News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले अमेरिकी बजारमा नेपाली वस्तुको सहुलियतपूर्ण पहुँच कायम राख्न तथा विभिन्न क्षेत्रमा लगानी बढाउन अमेरिकी सरकारसँग औपचारिक आग्रह गरेको छ ।
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको अवधि नवीकरण गर्न अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम समक्ष माग गरिन् ।
- नेपालले जलविद्युत्, पर्यटन र डिजिटल अर्थतन्त्र लगायत ६ वटा मुख्य क्षेत्रमा अमेरिकी लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण भइरहेको जानकारी गराएको छ ।
३२ असार, काठमाडौं । नेपालले अमेरिकी बजारमा नेपाली वस्तुले पाउँदै आएको सहुलियतपूर्ण पहुँचलाई निरन्तरता दिन र जलविद्युत्, प्रविधि तथा पर्यटन लगायत क्षेत्रमा लगानी बढाउन अमेरिकी सरकारसँग आग्रह गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भएको उच्चस्तरीय आर्थिक संवादमा नेपालले व्यापार सहुलियत नवीकरण र लगानी विस्तारको प्रस्ताव अघि सारेको हो ।
मन्त्री यादवले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम’ को अवधि २०२५ को डिसेम्बरमा समाप्त भइसकेको ध्यानाकर्षण गराउँदै यसलाई नवीकरण गर्न अमेरिकी सरकारको सहयोग माग गरिन् ।
यस कार्यक्रम मार्फत नेपाली उत्पादनले अमेरिकी बजारमा भन्साररहित वा सहुलियतपूर्ण प्रवेश पाउँदै आएका थिए ।
त्यसैगरी नेपाल र अमेरिकाबीचको ‘व्यापार तथा लगानी ढाँचा सम्झौता’ कागजमा मात्र सीमित नराखी नियमित संवाद मार्फत सक्रिय बनाउनुपर्नेमा नेपालले जोड दिएको छ ।
नीतिगत र कानुनी सुधार मार्फत नेपालले विदेशी लगानीकर्ताका लागि अनुकूल वातावरण निर्माण गरिरहेको जानकारी गराउँदै नेपालले अमेरिकालाई मुख्य ६ वटा क्षेत्रमा लगानी गर्न आह्वान गरेको छ ।
जसमा जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र (आईटी) छन् । यी सम्भावनायुक्त क्षेत्रमा अमेरिकी पूँजी भित्र्याउन नेपाल सरकार निकै उत्सुक रहेको मन्त्री यादवले बताइन् ।
हाल अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो, जहाँ विशेषगरी नेपाली ऊनी गलैँचा, तयारी पोसाक र पस्मिना निर्यात हुने गरेका छन् । तर, द्विपक्षीय व्यापारमा नेपालले ठूलो घाटा बेहोरिरहेको छ ।
यसलाई न्यूनीकरण गर्न अमेरिकाले नेपाललाई प्रविधि हस्तान्तरण गर्नुपर्ने र दुई देशका निजी क्षेत्रबीचको साझेदारी बलियो बनाउनुपर्ने प्रस्ताव नेपालले राखेको छ ।
नेपालले अघि सारेका व्यापार सहुलियतको निरन्तरता, टिफा संयन्त्रको सक्रियता र लगानी प्रवर्द्धनका एजेन्डामा अमेरिकी कार्यवाहक राजदूत अर्बमले सकारात्मक प्रतिक्रिया दिए ।
उनले नेपालको आर्थिक विकास र व्यापार विस्तारमा अमेरिकी सरकारको निरन्तर साझेदारी रहने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4