News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालस्थित बंगलादेशी दूतावासले काठमाडौंमा बंगलादेशी आँप प्रदर्शनी तथा महोत्सव आयोजना गरेको छ ।
- महोत्सवले नेपाल र बंगलादेशबीचको आर्थिक सहयोग तथा कृषि व्यापार विस्तार गर्ने लक्ष्य राखेको छ ।
- राजदूत मोहम्मद शफिकुर रहमानले बंगलादेशमा उत्पादित आँपको गुणस्तर र सांस्कृतिक महत्त्वबारे जानकारी दिए ।
११ साउन, काठमाडौं । नेपालस्थित बंगलादेशी दूतावासले आइतबार काठमाडौंको उत्सवकुञ्ज ब्यांक्वेटमा बंगलादेशी आँप प्रदर्शनी तथा महोत्सव ‘बंगलादेश म्यांगो डेलिकेसी’ आयोजना गरेको छ ।
महोत्सवमा सार्क सचिवालय महासचिव मोहम्मद गोलाम सरवार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्र राजभण्डारी लगायत सहभागी थिए ।
कार्यक्रममा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, प्रमुख आयातकर्ता सहित करिब २ सय ५० सहभागी थिए ।
बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले कृषि र कृषि–प्रशोधन क्षेत्रमा बंगलादेशले हासिल गरेका नवीनतम उपलब्धिबारे बताएका थिए ।
उनले आँप केवल फलमात्र नभई बंगलादेशको संस्कृति, सम्पदा, परम्परा र कृषिको अभिन्न अंग भएको बताए ।
राजदूत रहमानले बंगलादेशको उर्वर भूमि र अनुकूल हावापानीमा विश्वकै उत्कृष्ट आँप फल्ने दाबी गरे । उनले खिरसापत (हिमसागर), हरिभाङ्गा, लङ्ग्रा, फजली, गोपालभोग, आम्रपाली, आश्विना, बनाना म्यांगोे, कटिमोन, गौरामती र बरीजस्ता आँपका प्रजाति आफ्नो असाधारण मिठास, सुगन्ध र पौष्टिक तत्त्वका लागि विश्वभरि रुचाइएको बताए ।
यसका साथै, उनले ढिलो फल्ने र विदेशी मूलका आँपका प्रजातिहरूको विकासमा बंगलादेशी वैज्ञानिकले गरेको योगदानको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप जुस, पल्प, जाम, अचार, म्यांगो बार र क्यान्डीजस्ता प्रशोधित उत्पादनमा व्यावसायिक क्षेत्रले गरिरहेको प्रगतिको सह्राना गरे ।

सार्क महासचिव गोलाम सरवारले दक्षिण एसियाली आँपको विशिष्टता र सम्भावना प्रशस्त भए तापनि अन्तर्राष्ट्रिय बजारमा यसको निर्यात न्यून रहेकोमा चिन्ता व्यक्त गरे ।
उनले यस्तो महत्त्वपूर्ण कार्यक्रम आयोजनाले कृषि क्षेत्रमा सार्क सदस्य राष्ट्रबीच थप सम्बन्ध सुधार हुने भन्दै सहकार्य गर्न आग्रह गरे ।
यसैगरी परराष्ट्र सहसचिव गहेन्द्र राजभण्डारीले बंगलादेशको यो ‘म्यांगो डिप्लोमेसी’ (आँप कूटनीति) को नवप्रवर्तनात्मक कदमको प्रशंसा गरे ।
उनले वर्तमान समयको कूटनीतिक जटिलताबीच यस्ता कार्यक्रमले दुई देशका जनताबीचको सम्बन्ध र मित्रता थप प्रगाढ र न्यानो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बंगलादेशका आँप किसान रफिकुल इस्लामले असल कृषि अभ्यास अनुरूप आँप खेती गर्ने विधि र आफ्नो १५ वर्षको अनुभव सुनाएका थिए । उनले बंगलादेशको कृषि विस्तार विभागको सुपरिवेक्षणमा कसरी गुणस्तरीय आँप उत्पादन भइरहेको छ भन्नेबारे प्रस्तुतीकरण दिए ।
प्रदर्शनीमा राजशाही क्षेत्रका ढिलो फल्ने फजली, आम्रपाली, बरी–४, कटिमोन, गौरामती लगायत ताजा आँपका साथै जुस, अचार, जाम, जेली, ड्राइ–म्यांगो जस्ता प्रशोधित परिकार राखिएका थिए ।
अतिथिलाई आँपको केक, स्टिकी–राइस म्यांगो र म्यांगो पुडिङजस्ता विशेष डिजर्टका साथै परम्परागत बंगलादेशी खाना पस्किइएको थियो । साथै बंगलादेशको आँप खेती, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने ‘ब्युटिफुल बंगलादेश’ नामक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
यस महोत्सवले नेपाल र बंगलादेशबीचको आर्थिक सहयोग सुदृढ गर्ने, कृषि तथा प्रशोधित खाद्य उत्पादनको द्विपक्षीय व्यापार विस्तार गर्ने र दुवै देशका व्यवसायीबीच साझेदारी बढाउने लक्ष्य राखेको छ ।
बंगलादेशी दूतावासले आगामी दिनमा पनि यस्ता कार्यक्रमले दुई देशबीचको व्यापार, लगानी र सांस्कृतिक आदानप्रदान थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया 4