+
+
Shares

महँगा होटल-रेस्टुरेन्टका दरिद्र भान्सा

महँगो बिल तिरेर रोग किन्दै उपभोक्ता

खाद्य प्रविधि विभाग, वाणिज्य विभाग र स्थानीय प्रशासनले गरेको देशव्यापी ‘आकस्मिक र्‍यापिड रेस्पोन्स’ अनुगमन नतिजा हेर्ने हो भने अधिकांश होटल र रेस्टुरेन्टले उपभोक्तालाई परिकारका नाममा ‘मन्द विष’ खुवाइरहेको तथ्य सार्वजनिक भएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ साउन ४ गते २१:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभरका होटल तथा रेस्टुरेन्टमा गरिएको अनुगमनमा अखाद्य तेल, म्याद गुज्रेका सामग्री र फोहोर भान्सा भेटिएपछि प्रशासनले लाखौँ रुपैयाँ जरिबाना असुल गरेको छ ।
  • गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीविरुद्ध कडा कानुनी कारबाही गर्न र गुनासो सुन्ने संयन्त्र स्थापना गर्न निर्देशन दिएको छ ।
  • रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले भान्सामा सुधारको खाँचो रहेको स्वीकार गर्दै व्यवसायीलाई तालिम र सचेतनाका कार्यक्रममा जोड दिन सरकारसँग माग गरेको छ ।

४ साउन, काठमाडौं । बाहिरबाट हेर्दा होटल तथा रेस्टुरेन्टका बोर्ड झकिझकाउ छन् । मेनुमा लोभलाग्दा परिकारका नाम सजिएका छन् । तपाईं सपरिवार त्यहाँ पुग्नुहुन्छ र मिठा खानेकुरा अर्डर गर्नुहुन्छ । तर, तपाईंलाई थाहा छ- तपाईंको अगाडि सजिएर आएको त्यो परिकार बन्ने भान्सा, परिकार बनाउन प्रयोग गरिने खाद्यवस्तुको असली रूपरङ कस्तो छ ?

कतै तपाइँले महँगो मूल्य तिरेर अखाद्यवस्तु खाइरहनुभएको त छैन ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र स्थानीय प्रशासनले हालै गरेको देशव्यापी ‘आकस्मिक र्‍यापिड रेस्पोन्स’ अनुगमन नतिजा हेर्ने हो भने अधिकांश होटल र रेस्टुरेन्टले उपभोक्तालाई परिकारका नाममा ‘मन्द विष’ खुवाइरहेको तथ्य सार्वजनिक भएको छ ।

अनुगमन क्रममा काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लामा गरिएका यस्ता व्यवसायबाट मात्रै लाखौं रुपैयाँ जरिबाना असुल गरिएको छ भने सयौँ किलो अखाद्य वस्तु नष्ट गरिएको छ ।

काठमाडौंका ‘हाइफाइ’ भान्साभित्रको फोहोर

काठमाडौं न्युरोडस्थित कर्नर प्वाइन्ट रेस्टुरेन्ट एन्ड बारको भान्सामा सरकारी अनुगमन टोली पुग्दा पिज्जा बेस बनाउन प्रयोग गरिने तेलमा मरेको साङ्लो तैरिरहेको भेटिएको थियो ।

म्याद गुज्रिएको फ्रुट सिरप प्रयोग गरेर जनस्वास्थ्यमाथि खेलबाड गरेबापत वाणिज्य विभागले उक्त रेस्टुरेन्टलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिरायो ।

यस्तै भक्तपुर मध्यपुर थिमिको ‘जिरे खुर्सानी दरबार रेस्टुरेन्ट’ को भान्सामा असुरक्षित तरिकाले ढुवानी गरिएको मासुले प्रयोगशाला परीक्षणमै हानिकारक सूक्ष्म जीवाणु रहेको पुष्टि गर्‍यो । करिब १४ किलो काँचो मासु, ५ किलो तन्दुरी र स्रोत नखुलेको १८ किलो मासु फेला परेपछि रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइयो ।

यता, काठमाडौं दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड रेस्टुरेन्ट’ मा साँघुरो भान्सामा म्याद गुज्रेका कृत्रिम रङ र लेमन साल्ट भेटियो । चण्डोलस्थित ‘एक्सप्रेस इट्स’ मा म्याद गुज्रेको चाउमिन मात्र भेटिएन, खाना पकाउने तेलको अवस्था जाँच्दा टोटल पोलार मेटरियल (टीपीएम) ३८ प्रतिशत पुगेको पाइयो ।

मानव स्वास्थ्यका लागि यो स्तरको तेल अत्यधिक हानिकारक (क्यान्सरकारक) मानिन्छ । टोलीले तत्काल खराब तेल नष्ट गरेको थियो ।

काभ्रेमा पनि चरम लापरबाही

राजमार्गका होटलहरूको अवस्था झनै कहालीलाग्दो छ । काभ्रे नमोबुद्ध नगरपालिकामा अनुगमन गर्दा ७ वटा व्यवसायबाट मात्रै ३ लाख रुपैयाँ जरिबाना असुल भएको छ ।

नमोबुद्ध–७ स्थित ‘रोयल म:म एन्ड नेवारी खाजा घर’ ले डेढ वर्षदेखि दर्ता नै नगरी व्यवसाय चलाइरहेको पाइयो । त्यसमा पनि भान्सामा झिँगा भन्किएको थियो भने साङ्लाको कुदाकुद थियो । अझै काँचो मासु र सलाद काट्न एउटै चपिङ बोर्ड प्रयोग गरिएको थियो । उक्त खाजा घरलाई २ लाख ५० हजार रुपैयाँ जरिबाना गरियो ।

सोही क्षेत्रको ‘नेवारी खाजा एन्ड भान्सा घर’ लाई फोहोर भान्सा र म्याद नाघेका सामग्री राखेको भन्दै २५ हजार तथा ‘उत्सव चिकेन हाउस’ लाई १५ हजार जरिबाना गरियो ।

यस्तै म्याद नाघेको कृत्रिम रङ प्रयोग गरी केक बनाउने ‘लोटस बेकरी’ लाई सरसफाइ सुधार्न निर्देशन दिइएको छ ।

सर्लाहीको भयावह चित्र : ५० प्रतिशत टीपीएमदेखि झिँगायुक्त मिठाईसम्म

मधेस प्रदेश सर्लाहीको बरहथवास्थित विद्यानन्द साहको दर्ता नभएको नास्ता पसलमा १५ किलो रसवरी (मिठाई) भित्र मरेका झिँगा र मौरी फेला परेपछि टोलीले तत्काल अखाद्य मिठाई नष्ट गर्‍यो ।

सर्लाहीकै मलंगवास्थित न्यु अन्नपूर्ण होटल र हरिवनको सम्राट स्टाफलाइन होटलमा प्रयोग भइरहेको फ्राइङ तेलको टीपीएम मापन गर्दा ५० प्रतिशत पुगेको देखियो ।

सामान्यतया टीपीएम २५ प्रतिशतभन्दा माथि पुगेपछि त्यो तेल विषसरह हुन्छ । यसैगरी बरहथवा बर्गर हाउस र होटल अन्नपूर्णको तेलको टीपीएम २९ प्रतिशत तथा लभ्ली स्विट एन्ड साल्टको २२.८ प्रतिशत पाइएपछि जनही १५ देखि २० हजारसम्म जरिबाना तिराइएको थियो ।

लालबन्दीको लालबन्दी युनाइटेड होटल, बागमतीको सीता प्यालेस होटल र हरिवनको सीता प्यालेस होलिडे इनजस्ता ठूला होटललाई फोहोर भान्सा, कुहिएका तरकारी र म्याद गुज्रेका सामग्री राखेको भन्दै जनही १–१ लाख रुपैयाँ जरिबाना गरिएको छ । मलंगवाको कुसुम होटल एन्ड पार्टी प्यालेसले म्याद नाघेका चाउमिन र म:म बेचेकोमा १ लाख ५ हजार जरिबाना तिरेको छ ।

मलंगवाकै होटल नवरङ, महेन्द्र होटल, होटल पञ्चवटी, न्यु हार्ट अफ मलंगवा र बेम्बो कटेजलाई अखाद्य रङ प्रयोग गरेको, म्याद गुज्रेका सामान राखेको र सरसफाइ नगरेको भन्दै भान्सा सुधार्न र कृत्रिम रङ प्रयोग बन्द गर्न अन्तिम चेतावनी दिइएको छ ।

चितवनमा ९ असारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन चलिरहेका बेला  त्यहाँको लर्ड्स होटलमा गृहमन्त्री सुधन गुरुङले खाँदै गरेको अम्लेटमा माछाको काँडा भेटिएको थियो ।

गृहमन्त्रीलाई नै गुणस्तरहीन खाना खुवाएपछि सोही दिन जिल्ला प्रशासन कार्यालयले उक्त होटलमा आकस्मिक अनुगमन गरी कैफियत भेटिएपछि ३ लाख रुपैयाँ जरिबाना समेत तिराएको थियो ।

यी त केही प्रतिनिधि घटनामात्र हुन् । अहिले पनि यस्ता कैफियत भेटिने क्रम जारी छ ।

होटल तथा रेस्टुरेन्टहरूले बासी, सडेगलेका र अखाद्य वस्तु खुवाएर नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको गुनासो देशैभरिबाट उठ्न थालेपछि गृह मन्त्रालय नै ‘एक्सन’ मा उत्रिएको छ ।

बजार अनुगमन देखावटी र प्रक्रियामुखी मात्र भएको, तर परिणाम नआएको भन्दै गृह मन्त्रालयले १५ असारमा देशभरिका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई परिपत्र गर्दै हदैसम्मको कानुनी कारबाही गर्न कडा निर्देशन दिएको छ ।

मन्त्रीस्तरको निर्णयबाट जारी गरिएको उक्त निर्देशनमा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पुर्‍याउने वा कानुन उल्लंघन गर्ने जुनसुकै पक्षलाई नछाड्न निर्देशन दिइएको छ ।

होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर र स्वच्छताका सम्बन्धमा नियमित, सघन र आकस्मिक अनुगमन गर्न र अनुगमन केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन भनिएको छ ।

यस्तै उपभोक्ताले अखाद्य वस्तु भेट्दा कहाँ उजुरी गर्ने भन्ने अन्योल अन्त्य गर्न गृहले सबै सीडीओ कार्यालयमा तत्कालै ‘गुनासो सुनुवाइ संयन्त्र’ (हटलाइन वा द्रुत सेवा डेस्क) स्थापना गर्न निर्देशन दिएको छ ।

नागरिक स्तरबाट प्राप्त हुने यस्ता गुनासा प्रशासनले ‘उच्च प्राथमिकता’ मा राखेर तत्काल समाधान गर्नुपर्ने छ ।

रेस्टुरेन्टको भान्सामा सुधारको खाँचो छ : रेबान

पछिल्लो समय बजार अनुगमन क्रममा रेस्टुरेन्टहरूको भान्सामा साङ्ला, झिँगा र अखाद्य तेल भेटिएका घटना सार्वजनिक भएपछि रेस्टुरेन्ट व्यवसायीहरूको छाता संगठनले भान्सामा सुधारको खाँचो रहेको स्वीकार गरेको छ ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) ले उपभोक्ताको स्वास्थ्यप्रति आफूहरू गम्भीर रहेको बताउँदै व्यवसायमा देखिएका कमी–कमजोरी सुधार्न व्यवसायी तयार रहेको बताएको छ ।

रेबानका महासचिव शरदकुमार दाहालले अनुगमनमा देखिएका कैफियतप्रति व्यवसायीहरू आफैं पनि चिन्तित रहेको बताए ।

‘भान्सामा अखाद्य रङ प्रयोग, तेलको मापदण्ड नपुगेको, साङ्ला र झिँगा भेटिएका जस्ता जुन कैफियत बाहिर आएका छन्, त्यसमा हामी पनि चिन्तित छौं,’ महासचिव दाहालले भने, ‘हामी सबै व्यवसायी यी कमजोरी सुधार गर्न चाहन्छौं, तर त्यसका लागि सरकारले सुधार्ने मौका र वातावरण बनाइदिनुपर्छ ।’

महासचिव दाहालले खाद्य स्वच्छता र मापदण्डका विषयमा धेरै व्यवसायीलाई पर्याप्त जानकारी नै नभएको भन्दै सरकारले अनुगमनअघि सचेतना जगाउनुपर्ने आवश्यकता औँल्याए ।

‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई हामीसँग मिलेर व्यवसायीलाई तालिम र सचेतनाका कार्यक्रम गरौं भनेर बारम्बार भन्दै आएका छौं,’ उनले भने, ‘सरकारले स्पष्ट मापदण्ड के–के हुन्, त्यो हामीलाई दिनुपर्छ, सचेत गराएर मात्र अनुगमनमा जाँदा समग्र क्षेत्रको सुधार हुन्छ ।’

रेबानले अनुगमनमा जाँदा व्यावसायिक छाता संगठनका प्रतिनिधिलाई पनि सँगै लैजान सरकारसँग माग गरेको छ । पहिलो र दोस्रो पटक सचेत गराउँदा पनि गल्ती दोहोर्‍याउने व्यवसायीलाई भने जस्तोसुकै कारबाही गर्न पनि रेबानको सहमति रहने दाहालले बताए ।

‘हाम्रो भनाइ यत्ति हो, जो–जसकोमा कैफियत भेटिएको छ, उनीहरूलाई एक–दुई पटक चेतावनी दिऔं,’ दाहालले भने, ‘त्यसपछि पनि कैफियत बारम्बार दोहोरिन्छ भने जे दण्ड सजाय दिनु छ, त्यो भोग्न सबै व्यवसायी तयार हुनैपर्छ, त्यसमा हामी स्वीकार गर्छौं ।’

आफ्नो व्यवसायप्रति व्यवसायी जिम्मेवार हुनुपर्छ : खाद्य विभाग

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रवक्ता डा. बालकुमारी शर्माले उजुरी आधारमा ‘आकस्मिक र्‍यापिड रेस्पोन्स’ मोडालिटीमा देशव्यापी अनुगमन थालिएको बताइन् ।

‘कैफियत भेटिएका कसैलाई पनि छाडिएको छैन, लाखौं जरिबानादेखि अखाद्य वस्तु नष्ट गर्नेसम्मका काम भएका छन्,’ उनले भनिन् ।

उनले आफ्नो व्यवसायप्रति व्यवसायी पूर्ण जिम्मेवार हुनुपर्ने बताइन् । साथै, घरको भान्साजस्तै रेस्टुरेन्टको भान्सा सफा राख्नेजस्तो आधारभूत कुरामा पनि व्यवसायीले ‘तालिम नपाएको’ भनेर पन्छिन नपाउने उनको भनाइ छ ।

उनका अनुसार काठमाडौं महानगरपालिकासँग सम्झौता नै गरेर सातामा एकदिन नियमित अनुगमन भइरहेको छ । र, वाणिज्य विभाग, जिल्ला प्रशासन तथा उपभोक्ताकर्मीसँग पनि निरन्तर समन्वय भई दैनिक अनुगमन भइरहेको उनले बताइन् ।

व्यवसायीले मापदण्ड र तालिम अभाव रहेको गुनासो गरे पनि विभागले भने बारम्बार तालिम र सचेतनाका कार्यक्रम गरिरहेको जनाएको छ । प्रवक्ता शर्माका अनुसार खाद्य स्वच्छताको सामान्य कुरा अपनाउन कुनै ठूलो प्रविधि आवश्यकता पर्दैन ।

‘हामीले वर्षमा दुई–तीन पटक व्यवसायीलाई बोलाएरै अन्तर्क्रिया र तालिम दिइरहेका छौं, तर खाना पकाउने ठाउँ र भाँडा माझ्ने ठाउँ एउटै नबनाऔं, खानेकुरा छोपेर राख, फोहोरदानीमा ढकनी लगाऊ भन्नका लागि छुट्टै तालिम नै चाहिन्छ र ?,’ शर्माले भनिन्, ‘यो त आफ्नै घरमा पनि अपनाइने सामान्य सरसफाइको कुरा हो नि ।’

पछिल्लो समय बजार अनुगमन क्रममा देशभरिकै विभिन्न होटल तथा रेस्टुरेन्टमा अखाद्य वस्तु र चरम लापरबाही फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसको नियमन कडाइ गर्दै व्यवसायीलाई पालना गर्नुपर्ने सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको बताएको छ ।

मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्तबहादुर केसीले बजारमा देखिएका अखाद्य वस्तु प्रयोग र अस्वस्थकर वातावरणप्रति मन्त्रालय गम्भीर रहेको बताए ।

‘खानेकुराको उत्पादन र बिक्री–वितरण गर्नेहरूले राज्यले तोकेका नियम पूर्णरूपमा पालना गर्र्नुपर्छ,’ उनले भने, ‘नागरिकका तर्फबाट आउने जुनसुकै उजुरी र गुनासो समाधान गर्न हामी तयार छौं, मन्त्रीज्यूले पनि यसलाई एकदमै नजिकबाट हेरिरहनुभएको छ र आवश्यक निर्देशन पनि दिइरहनुभएको छ ।’

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?