+
+
Shares

सर्लाहीबाट भारत लैजान खोजिएको सौफी मदिरासहित दुई पिकअप नियन्त्रणमा

अमलेश शर्मा अमलेश शर्मा
२०८३ साउन ११ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही प्रहरी र सशस्त्र प्रहरीले बलरा नगरपालिकाको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ६१० कार्टुन सौफी मदिरासहित दुईवटा पिकअप गाडी नियन्त्रणमा लिएका छन् ।
  • सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी अमरबहादुर खत्रीका अनुसार विशेष निगरानीका क्रममा तस्करी हुन लागेको मदिरा बरामद गरिएको हो ।
  • बरामद मदिरा, सवारीसाधन र पक्राउ परेका चालकहरूलाई थप कानुनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ ।

११ साउन, सर्लाही । सर्लाही प्रहरीले सीमावर्ती क्षेत्र हुँदै भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिणामको सौफी मदिरासहित दुईवटा पिकअप र तिनका चालकलाई नियन्त्रणमा लिएको छ ।

बलरा नगरपालिकाको सिमा क्षेत्रबाट सोमबार बिहान भारततर्फ अवैध रूपमा मदिरा लैजाँदै गरेको अवस्थामा दुईवटा पिकअप नियन्त्रणमा लिइएको हो । दुवै गाडीमा गरी ६०० कार्टुनभन्दा बढी सौफी मदिरा लोड गरिएको थियो ।

सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी अमरबहादुर खत्रीका अनुसार, बिहान करिब ११ बजे बलरा नगरपालिका–१ स्थित सेढवा गाउँबाट प्रदेश २–०३–००१ च ५६६८ नम्बरको पिकअप नियन्त्रणमा लिइएको थियो । उक्त गाडीमा २५० कार्टुन सौफी मदिरा लोड गरिएको थियो ।

त्यसैगरी बिहान करिब ९ बजे बलरा नगरपालिका–३ लक्ष्मिपुर नाकाबाट प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको अर्को पिकअप पनि नियन्त्रणमा लिइएको उनले बताए । उक्त गाडीमा ३६० कार्टुन सौफी मदिरा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

‘विशेष निगरानीका क्रममा भारततर्फ लैजान तयारी अवस्थामा रहेका गाडी नियन्त्रणमा लिएका हौं,’ एसपी खत्रीले भने, ‘अवैध तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी थप कडा बनाइएको छ ।’

त्यस्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलले गाडी सीमा क्षेत्रमै पुगेको अवस्थामा नियन्त्रणमा लिइएको बताए ।

‘गाडी बोर्डरबाट करिब २०० मिटर नजिक पुगिसकेका थिए र भारततर्फ जान खोजिरहेका थिए,’ एसपी पौडेलले भने, ‘एउटा मदिरा बोकेको पिकअप नेपाल प्रहरीले नियन्त्रणमा लियो भने अर्को सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइसकेको छ ।’

प्रहरीका अनुसार दुवै पिकअपका चालकलाई समेत नियन्त्रणमा लिइएको छ । बरामद मदिरा, सवारीसाधन र चालकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
अमलेश शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?