News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को फाइनलमा साविक विजेता अर्जेन्टिना र स्पेन उपाधिका लागि भिड्दै छन् ।
- यो खेल अर्जेन्टिनाका लियोनल मेसी र स्पेनका उदयमान युवा स्टार लामिन यमालबीचको पहिलो प्रतिस्पर्धात्मक भिडन्तका रूपमा विश्वभर चर्चाको विषय बनेको छ ।
- १९ वर्षअघि मेसीले बच्चा यमाललाई नुहाइदिँदै गरेको तस्बिर अहिले भाइरल भएपछि दुई पुस्ताका खेलाडीबीचको यो फाइनल भेट भावनात्मक रूपमा समेत निकै अर्थपूर्ण बनेको छ ।
२ साउन, काठमाडौं । दुई फरक पुस्ताका स्टार खेलाडी, दुई फरक टिमबाट खेल्छन् । अनि ती दुवै खेलाडी फुटबलको महाकुम्भ विश्वकपमा एक आपसमा भिड्दैछन् ।
त्यो पनि चानुचने खेलमा होइन विश्वकपको फाइनलमै ।
एकातिर दुई दशकदेखि विश्व फुटबलमा राज गरेका लियोनल मेसी, अर्कोतिर नयाँ पुस्ताका सबैभन्दा चम्किला स्टार लामिन यमाल । दुई फरक पुस्ताका यी दुई खेलाडी पहिलो पटक विश्वकप फाइनलमा आमनेसामने हुँदैछन् ।
साविक विजेता अर्जेन्टिना र मेसी विश्वकपको उपाधि रक्षा गर्ने अभियानमा छ भने लगातार ३७ खेलमा अपराजित स्पेन १६ वर्षपछि उपाधि जित्ने लक्ष्यमा छ ।
दुई फरक पुस्ताका उत्कृष्ट खेलाडी मेसी र यमालको भिडन्त फिफा विश्वकप २०२६ को फाइनलमा हुने पक्का भइसकेपछि अहिले विश्वभर यसको चर्चा छ ।
यो खेल अमेरिकाको न्यु जर्सी न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा नेपाली समय अनुसार सोमबार विहान पौने १ बजे हुनेछ ।
एक सय भन्दा धेरै खेलपछि अब संसारभरका फुटबल प्रेमीले प्रतिक्षा गरेको त्यही एक मात्र खेल छ, त्यो हो अर्जेन्टिना र स्पेनबीचको फाइनल । अनि विश्वकै महान खेलाडी मेसी र उदाउँदै गरेका सुपरस्टार यमालबीचको भिडन्त ।
कस्तो होला यो खेल ? नतिजा के आउला ? मेसी र यमालमा कसले गोल गर्लान् ? अनि ट्रफी कसले उचाल्ला ? यो अन्तिम जिज्ञासा बाँकी छ र अब केही दिनमै त्यसको पनि जवाफ आउनेछ ।
त्यसअघि यहाँ मेसी र यमालको बारेमा जोडिएका केही रमाइला क्षणको चर्चा गरौं ।
फिनालिसिमा खेलमा नजुरेको भेट

मेसी र यमालको पहिलो प्रतिस्पर्धात्मक भेट २०२६ मार्चमा तय भएको फिनालिसिमाबाट हुने अपेक्षा गरिएको थियो । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरो विजेता स्पेनबीच कतारको लुसेल स्टेडियममा मार्च २७ मा खेल तय भएको थियो । तर मध्यपूर्वको सुरक्षा अवस्थाका कारण आयोजना हुन सकेन ।
युरोपका स्पेन देखि इंग्ल्यान्ड लगायत विभिन्न राष्ट्रमा उक्त खेल खेलाउनका लागि पहल भएपनि सफल हुन सकेन र रद्ध नै गरियो ।
विश्वकप फुटबलका सुपरस्टार मेसी र युवा स्टार लामिन यमालबीचको भिडन्त हेर्न दर्शकहरु उत्साहित थिए । तर फिनालिसिमा रद्ध भएपछि तत्कालका लागि मेसी र यमालको भिडन्त टरेको थियो ।
फिनालिसिमा खेल नभएपछि कुनै पनि टोली च्याम्पियन बनेन र यसको ट्रफी पनि कुनै टिमले पाएन । कुनै पनि टिमले आफ्नो ट्रफी क्याबिनेटका लागि ट्रफी पाएनन् । तर विश्वकै ठुलो स्टेजको फाइनलमा विश्वकप ट्रफीका लागि यी दुई टोली भिड्दैछन् ।
दुई फरक जेनेरेसनमा स्टार खेलाडीहरुको खेल हेर्ने समर्थकको चाहना अब भने पुरा हुने भएको छ । तर त्यो फिनालिसिमा नभई विश्व फुटबलको महाकुभ्म फिफा विश्वकप २०२६ मा । त्यो पनि चानचुने खेल होइन विश्वकपको फाइनल ।
लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र यमालको प्रेरणामा स्पेन दुवै टोली अपराजित रहँदै फाइनल पुगेका हुन् ।
अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्दैछ र उपाधि रक्षा गर्ने अभियानमा छ भने सन् २०१० पछि पहिलो पटक फाइनल पुगेको स्पेन दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छ ।
१९ वर्ष पुरानो त्यो तस्वीर र गज्जबको संयोग

मेसी र यमालबीचको सम्बन्ध विश्वकप फाइनलबाट मात्र सुरु भएको होइन । दुई खेलाडीको विश्वकप फाइनल भेट केवल दुई उत्कृष्ट खेलाडीको प्रतिस्पर्धा मात्र होइन, यसको पछाडि एउटा निकै दुर्लभ र भावनात्मक कथा पनि जोडिएको छ ।
यसको कथा १९ वर्षअघि बार्सिलोनाको एउटा च्यारिटी फोटोसुटसम्म पुग्छ । त्यतिबेला २० वर्षका मेसीले प्लास्टिकको टबमा ६ महिनाको एक शिशुलाई नुहाइदिँदै गरेको तस्बिर खिचिएको थियो । त्यो शिशु अहिलेका स्पेनिस स्टार लामिन यमाल थिए ।
दुवै खेलाडीले बार्सिलोनाको प्रसिद्ध एकेडेमी ‘ला मासिया’ बाट आफ्नो करियर अघि बढाएका थिए र दुवैले देब्रे खुट्टाले जादुमयी फुटबल खेल्छन् । अर्को रमाइलो कुरा दुवैले बार्सिलोनामा १९ नम्बरको जर्सीबाट सुरुवात गरेका थिए र पछि १० नम्बर जर्सी लगाए ।
सेमिफाइनलमा फ्रान्सलाई पराजित गरेपछि यमालले त्यो तस्वीरबारे प्रतिक्रिया दिएका थिए । ‘मैले मेसीसँग तस्बिर खिचाउँदा म निकै सानो थिएँ, अहिले म थोरै बढेको छु र लियो पनि’ उनले भने ।
यस पटक मेसी र यमाल नै विश्वकपमा आमनेसामने हुने भएपछि त्यस फोटोलाई लिएर चर्चा व्यापक बनेको हो । यतिसम्म कि युनिसेफले नै त्यो फोटो रियल (वास्तविक) भएको स्पष्ट पार्नुपर्यो ।
बहुप्रतिक्षित फाइनल
विश्वकपको फाइनल खेल । त्यसमा पनि दुई उत्कृष्ट खेलाडीबीचको भिडन्त अनि विश्व फुटबलका दुई बलिया टिम अर्जेन्टिना र स्पेनबीचको फाइनल । त्यसै पनि यो खेल बहुप्रतिक्षित हुने नै भयो ।
मेसी र यमालबीचको खेलले गर्दा पनि यो खेलको चर्चा र महत्त्व अझ बढेको छ । सेमिफाइनलमा स्पेनले अर्को उपाधि दाबेदार फ्रान्सलाई सहजै २-० ले पराजित गर्दा अर्जेन्टिनाले इंग्ल्यान्ड विरुद्ध २-१ को शानदार पुनरागमन जित हात पारेको थियो ।
फिनालिसिममा नजुरेको मेसी र यमालको भेट ठूलो फाइनलमा हुँदैछ । जसले गर्दा पनि यो फाइनलको कथा फरक छ ।
त्यसमाथि दुई फरक जेनेरेसनका स्टार मेसी र यमालबीचको यो पहिलो भेट समेत हुनेछ ।
एकातिर दुई दशक विश्वकप फुटबलमा राज गरिसकेका आइकन मेसी अर्कोतिर आउँदै गरेको जेनेरेसनको प्रतिनिधित्व गर्ने युवा स्टार । समर्थकहरुका लागि पक्कै पनि यो खेल हेर्नलायक हुनेछ ।
फाइनल व्यक्तिगत प्रतिस्पर्धामा मात्र सीमित रहने छैन । अर्जेन्टिनाका लियोनल स्कालोनी र स्पेनका लुइस डे ला फुएन्टेबीचको रणनीतिक लडाइँ पनि उत्तिकै रोचक हुनेछ ।

अर्जेन्टिनाले अनुभव र संक्रमण आक्रमणमा भरोसा राख्नेछ भने स्पेन बल पोजिसन, उच्च प्रेसिङ र तीव्र पासिङ खेलमार्फत खेल नियन्त्रण गर्ने प्रयासमा हुनेछ ।
एकातिर करिअरको अन्तिम विश्वकप खेलिरहेका मेसी छन्, जसले अर्को ऐतिहासिक उपाधिसँगै आफ्नो विरासत अझ उचाइमा पुर्याउने लक्ष्य राखेका छन् ।
अर्कोतिर १९ वर्षीय युवा स्टार यमाल छन्, जो विश्व फुटबलको नयाँ युगको अनुहार बन्ने दाउमा छन् । अनुभव र युवाशक्तिको यो बहुप्रतिक्षित टक्करमा अन्तिम मुस्कान कसको हुनेछ भन्ने निर्णय अब मेटलाइफ स्टेडियमको मैदानले गर्नेछ ।
फुटबल इतिहासमै सर्वकालीन महान खेलाडीको रुपमा स्थापित हुँदै गरेका मेसिले सन् २०२२ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।
विश्वकपमा ८ गोल र ४ असिस्ट गरेका मेसी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् र गोल्डेन बुट र गोल्डेन बल दुवैका प्रमुख दाबेदार बनेका छन् ।
यमालको प्रभाव गोलभन्दा धेरै ठूलो देखिएको छ । उनले १ गोल मात्र गरेपनि स्पेनको आक्रमण निर्माण, अवसर सिर्जना र विपक्षी रक्षापङ्क्ति भत्काउने भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका छन् र टिमको महत्वपूर्ण हिस्सा बनिसकेका छन् ।
प्रतिक्रिया 4