News Summary
Generated by OK AI. Editorially reviewed.- वि.सं. १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको आधुनिक स्वास्थ्य सेवाको जननीका रूपमा स्थापित छ ।
- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वीर अस्पतालले हाल ७२ वटा शैक्षिक कार्यक्रममार्फत ३,६६० भन्दा बढी विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेको छ ।
- दुवाकोटमा १,५०० शय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने योजनाले नेपालको स्वास्थ्य प्रणालीमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
नेपालको आधुनिक स्वास्थ्य सेवाको इतिहास वीर अस्पतालबाट सुरु हुन्छ । वि.सं. १९४७ मा तत्कालीन प्रधानमन्त्री वीरशमशेर जंगबहादुर राणाको पहलमा स्थापना भएको वीर अस्पताल ७ शय्या र ५ कर्मचारीबाट सेवा सुरु गरेको नेपालको पहिलो आधुनिक अस्पताल हो ।
१३७ वर्षको यात्रामा यो अस्पताल केवल उपचार केन्द्रमा सीमित रहेन, बरु आधुनिक चिकित्सा सेवा, चिकित्सा शिक्षा, विशेषज्ञ जनशक्ति उत्पादन र स्वास्थ्य अनुसन्धानको आधारशिलाका रूपमा स्थापित भयो ।
आज ९६० शय्यासहित वीर अस्पताल देशकै सबैभन्दा ठूलो केन्द्रीय रेफरल अस्पतालका रूपमा लाखौँ नागरिकलाई सेवा दिइरहेको छ ।
वीर अस्पताल नेपालको स्वास्थ्य क्षेत्रको इतिहाससँग मात्र होइन, आधुनिक चिकित्साको विकाससँग पनि प्रत्यक्ष जोडिएको संस्था हो । नेपालमा न्यूरोसर्जरी, आधुनिक कार्डियोलोजी, एन्जियोग्राफी, क्याथल्याब, मुटुको भल्भ प्रत्यारोपणजस्ता धेरै विशिष्टीकृत उपचार सेवाको सुरुवात यही अस्पतालबाट भएको हो । देशका अग्रणी चिकित्सकहरूको ठूलो पुस्ताले यही अस्पतालबाट आफ्नो सेवा जीवन प्रारम्भ गरेको इतिहास छ । त्यसैले वीर अस्पताललाई नेपालको आधुनिक चिकित्साको जननीका रूपमा पनि लिने गरिन्छ।
समयसँगै स्वास्थ्य सेवाको माग र विशेषज्ञ सेवाको आवश्यकता बढ्दै गयो । त्यसअनुसार वीर अस्पतालले प्रसूति, बालरोग, मानसिक स्वास्थ्यलगायतका सेवाको विकास गर्यो । पछि सेवाग्राहीको चाप र विशिष्टीकरणको आवश्यकताका कारण ती सेवाहरू परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कान्ति बाल अस्पताल र पाटन मानसिक अस्पतालमा विस्तार गरिए । यसले नेपालको स्वास्थ्य प्रणालीलाई संस्थागत रूपमा विस्तार गर्न महत्वपूर्ण आधार तयार गर्यो ।
वीर अस्पताल उपचार सेवाको केन्द्र मात्र होइन, चिकित्सा शिक्षाको पनि ऐतिहासिक संस्था हो । कम्पाउन्डर र घाउ–मलमपट्टी तालिमबाट सुरु भएको चिकित्सा शिक्षा क्रमशः स्वास्थ्य सहायक, नर्सिङ तथा स्नातक तहसम्म विस्तार भयो । विसं २०१३ मा नर्सिङ शिक्षा र २०१४ मा सिभिल मेडिकल स्कुलमार्फत मध्यस्तरका स्वास्थ्यकर्मी उत्पादन सुरु गरियो । पछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानका विद्यार्थीहरूको प्रमुख क्लिनिकल प्रशिक्षण केन्द्रका रूपमा पनि वीर अस्पतालले भूमिका निर्वाह गर्यो ।
वि.सं. २०३५ मा एडिनबर्गको रोयल कलेजबाट शल्यक्रिया र मेडिसिनमा तालिम केन्द्रको मान्यता प्राप्त भएपछि नेपालमा स्नातकोत्तर चिकित्सा शिक्षाको नयाँ युग सुरु भयो । विशेषज्ञ चिकित्सक उत्पादनका लागि छुट्टै राष्ट्रिय संस्था आवश्यक भएको निष्कर्षसँगै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को अवधारणा अघि बढ्यो । विसं २०५९ मा अध्यादेशमार्फत सुरु भएको यो अवधारणा २०६३ सालमा ऐन जारी भएपछि संस्थागत रूपमा स्थापित भयो । त्यसयता वीर अस्पताल न्याम्सको प्रमुख शिक्षण अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ।
न्याम्स स्थापना भएपछि चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा र अनुसन्धानलाई एउटै संरचनाभित्र विकास गर्ने आधार तयार भयो । हाल न्याम्सले एमडीरएमएस, डीएमरएमसीएच, नर्सिङ, स्वास्थ्य विज्ञान तथा विभिन्न फेलोसिपसहित ७२ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । आर्थिक वर्ष २०८१/८२ सम्म ३,६६० भन्दा बढी विशेषज्ञ जनशक्ति उत्पादन भइसकेका छन् । भारत, श्रीलंका, माल्दिभ्स, भुटान, म्यानमार, कम्बोडिया लगायतका विभिन्न देशका विद्यार्थीले पनि यहाँ अध्ययन गरेका छन्, जसले न्याम्सलाई अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित बनाएको छ।
न्याम्सले आफ्नो शैक्षिक गतिविधि वीर अस्पतालमा मात्र सीमित राखेको छैन । अहिले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी २४ वटा अस्पतालसँग आबद्ध भएर विशेषज्ञ चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ । यसले देशभर विशेषज्ञ चिकित्सक उत्पादन, अनुसन्धान विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा सुदृढ गर्न उल्लेखनीय योगदान पुर्याएको छ ।
वीर अस्पतालको सेवा विस्तार पछिल्लो दशकमा उल्लेखनीय रूपमा बढेको छ । ओपीडी सेवा, भर्ना हुने बिरामी, शल्यक्रिया र विशेषज्ञ उपचार सेवामा निरन्तर वृद्धि भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमार्फत जटिल दुर्घटना, हाडजोर्नी तथा न्यूरो ट्रमा उपचार प्रदान भइरहेको छ । तर सेवाग्राहीको अत्यधिक चाप, पुरानो भौतिक पूर्वाधार, सीमित शय्या, उपकरण अभाव तथा जनशक्ति व्यवस्थापन अझै पनि प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
नेपालको स्वास्थ्य प्रणाली अहिले नसर्ने रोग, क्यान्सर, मिर्गौला, मानसिक स्वास्थ्य समस्या, वृद्ध जनसंख्याको वृद्धि, सडक दुर्घटना र जलनजस्ता जटिल स्वास्थ्य चुनौतीसँग जुधिरहेको छ । अर्कोतर्फ दक्ष स्वास्थ्य जनशक्तिको विदेश पलायन, महँगो उपचार, स्वास्थ्य उपकरणको व्यवस्थापन, सुशासन र गुणस्तरीय सेवा विस्तार पनि चुनौतीका रूपमा देखिएका छन् । यस्तो अवस्थामा वीर अस्पताल र न्याम्सको भूमिका झनै महत्वपूर्ण बनेको छ ।
यिनै चुनौतीलाई सम्बोधन गर्न दुवाकोटमा रहेको ५२० रोपनी जग्गामा १,५०० शय्याको अत्याधुनिक विशिष्टीकृत अस्पताल निर्माण गर्ने दीर्घकालीन योजना अघि सारिएको छ । त्यहाँ मेडिकल कलेज, अनुसन्धान केन्द्र, आवासीय भवन, राष्ट्रिय न्युरो सेन्टर, पुनर्स्थापना केन्द्र तथा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य विश्वविद्यालय विकास गर्ने लक्ष्य राखिएको छ । यो योजना कार्यान्वयन हुन सके वीर अस्पतालको बढ्दो चाप व्यवस्थापन हुनुका साथै नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ ।
यससँगै न्याम्सलाई केवल शिक्षण अस्पतालमा सीमित नराखी अनुसन्धान, नवप्रवर्तन, डिजिटल स्वास्थ्य सेवा, अन्तर्राष्ट्रिय सहकार्य र नयाँ विशिष्टीकृत शैक्षिक कार्यक्रम विस्तारतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता छ। स्वास्थ्य संस्था व्यवस्थापन, स्वास्थ्य अर्थशास्त्र, डिजिटल स्वास्थ्य, कृत्रिम बुद्धिमत्ता आधारित स्वास्थ्य सेवा तथा उच्चस्तरीय अनुसन्धानमा लगानी बढाउन सके संस्थाको प्रभावकारिता अझ सुदृढ हुनेछ ।
त्यसैगरी अस्पतालभित्र सुशासन, पारदर्शी खरिद प्रणाली, आधुनिक उपकरणको प्रभावकारी उपयोग, अनलाइन टिकटिङ, डिजिटल मेडिकल रेकर्ड, गुणस्तरीय प्रयोगशाला सेवा, समयमै शल्यक्रिया, बिरामीमैत्री सेवा तथा कर्मचारी क्षमता विकासलाई प्राथमिकतामा राख्न आवश्यक छ । उपचार सेवा र चिकित्सा शिक्षालाई समान रूपमा सुदृढ गर्दै अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सकिए वीर अस्पताल र न्याम्सले नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ उचाइमा पुर्याउन सक्छन् ।
अन्ततः वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेपालको स्वास्थ्य क्षेत्रका ऐतिहासिक धरोहर मात्र होइनन्, भविष्यको स्वास्थ्य प्रणाली निर्माण गर्ने आधार पनि हुन् ।
विगतको गौरवलाई आधुनिक प्रविधि, गुणस्तरीय चिकित्सा शिक्षा, अनुसन्धान, सुशासन र दीर्घकालीन पूर्वाधार विकाससँग जोड्न सकिए यी संस्थाले राष्ट्रिय मात्र होइन, दक्षिण एशियामै उत्कृष्ट स्वास्थ्य तथा चिकित्सा शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गर्न सक्नेछन् ।
यही लक्ष्य हासिल गर्नु नै आगामी दशकमा वीर अस्पताल र न्याम्सको सबैभन्दा ठूलो दायित्व हुनेछ ।
(दीपक मुडभरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा सातौं तहमा कार्यरत स्वास्थ्यकर्मी हुन् । )
प्रतिक्रिया 4