News Summary
Generated by OK AI. Editorially reviewed.- चीनको सांघाईमा सम्पन्न ६७ औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीले ५७ अंक प्राप्त गर्दै नयाँ इतिहास रचेको छ ।
- प्रतियोगितामा सहभागी ११७ राष्ट्रमध्ये नेपाल ८४ औँ स्थानमा रहँदै ३३ देशलाई पछि पार्न सफल भएको छ ।
- नेपाली टोलीका प्रसिद्ध थापा, आयाम आचार्य र निसान खत्रीले अनरेबल मेन्सन पदक जित्दै नेपालको गौरव बढाउनुभएको छ ।
७ साउन, पोखरा । चीनको सांघाईमा सम्पन्न ६७ औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) मा नेपाली टोलीले उत्कृष्ट नतिजा हासिल गर्दै नयाँ इतिहास रचेको छ ।
नेपालले समग्र ५७ अंक प्राप्त गर्दै यसअघि हासिल गरेको ४६ अंकको कीर्तिमान तोडेको हो । ११७ देशका ६६६ प्रतिस्पर्धीबीच नेपाल ८४औँ स्थानमा रहँदा तीन नेपाली विद्यार्थीले अनरेबल मेन्सन पदक जित्न सफल भएका छन् ।
जुलाई १० देखि २० सम्म आयोजित विश्वकै प्रतिष्ठित गणित प्रतियोगितामा सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य र धादिङका निसान खत्रीले समान रूपमा अनरेबल मेन्सन प्राप्त गर्दै नेपालको गौरव बढाएका हुन् ।
टोलीका अन्य सदस्य वर्दियाका मिसन जोशी, मोरङका युगान्तर कालाखेती र पोखराका अरिज पोख्रेलले पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको समग्र अंक वृद्धि गर्न महत्वपूर्ण योगदान दिएका थिए।
उनीहरूको प्रदर्शनका आधारमा नेपालले ११७ सहभागी राष्ट्रमध्ये ३३ देशलाई पछि पार्न सफल भएको म्याथम्याटिकल एसोसिएसन अफ नेपालका अध्यक्ष तथा कन्ट्री लिडर हरि प्रपन्न कँडेलले जानकारी दिए ।
नेपालले सन् २०१७ मा ब्राजिलमा आयोजित अन्तर्राष्ट्रिय गणित ओलम्पियाडबाट सहभागिता सुरु गरेको थियो । यस वर्षको प्रतियोगिता नेपालको दशौँ सहभागिता हो । छोटो अवधिमै नेपालले आफ्ना उपलब्धिलाई निरन्तर सुधार गर्दै विश्वस्तरमा प्रतिस्पर्धात्मक उपस्थिति देखाएको छ ।
नेपाल सरकारको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत सञ्चालित ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि–२०८२ अनुसार म्याथम्याटिकल एसोसिएसन अफ नेपालले देशभरिबाट करिब २ हजार ५ सयभन्दा बढी विद्यार्थी सहभागी गराई छनोट प्रक्रिया सञ्चालन गरेको थियो ।
जिल्ला, प्रदेश र केन्द्रीय चरणका परीक्षा तथा छ महिनाभन्दा लामो विशेष प्रशिक्षणपछि अन्तिम ६ सदस्यीय टोली चयन गरिएको कार्यक्रम संयोजक तथा एसोसिएसनका महासचिव छवि ढुङ्गानाले बताए ।
ढुङ्गानाका अनुसार अन्तर्राष्ट्रिय स्तरमा अझ राम्रो नतिजा हासिल गर्न विद्यार्थीलाई नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षण उपलब्ध गराउनुका साथै सरकारी निकायबाट थप सहयोग आवश्यक छ ।
ओलम्पियाडअघि नेपाली टोली करिब ७० देशका विद्यार्थी सहभागी भएको २१ दिने बन्द प्रशिक्षण कार्यक्रममा पनि सहभागी भएको थियो । राष्ट्रिय प्रशिक्षक इन्जिनियर प्रजित अधिकारीले सोही प्रशिक्षण र लामो तयारीका कारण यस वर्ष उत्कृष्ट नतिजा सम्भव भएको बताए ।
प्रतियोगितामा नेपालको सहनेतृत्व कोषाध्यक्ष नारायण पौडेलले गरेका थिए। नेपाली टोली जुलाई २१ मा स्वदेश फर्किएको छ । विश्व गणित मञ्चमा नेपालको उपस्थितिलाई थप सशक्त बनाउँदै यस वर्षको नतिजाले आगामी वर्षहरूमा अझ उच्च उपलब्धिको सम्भावना देखाएको छ ।
प्रतिक्रिया 4