News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल र भारतबीच नयाँ बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई प्रारम्भिक चरणमा २२० केभी क्षमतामा सञ्चालन गर्ने सहमति भएको छ।
- ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीका अनुसार यस प्रसारण लाइनबाट १ सय ३० मेगावाट विद्युत् आयात र २ सय मेगावाट निर्यात गर्ने लक्ष्य छ।
- एमसीए-नेपाल अन्तर्गत निर्माण भइरहेको सो प्रसारण लाइनको निर्माण कार्य २०२७ भित्र सम्पन्न नभए एमसीसी परियोजनामै असर पर्ने भण्डारीले बताए।
१ साउन, काठमाडौं । नयाँ बुटवल-गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई प्रारम्भिक चरणमा २२० केभी क्षमतामा सञ्चालन गर्ने सहमति भएको छ ।
पोखरामा ३१ असारमा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औं बैठकले यस्तो निर्णय गरेको हो ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए-नेपाल) अन्तर्गत निर्माण भइरहेको उक्त प्रसारण लाइनको नेपाल खण्डको निर्माण कार्य सन् २०२६ अगस्टसम्म सम्पन्न गर्ने लक्ष्य छ ।
यस्तै नयाँ बुटवल सबस्टेसनको ४०० केभी पूर्वाधार निर्माण कार्य भने २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य तय छ ।
सबस्टेसन निर्माण सम्पन्न नभएसम्म प्रसारण लाइनलाई २२० केभी क्षमतामा सञ्चालन गर्ने प्राविधिक सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
उक्त प्रसारण लाइन मार्फत १ सय ३० मेगावाटसम्म विद्युत् आयात र २ सय मेगावाटसम्म निर्यात गर्न सकिने गरी आवश्यक कार्य अघि बढाउने सहमति भएको मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार एमसीसी कम्प्याक्ट अन्तर्गत २०२७ भित्र आयोजना सम्पन्न गर्नु नेपालका लागि अनिवार्य दायित्व हो ।
‘यदि सन् २०२७ भित्र यो प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेन भने एमसीसी परियोजनामै असर पर्ने बाध्यकारी अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘त्यसैले नेपाल खण्डको निर्माण कार्य २०२६ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।’
उनका अनुसार प्रसारण लाइनसँग सम्बन्धित प्राविधिक कार्य, टावर डिजाइन परिवर्तन लगायत विषय मन्त्रालयबाट स्वीकृत भइसकेका छन् र निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।
प्रतिक्रिया 4