+
+
Shares

पहिरोको जोखिममा शहीद मार्ग

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ साउन ५ गते ८:०८

५ साउन, रोल्पा । दाङको घोराहीदेखि रोल्पाको होलेरी,दार्बोट,थबाङ हुँदै रुकुमको मैकोटसम्म जोडिएको शहीदमार्ग समयमै स्तरोन्नति र व्यवस्थित नहुँदा नागरिकले सास्ती भोग्न बाध्य भएका छन् । रोल्पा र रुकुमका नागरिकले हिउँदको समयमा धुलाम्य र बर्खामा हिलाम्य सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

बर्खा सुरु भएसँगै  यतिबेला शहीद मार्ग पहिरोको जोखिम रहेको छ । बर्खाको समयमा शहिदमार्गअन्तर्गत परिवर्तन गाउँपालिका-१ कुरेलीको लितुङ,खोलाबाङ र लिक्याङ खरिबोट खण्डमा धेरैपटक पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय प्रवीणकुमार बुढा मगरले जानकारी दिए । बुढा मगरका अनुसार उक्त स्थान पहिरोको उच्च जोखिम रहेको छ ।

रुकुमकोटबाट थबाङ हुँदै दाङ घोराही आवतजावत गर्ने सवारी साधनसमेत रोकिने गरेको इलाका प्रहरी कार्यालय कुरेलीले जनाएको छ । प्रहरीका अनुसार पहिरोको जोखिम भएकोले रातिको समयमा यातायात आवतजावतमा रोक लगाइएको छ। शहीद मार्गअन्तर्गत थबाङ,परिवर्तन,माडी,रोल्पा नगरपालिका,त्रिवेणी र रुन्टिगढी गाउँपालिका पर्ने गर्दछ ।

दाङको घोराही र रोल्पाको होलेरी खण्डमा केही वर्षयता कालोपत्रसमेत उत्रिएर उक्त सडक जिर्ण बनेको छ । धेरै ठाउँमा यो सडक कच्ची नै रहेको छ । कच्ची सडकमा दिनमा दर्जनौं टिपर गुड्ने भएकोले पनि थप बिग्रिएको छ ।

विसं २०६४/०६५ बाट निर्माणको काम सुरु गरिएको शहीदमार्गको काम हालसम्म पनि सकिएको छैन । भौगोलिक विकटताका कारण पनि निर्माणमा ढिलाइ भएको हो । यो सडक दाङको घोराहीदेखि रुकुमपूर्वको तकसेरा मैकोटसम्म २२० किलोमिटर रहेको छ । दाङ घोराहीदेखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै रुकुम पूर्वको तकसेरा–मैकोट हुँदै डोल्पासम्म जोड्ने लक्ष्य राखेको छ ।

शान्ति प्रक्रियापछि सहिदमार्गको कामले गति लिने अपेक्षा राखिए पनि हालसम्म धेरै परिवर्तन हुन नसकेको स्थानीयको चरम गुनासो छ । अहिलेसम्म होलेरी दार्बोट खण्डमा स्तरोन्नति र कालोपत्रको काम भएको छ । दार्बोट,घर्तीगाउँ खण्डमा काम भएपनि घर्तीगाउँ दुइखोली खण्डमा काम सनतोषजन नभएको गुनासो छ । चप्का,बागमारा,चुन्बाङ हुँदै रुकुमकोट जोड्ने खण्डमा र दुईखोली,थबाङ खण्डमा समेत भनेको जस्तो काम हुन सकेको छैन।

शहीदमार्ग अन्तर्गत दाङको घोराही–होलेरी खण्डको सडकमा कालेपत्रे भए पनि कालोपत्रे गरिएको सडकमा अहिले कालोपत्रेको नामोनिसान छैन । कालोपत्रे उप्किएर उक्त भागमा पनि अहिले नागरिकले हिउँदमा धुलाम्य र बर्खाको समयमा हिलाम्य यात्रा गर्न बाध्य छन् । कमसल कालोपत्रे र सिमेन्ट उद्योगका टिप्परले सडकको पारवहन क्षमताभन्दा बढी चुनढुंगा ओसार्ने गरेको पाइन्छ ।

सडकको अवस्था जिर्ण भएपछि स्थानीय नागरिकहरुले  सडक नै साँच्चिकै शहीद जस्तो भएको बताउने गरेका छन् । पछिल्लो समय शहीद मार्गमा सवारी दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

बर्खाको समयमा बाढीपहिरो आउने भएकोले  हिउँदमा सुधार गरेको सडक बर्खामा उस्तै हुने गरेको शहीदमार्ग योजनाका योजना प्रमुख माधव प्रसाद अधिकारीले बताए । ‘अहिले शहीद मार्गमा पहिरो झर्ने क्रम जारी छ,त्यहीँ हाम्रो मेसिन पनि रहेकोले दिनमा यातायात अवरुद्ध हुने समस्या छैन’, उनले भने ।

यता जिल्ला प्रशासन कार्यालयले भने बर्खाको समय सुरु भएकोले रातको समयमा यात्रा नगर्न नागरिकलाई आग्रह गरेको छ । ‘बर्खाको समयमा कतिबेला के हुन्छ,त्यो कसैलाई थाहा हुँदैन,त्यसैले अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस् भनेर आग्रह गरेका छौं’, प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?