News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रुद्रावेणी–वामी टक्सार सडक खण्डअन्तर्गत डहरेखोलामा निर्माण गरिएको ४० मिटर लामो पक्की पुल सञ्चालनमा आएको छ।
- पुल निर्माणसँगै वर्षायाममा खोला तर्नुपर्ने जोखिमपूर्ण यात्रा हटेको छ भने स्थानीयवासी तथा यात्रुले सुरक्षित आवतजावतको सुविधा पाएका छन्।
- सडक डिभिजन कार्यालय पाल्पाका अनुसार उक्त सडकका अन्य तीन स्थानमा पनि २२ करोड ३१ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण भइरहेका छन्।
८ साउन, गुल्मी । गुल्मी जिल्लाको रुद्रावेणी–वामी टक्सार सडक अन्तर्गत डहरेखोलामा निर्माण सम्पन्न भएको पक्की पुल सञ्चालनमा आएको छ ।
पुल सञ्चालनमा आएसँगै वर्षायाममा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ भने स्थानीयवासी तथा यात्रुले सुरक्षित र सहज आवतजावत गर्न पाएका छन् ।
डहरेखोला वर्षायाममा बाढी आउने संवेदनशील खोला मानिन्छ । विगतका वर्षहरूमा पुल नहुँदा सवारीसाधनलाई खोला तरेर आवतजावत गर्नुपर्ने अवस्था थियो । बर्खाको समयमा खोला बढेपछि यातायात पूर्ण रूपमा अवरुद्ध हुने, यात्रुहरू घण्टौंसम्म बाटोमै रोकिनुपर्ने तथा स्थानीयले सास्ती भोग्नुपर्ने समस्या दोहोरिँदै आएको थियो ।
डहरे खोला निर्माण सम्पन्न भएको पुल ४० मिटर लम्बाईको रहेको छ । अब अरु ३ स्थानमा पनि पक्की पुल निमाणधिन अवस्थामा रहेका छन् ।
डहरेखोलामा केही वर्षअघि बाढीले सवारीसाधन समेत बगाउने गरेको थियो । स्थानीय बासिन्दाले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका थिए ।
अहिले पक्की पुल सञ्चालनमा आएपछि रुद्रावेणी, वामी टक्सार लगायत आसपास छिमेकी जिल्लाका बस्तीका बासिन्दा, व्यापारी, विद्यार्थी, कर्मचारी तथा दैनिक यात्रुहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पुलले वर्षायाममा हुने जोखिम कम गर्नुका साथै यस सडकखण्डको यातायातलाई वर्षभरि नै सहज बनाउने अपेक्षा गरिएको छ ।
रुद्रावेणी–वामी टक्सार सडक गुल्मीका विभिन्न स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सडकमध्ये एक हो । यस सडकमार्फत स्थानीय उत्पादन बजारसम्म पुर्याउन, स्वास्थ्य सेवा लिन, शैक्षिक गतिविधि सञ्चालन गर्न तथा दैनिक आवतजावतमा ठूलो सहयोग पुग्ने भएकाले पुल सञ्चालनलाई स्थानीयले विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
मुसिकोट भुवाचिदीका स्थानीय व्यवसायी तथा समाजसेवी ज्ञानहरी सापकोटाले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएकामा खुशी व्यक्त गर्दै अब सडकको स्तरोन्नति, कालोपत्रे तथा बाँकी पूर्वाधार विकासका कामलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् । बाँकी खण्डमा पनि समयमै पुल बनेसँगै सडकको दीर्घकालीन सुधार भए यस क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा थप सकारात्मक प्रभाव पर्ने बताए ।
डहरेखोलामा निर्माण भएको पक्की पुलले वर्षौंदेखिको जोखिमपूर्ण यात्रा अन्त्य गर्नुका साथै सुरक्षित, भरपर्दो र नियमित यातायात सेवाको आधार तयार गरेको स्थानीयको विश्वास छ ।
तीन स्थानमा पनि निर्माण हुँदै पक्की पुल
डहरे खोला हुँदै वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुट्ने सवारी साधनहरू वर्षातको समयमा खोला बढ्दा बाटोमै घन्टौं कुरेर यात्रा गर्नुपर्ने अवस्था रहेको थियो । रिडीदेखि वामिटक्सार सम्मको सडक अन्तर्गत चार स्थामा पक्की नहुदा वर्षातको समयमा सवारी साधनहरूले सास्ती खेप्दै हुँदै आएको छ । सडक सुचारु भएको वषौं बित्दा समेत डहरे खोलामा पुल नहुदा खोला तर्ने क्रममा सवारीसाधनहरू बगाउने समेत गरेको थियो ।
सवारी साधनको अत्यन्तै चाप रहेको उक्त सडकमा पक्की पुल र सडकको अवस्था अत्यन्तै दयनिय रहेको छ ।
सडक डिभिजन कार्यालय पाल्पा मार्फत सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा निर्माण कार्य भइरहेको छ । त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दि खोला पुल तल्लाफाँटमा बन्ने भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
नादेवा खोला पुल शाहाघाटमा २० मिटर लम्बाई, डहरे खोला पुल ४० मिटर लम्बाईको पुल बन्ने भएको हो । त्यस्तै भार्से खोला पुल चोरकाटेमा ४० मिटर लम्बाई र गिद्दि खोला पुल तल्लाफाँटमा २० मिटरको निर्माण हुने क्रममा रहेका छन् ।
२०८१ साल वैशाख १४ गते सम्झौता भइ २०८२ साल साउन २२ गते सम्पन्न गर्ने मिति रहेको थियो । चारवटा पुलको २२ करोड ३१ लाख ६० हजार २१० रुपैयाको लागत रहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
रिडी रुद्रावेनी वामिटक्सार सडक हुँदै गुल्मी र छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने सवारी साधनहरू आउ–जाउ गर्ने गर्दछन् । यो सडक गुल्मी जिल्लाको निकै पुरानो सडक हो ।
प्रतिक्रिया 4