News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ आगामी साउन १२ र १३ गते हुने भएको छ ।
- संसदीय सुनुवाइ विशेष समितिले १२ गते दुई जना आयुक्त र १३ गते प्रस्तावित प्रमुख आयुक्तलाई प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको छ ।
- संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।
५ साउन, काठमाडौं । निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरुको संसदीय सुनवाइ आगामी १२ र १३ गते हुने भएको छ ।
समितिको आजको बैठकले १२ गते प्रस्तावित दुई जना आयुक्तहरुको र १३ गते प्रस्तावित प्रमुख आयुक्तलाई प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको छ । यो जानकारी समिति सभापति वोधनारायण श्रेष्ठले दिएका हुन् । दुवै बैठक बिहान ११:१५ बजे बोलाइएको छ ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ ।
सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघि प्रस्तावित आयुक्त र प्रमुख आयुक्तहरुमाथि परेका उजुरीहरु र कार्ययोजनाको अध्ययन गरिने छ । त्यससँग सम्बन्धित डकुमेन्टहरु समिति सदस्यहरुलाई इमेलमा पठाइने सभापति थापाले बताए ।
प्रतिक्रिया 4