एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् र नेकपाले नयाँ सरकार गठनको पहल थालेको छ ।

३१ असार, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रदेश सभामा पेस भएको बजेट पारित गर्न सघाउन प्रस्ताव गरेका छन् । नेकपाले भने उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

बजेटमा खर्च कटौतीको प्रस्ताव फिर्ता नलिने भएपछि बुधबार शाहले एमालेबाट प्रतिनिधित्व गर्ने चार मन्त्रीलाई बर्खास्त गरेका थिए । मन्त्रीलाई बर्खास्त गरे लगत्तै उनले नेकपालाई बजेट पारित गर्न सघाउन र सत्ता सहकार्य अघि बढाउने गरी प्रस्ताव गरेका हुन् ।

तर, नेकपाले भने अहिलेको बजेट पारित गर्न सघाउन नसकिने जवाफ फर्काएको छ । ‘उहाँ (मुख्यमन्त्री) ले बोलाएपछि हाम्रा प्रतिनिधि साथीहरू छलफलमा जानुभएको थियो । यो बजेट पारित गर्न सघाउनुपर्‍यो भन्नुभयो,’ नेकपा दलका नेता खगराज भट्टले भने, ‘हामीले यो प्रस्तावमा सहयोग गर्न सकिँदैन भनेका छौँ ।’

भट्टका भनाइमा मुख्यमन्त्रीले सहकार्यको प्रस्ताव समेत राखेका छन् तर तत्काल नेकपाले शाहको प्रस्तावलाई स्वीकार गर्ने सम्भावना छैन ।

मुख्यमन्त्रीको बोलाहटमा नेकपाका सांसद मानबहादुर धामी र रमेश धामी उनीसँग छलफल गर्न पुगेका थिए । एमालेले समेत शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा नेकपाले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल थाल्ने जनाएको छ ।

‘एमालेले पनि सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिइसकेको छ । सकभर हामी उहाँहरू (कांग्रेस र एमाले) समेतलाई मिलाएर लैजाने गरी सरकारको नेतृत्वका लागि पहल गछौँ,’ दल नेता भट्टले भने ।

सरकारले ल्याएको बजेट यथास्थितीमा पारित नगर्ने एजेन्डामा एमालेसँग समदूरी भएपनि सरकार निर्माणको सवालमा भने दुवै दलसँग सहकार्यको बाटो खुल्ला रहेको उनी बताउँछन् ।

पार्टी संयोजक पुुष्पकमल दाहाल प्रचण्डले अहिलेको परस्थितीमा संघीय लोकतान्त्रिक पक्षधर शक्तिहरू एक हुनुपर्ने बताउँदै स्पष्ट निर्देशन गरेकाले आफ्नै नेतृत्वमा एमाले र कांग्रेसलाई समेट्ने प्रयास गर्ने भट्टले बताए ।

प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३/८४ को लागि १ असारमा प्रदेश सभामा पेस गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै सत्तारुढ एमालेले खर्च कटौती प्रस्ताव हालेको थियो ।

सोही विषयमा विवाद बढ्दै गएपछि मुख्यमन्त्री शाह उच्च राजनीतिक भेटघाट गर्न काठमाडौँ पुगेर फर्किएका थिए ।

काठमाडौंबाट फर्किएकै दिन शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि उसले शाहलाई दिएको समर्थन फिर्ता लिएको हो । एमालेको समर्थन फिर्ताको निर्णयपछि उनी स्पष्ट अल्पमतमा परेका छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?