News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको लालीगुराँस नगरपालिका-१ मा सञ्चालित भुल्के सामुदायिक होमस्टे अर्गानिक खाना र मौलिक संस्कृतिले पर्यटकको रोजाइमा परेको छ ।
- स्थानीय १७ जनाको सामूहिक लगानीमा १० महिनाअघि सुरु भएको यस होमस्टेले समुदायको एकता र आर्थिक विकासमा सघाउ पुर्याएको छ ।
- होमस्टेकी अध्यक्ष लिलामाया गुरुङले भनिन्, 'यहाँको उद्देश्य केवल व्यवसाय होइन, गाउँको पहिचान जोगाउँदै अतिथिलाई आत्मीय अनुभव दिनु हो ।'
५ साउन, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-१ मा रहेको भुल्के सामुदायिक होमस्टेले अर्गानिक स्वाद र मौलिक रैथाने संस्कृतिले पर्यटकलाई आकर्षक गर्न थालेको छ। पहाडी भूगोलको काखमा अवस्थित यस स्थानमा स्थापित होमस्टे छोटो समयमै स्थानीय तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। आधुनिक सुविधा र विदेशी स्वादले भरिएका होमस्टेहरूको भीडबीच भुल्केले आफ्नै मौलिकता, परम्परा र अर्गानिक जीवनशैलीलाई अँगालेर फरक पहिचान बनाएको छ ।
करिब दश महिना अघि स्थानीय १७ जनाको सामूहिक लगानीबाट सुरु गरिएको यो होमस्टे केवल व्यवसायिक प्रयास मात्र नभइ सामुदायिक एकताको उत्कृष्ट उदाहरण पनि हो । तीनजुरे-मिल्के-जलजले क्षेत्रको प्रवेशद्वार वसन्तपुरबाट करिब ३ किलोमिटर दूरीमा अवस्थित भुल्के, मध्यपहाडी लोकमार्ग नजिकै भएकाले यहाँ पुग्न सहज र छिटो छ । यात्राको सहज पहुँचले पनि यहाँ पर्यटक आगमन बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
भुल्के होमस्टेको सबैभन्दा ठूलो विशेषता यसको अर्गानिक खानपान हो । यहाँ पाहुनालाई परोसिने परिकारहरू केवल पेट भर्ने माध्यम मात्र होइनन् । गाउँको जीवनशैली र संस्कृतिको स्वाद पनि हुन्। कोदोको ढेडो, मकैको चामल, सिस्नुको तरकारी, गुन्द्रुक र लोकल भालेजस्ता परिकारहरू पाहुनाको विशेष रोजाइमा पर्छन्। यी सबै सामग्री घरमै उत्पादन गरिएका हुन्छन् ।
होमस्टेकी अध्यक्ष लिलामाया गुरुङका अनुसार यहाँ आउने पाहुनालाई अर्गानिक खानाको स्वादसँगै घरबासको सहज र आत्मीय व्यवस्था प्रदान गरिन्छ । ‘हामीले एकै पटकमा सयभन्दा बढी पाहुनालाई बस्न मिल्ने व्यवस्था गर्दैछौं’, उनी भन्छिन्, ‘यहाँको उद्देश्य केवल व्यवसाय होइन, गाउँको पहिचान जोगाउँदै अतिथिलाई आत्मीय अनुभव दिनु हो ।’
होमस्टेको व्यवस्थापनमा पनि सामूहिकता स्पष्ट झल्किन्छ । प्रत्येक महिनाको ६ गते नियमित बैठक बस्ने र सामूहिक बचत गर्ने अभ्यासले यसलाई अझ व्यवस्थित बनाएको छ । सहसचिव सिसम गुरुङका अनुसार बचत गरिएको रकमबाट आवश्यक सामग्री थप्दै होमस्टेलाई क्रमिक रूपमा विस्तार गरिँदैछ । यसले आर्थिक सुदृढीकरणसँगै सदस्यबीचको सहकार्य र विश्वासलाई पनि मजबुत बनाएको छ ।
भुल्केमा पुग्ने जो-कोही पाहुनाले यहाँको स्वागत शैलीबाट नै फरक अनुभूति गर्छन्। फूलमाला लगाएर गरिने स्वागत, मिठो मुस्कान र आत्मीय व्यवहारले पाहुनालाई आफ्नै घरमा पुगेको अनुभूति गराउँछ । गुरुङ समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली र सांस्कृतिक झल्कोले होमस्टेलाई अझ आकर्षक बनाएको छ ।
दमकबाट आएका पर्यटक नविनकुमार पाठक भन्छन्, ‘यहाँको अर्गानिक खाना, स्थानीय परम्परा र आत्मीय सत्कार साँच्चै अविस्मरणीय छ ।’ यस्तो अनुभवले भुल्केलाई बारम्बार सम्झिने गन्तव्य बनाएको छ ।
भुल्केमा बस्ने पर्यटकहरूका लागि वरपरका पर्यटकीय गन्तव्यहरू पनि थप आकर्षण हुन्। चोत्लुङ, आरआर गार्डेन, तीनजुरे, पाथिभरा मन्दिर, पाँचपोखरी, चौकी मंगलबारे, गुफापोखरी, लसुने बजारको धनरूपा पार्क तथा म्याङलुङ बजार जस्ता स्थलहरू सजिलै पुग्न सकिने दूरीमा छन्। यसले भुल्केलाई केवल बसोबासको स्थान मात्र नभई घुमफिरको केन्द्रका रूपमा पनि स्थापित गरेको छ ।
विशेषगरी गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकहरूको चाप अत्यधिक हुन्छ । यस समयमा नजिकका होटलहरू भरिँदा बस्न समस्या हुने अवस्था रहँदै आएको थियो । तर, भुल्के सामुदायिक होमस्टे सञ्चालनमा आएपछि पर्यटकलाई ठूलो राहत मिलेको छ ।
अहिले भुल्के सामुदायिक होमस्टे केवल पाहुना बसाल्ने थलो मात्र नभई तेह्रथुमको पर्यटन विकासको नयाँ आधारका रूपमा अघि बढिरहेको छ । अर्गानिक स्वाद, सांस्कृतिक संरक्षण, सामुदायिक सहकार्य र प्राकृतिक सौन्दर्यताले विशेष बनाएको छ ।
प्रतिक्रिया 4