News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गई बेपत्ता भएका महिलाहरू सकुशल आफ्नो परिवारको सम्पर्कमा आएका छन्।
- बाटो बिर्सिएका कारण जंगलमा हराएका महिलाहरू मध्याह्न १२ बजेर १५ मिनेट जाँदा परिवारको सम्पर्कमा आएको वडाध्यक्ष जगुराम थारू चौधरीले जानकारी दिएका छन्।
- आइतबारदेखि बेपत्ता भएका अन्य तीन महिलालाई पनि नेपाली सेनाको टोलीले उद्धार गरी सोमबार बिहान परिवारको जिम्मा लगाइसकेको छ।
४ साउन, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा आएका छन् ।
भीमदत्त नगरपालिका–१९ का अध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैं परिवारको सम्पर्कमा आएका हुन् ।
वडाध्यक्ष चौधरीका अनुसार उनीहरू च्याउ टिप्दै जाँदा बाटो बिर्सिएको र रातभर जंगलमै बास बसेपछि आज घर फर्किएका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र प्रवेश गरेका दशरथ टोलका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका थिए ।
उनीहरू ९ जना र ५ जनाको दुई समूहमा विभाजन भई च्याउ खोज्न जंगल पसेका थिए। आइतबार बिहान करिब ११ बजेतिर निकुञ्ज प्रवेश गरेका उनीहरू बेलुकीसम्म सम्पर्कमा नआएपछि स्थानीयवासी र प्रहरीले रातिदेखि नै खोजी कार्य सुरु गरेका थिए।
नेपाल सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य गरिरहेका बेला महिलाहरू आफैं सुरक्षित रूपमा घर पुगेका हुन् ।
परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका लागि प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।
यसैगरी आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई पनि नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।
उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको नेपाली सेनाले जनाएको छ ।
निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न गएका तीन जना महिला सम्पर्कविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।
प्रतिक्रिया 4