+
+
Shares

राहुल गान्धीको माग- प्रदर्शनमा विद्यार्थी कुटिएको घटनामा नरेन्द्र मोदीले माफी माग्नुपर्छ

‘यो कुटपिट गृहमन्त्रीले गरेको हो, अमित शाहले राजीनामा दिनुपर्छ’

सोमबार नयाँ दिल्लीमा कक्रोच जनता पार्टी(सीजेपी)ले आयोजना गरेको प्रदर्शनमा सहभागीमाथि प्रहरीले ठूलो दमन गरेको थियो । प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १५:१३

५ साउन, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि गरेको लाठीचार्जका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी गर्नुपर्ने माग गरेका छन् ।

मंगलबार लोकसभा संसद् परिसरमा पत्रकारसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षका नेता गान्धीले प्रधानमन्त्री मोदीले विद्यार्थीसँग माफी माग्नुपर्ने बताएका हुन् ।

सोमबार नयाँ दिल्लीमा कक्रोच जनता पार्टी(सीजेपी)ले आयोजना गरेको प्रदर्शनमा सहभागीमाथि प्रहरीले ठूलो दमन गरेको थियो । प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । जसको अहिले भारतमा तीव्र विरोध भइरहेको छ ।

गान्धीले विद्यार्थीका मुद्दा संसद्मा छलफल गर्न पनि सरकार बच्न कोसिस गरिरहेको बताएका छन् ।

‘हामीले लोकसभाको सभामुखसँग छलफल गरेर संसद्मा विद्यार्थीका मुद्दामाथि छलफल गराउन माग गर्‍यौं,’ पत्रकारसँग गान्धीले भने, ‘तर, सभामुखले भन्नुभयो–चर्चा गराउनका लागि सरकारको स्वीकृति लिनुपर्छ ।’

अहिले भारतमा उठिरहेका मुद्दा विद्यार्थीको भविष्यसँग जोडिएको उनले बताए । ‘विद्यार्थीलाई मारपिट भइरहेको छ, यो ठीक होइन । नरेन्द्र मोदीले यसका लागि माफीसम्म मागेका छैनन् । यी युवा ध्वस्त भइसकेको शिक्षा व्यवस्था र परीक्षा प्रणालीविरुद्ध प्रदर्शन गरिरहेका छन्,’ उनले भनेका छन् ।

उनले यसमा प्रधानमन्त्री मोदीले माफी माग्न र विद्यार्थीमाथिको कुटपिटको सिलसिला बन्द गर्न माग गरेका छन् ।

यस्तै, शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले विद्यार्थीमाथि कुटपिट नगरेको बताउँदै उनले गृहमन्त्री अमित शाहले गरेको दाबी गरे । यही कारण गृहमन्त्री शाहले राजीनामा दिनुपर्ने उनको माग छ ।

गान्धीले मंगलबारै सीजेपीको प्रदर्शनका घाइतेसँग अस्पताल पुगेर भेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?