+
+
Shares

सुदूरपश्चिममा सरकार गठनको गृहकार्यमा एमाले-नेकपा, मुख्यमन्त्रीको निर्णय पर्खँदै

सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ । अर्को परिस्थिति सिर्जना नभए नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

जनक विष्ट जनक विष्ट
२०८३ साउन १० गते १९:४०

१० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) नयाँ सरकार विस्तारको गृहकार्यमा जुटेका छन् ।

पार्टी केन्द्रमा भएको सहमतिअनुसार दुई दलबीच सत्ता सहकार्य हुने भएपछि यहाँ पनि सरकार विस्तारका लागि दुवै दल आन्तरिक परामर्शमा जुटेका हुन् ।

सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ । अर्को परिस्थिति सिर्जना नभए नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

सोही तयारीबीच उनी पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूसँग परामर्श गर्न शनिबार नै संघीय राजधानी काठमाडौं पुगेका छन् ।

एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लसहितका नेताहरू पनि काठमाडौंमै छन् । दुई दल नयाँ सरकार गठनका लागि आन्तरिक परामर्श जुटेपनि एमालेले समर्थन फिर्ता लिएपछि स्पष्ट अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाह पदमै छन् ।

नेकपाले यसअघि नै शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्ने निर्णय गरिसकेको छ । नेकपा र एमालेले नयाँ सरकार गठनका लागि शाहले तत्काल राजीनामा गएर सहयोग गर्नुपर्ने जनाएको छ ।

‘चालु आर्थिक वर्षका लागि बजेट पनि ल्याउनुपर्ने अवस्था छ । प्रदेश सभामा अर्को विकल्प नभएका कारण उहाँले तत्काल राजीनामा दिनुपर्छ,’ नेकपा प्रमुख सचेतक खुसीराम चौधरीले भने, ‘त्यसपछि बल्ल नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ ।’ मुख्यमन्त्री पदमै भएका कारण तत्काल थप घटनाक्रम विकसित भने भइसकेको छैन ।

‘पार्टी केन्द्रमा दुई दलबीच सत्ता सहकार्यको निर्णय भएपनि प्रदेशमा अहिले नै सरकार गठनबारे कुराकानी भइसकेको अवस्था होइन,’ एमाले प्रमुख सचेतक चक्र मल्लले भने, ‘अहिले मुख्यमन्त्री पनि पदमै भएकाले उहाँले छाडेपछि नयाँ हिसाबले अघि बढ्छ होला ।’

एमालेले शाहलाई दिएको समर्थन ३१ असारमा फिर्ता लिएको थियो । त्यसपछि अल्पमतमा परेका शाहले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

तर, प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा र एमालेले सत्ता सहकार्य अघि बढाउने निर्णय गरेका छन् । सोही कारण उनले विश्वासको मत पाउने सम्भावना छैन  त्यसैले शाहले पदबाट राजीनामा दिएर राजनीतिक आचरण देखाउनुपर्ने दुवै दलका नेताहरूको भनाइ छ ।

प्रदेश सभामा नेकपाका २२, नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का एक जना प्रदेश सभा सदस्य छन् । उनीहरूमध्ये पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने कांग्रेसका प्रकाशबहादुर देउवा देशबाहिर रहेका छन् ।

प्रदेश सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । नेकपा र एमालेसँग अहिले ३२ जना(निलम्बित बाहेक) सांसद रहेका छन् ।

मुख्यमन्त्री शाह पनि अहिले काठमाडौंमा छन् । काठमाडौंमा रहेका शाहले एमाले र नेकपाको पछिल्लो राजनीतिक निर्णयपछि थप परामर्श गरेका छैनन् । धनगढी फर्किएपछि शाहले निर्णय लिने अनुमान छ ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको विषयमा असन्तुष्टि जनाउँदै एमालेले प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि दुई पार्टीबीच सत्ता सहकार्यमा खटपट सुरु भएको थियो । ३१ असारमा शाहले एमालेका चार मन्त्री बर्खास्त गरेपछि समर्थन फिर्ता लिएको थियो ।

सुदूरपश्चिममा अहिले बजेटविहीनताको अवस्था छ । वैकल्पिक कानुन व्यवस्थाअनुसार प्रदेश सरकारले राजस्व संकलन गरिरहेपनि खर्च भने गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।

यो अवस्थाको अन्त्य गर्न भएपनि शीघ्र मुख्यमन्त्री शाहले निकास दिएर नयाँ सरकार गठन गर्दै चाँडो बजेट ल्याउनुपर्ने आवाज उठेको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?