News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्धको भ्रष्टाचार मुद्दा मुल्तवीमा राख्न अस्वीकार गरेको छ ।
- अदालतले महत स्वयं उपस्थित भएपछि स्वास्थ्य अवस्था हेरेर मात्र कानुन बमोजिम उपयुक्त आदेश हुने जनाएको छ ।
- अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित महतसहित ५६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
५ साउन, काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री डा. रामशरण महतविरुद्धको भ्रष्टाचारको मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरेको छ ।
विशेष अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दा मुल्तवीमा राख्न अस्वीकार गरेको हो ।
डा. महत गम्भीर मानसिक रोगबाट पीडित भई अशक्त भएको र उनको स्मरणशक्ति हराएको भन्दै उनकी पत्नी रोशनाले मुद्दालाई मुल्तवीमा राख्न निवेदन दिएकी थिइन् । विभिन्न कारणले कुनै व्यक्तिविरुद्ध परेको सुनुवाइ र अरू सबै प्रक्रिया स्थगित गरेर मुद्दालाई दीर्घकालीन रुपमा स्थगित गर्ने कामलाई मुल्तवीमा राख्ने भनिन्छ ।
रोशना महतले पूर्वमन्त्री डा. महतको स्वास्थ्य अवस्था देखाउँदै मुद्दा मुल्तवीमा राख्न निवेदन दिएकी थिइन् । तर तीन न्यायाधीशको इजलासले डा. महत विशेष अदालतमा उपस्थित भएका बेला उपयुक्त आदेश हुनसक्ने भन्दै मुद्दालाई मुल्तवीमा राख्न अस्वीकार गरेको हो ।
विशेष अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘प्रतिवादी डा. रामशरण महत यी निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानुन बमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन माग बमोजिम हाल मुल्तवी राख्न मिलेन । कानुन बमोजिम गर्नु ।’
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ मा ‘होस ठेगानामा नरहेको व्यक्तिले आफ्नो प्रतिरक्षा गर्न असमर्थ भएमा चिकित्सकहरूबाट जाँच गराई आदेश पर्चा खडा गरी सम्बन्धित व्यक्ति विरुद्धको मुद्दा मुल्तवीमा राख्नुपर्ने’ व्यवस्था छ । त्यही कानूनी प्रावधान अनुसार रोशनी महतले विशेष अदालतमा निवेदन दिएकी हुन् ।
अख्तियारले गत मंसीरमा पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दावी सहित ५६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।
विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैंया भ्रष्टाचार भएको दावी सहित अख्तियारले पूर्वमन्त्रीहरू रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दिपकचन्द्र अमात्य, डा. रामशरण महत, दिवंगत भइसकेका पोष्टबहादुर बोटगीकी पत्नी राममाया बोगटीविरुद्ध मुद्दा चलाएको थियो । त्यही मुद्दा अहिले विशेष अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया 4