News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले धनुषाका किसानलाई माटोको उर्वराशक्ति जोगाउन रासायनिक मलको साटो प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छन् ।
- ‘माटो सुधार नै कृषि सुधारको मुख्य आधार हो, स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मल प्रयोग बढाउन म सबै किसानलाई आग्रह गर्दछु,’ मन्त्री चौधरीले भनिन् ।
- मन्त्री चौधरीले धनुषामा महिला किसानद्वारा सञ्चालित कृषि उपकरण केन्द्र, व्यावसायिक माछापालन फर्म र आँप बगैँचाको स्थलगत निरीक्षण गर्दै कृषिको अवस्थाबारे जानकारी लिएकी छन् ।
१० साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई प्राङ्गारिक मल प्रयोग बढाउन आग्रह गरेको छ ।
धनुषा जिल्लाको कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै कृषिमन्त्री गिता चौधरीले किसानको खेतबारीमै पुगेर यस्तो आग्रह गरेकी हुन् ।
रासायनिक मलको बढ्दो प्रयोगले माटो बिग्रँदै गएको भन्दै मन्त्री चौधरीले ‘माटो सुधारको मुद्दा’ लाई आफ्नो भ्रमणको प्रमुख एजेन्डा बनाएकी थिइन् ।
धनुषाका विभिन्न गाउँमा किसानसँग प्रत्यक्ष भेटवार्ता गर्दै उनले स्थानीय स्रोतसाधनको उच्चतम प्रयोग गर्न सुझाइन् ।
‘माटो सुधार नै कृषि सुधारको मुख्य आधार हो, स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मल प्रयोग बढाउन म सबै किसानलाई आग्रह गर्दछु,’ मन्त्री चौधरीले भनिन्, ‘यसले एकातिर रासायनिक मलमाथि हाम्रो परनिर्भरता घटाउँदै लैजान्छ भने अर्कातिर माटोको उर्वराशक्तिमा दीर्घकालीन सुधार ल्याउँछ ।’
स्थलगत अवलोकन क्रममा मन्त्री चौधरीले कृषिमा महिला सहभागिता र यान्त्रीकरण अवस्थाबारे पनि जानकारी लिएकी थिइन् ।
उनले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर (कृषि उपकरण भाडामा दिने केन्द्र) निरीक्षण गरिन् ।
यस केन्द्रमार्फत स्थानीय किसानलाई सहुलियत दरमा आधुनिक कृषि उपकरण उपलब्ध गराउँदै आइएको छ ।
यसैगरी कृषि विविधीकरण प्रोत्साहन गर्ने उद्देश्यले मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालिको समेत अवलोकन गरेकी थिइन् । उक्त कम्पनीले व्यावसायिक माछापालनसँगै स्थानीय मत्स्य कृषकलाई माछाका भुरा, दाना र आवश्यक औषधि आपूर्ति गर्दै आएको छ ।
भ्रमणकै क्रममा मन्त्री चौधरीले धनुषा चित्रनगरमा रहेको व्यावसायिक आँप बगैँचा निरीक्षण गर्दै फलफूल खेतीको सम्भावना र किसानका समस्याबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4