News Summary
Generated by OK AI. Editorially reviewed.- वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
- सम्मेलनमा ५०० भन्दा बढी सहभागी र ३० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले आफ्ना अनुभव र ज्ञान साझा गर्नेछन् ।
- यो कार्यक्रमले नेपालको डिजिटल अर्थतन्त्रलाई बलियो बनाउनुका साथै नेपाललाई दक्षिण एसियाको उदीयमान सूचना प्रविधि केन्द्रका रूपमा स्थापित गर्न योगदान पुग्ने विश्वास आयोजकले गरेका छन् ।
११ साउन, काठमाडौं । वर्डप्रेस समुदायको सबैभन्दा ठूलो सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ आगामी सेप्टेम्बर १८ र १९ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
वर्डप्रेस काठमाडौंको आयोजनामा गैरीधारास्थित एलिस रिसेप्सनमा हुने सम्मेलनले नेपालको सूचना प्रविधि, डिजिटल उद्यमशीलता र खुला स्रोत (ओपन सोर्स) प्रविधिको प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
अमेरिका, युरोप, भारत, बंगलादेशलगायत विभिन्न देशका विज्ञ तथा सहभागीहरूको उपस्थितिमा हुने सम्मेलनमा ५०० भन्दा बढी सहभागी र ३० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताले आफ्ना अनुभव र ज्ञान साझा गर्नेछन् ।
सम्मेलनले नेपालको प्रविधि समुदायलाई विश्वव्यापी नेटवर्कसँग जोड्नुका साथै काठमाडौंको ऐतिहासिक सम्पदा र खुला स्रोत प्रविधिको सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
विश्वका करिब ४३ प्रतिशत वेबसाइट सञ्चालन गर्ने वर्डप्रेसले नेपाली विकासकर्ता, डिजिटल उद्यमी र आईटी एजेन्सीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको छ । यही कारण पनि यस वर्षको वर्डक्याम्पलाई विशेष चासोका साथ हेरिएको आयोजकले जनाएको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको पहिलो दिन ‘कन्ट्रिब्युटर डे’ हुनेछ, जहाँ वर्डप्रेसलाई अझ सुरक्षित, प्रभावकारी र समृद्ध बनाउन सहभागीहरूले प्रत्यक्ष योगदान गर्नेछन् ।
दोस्रो दिन मुख्य सम्मेलन आयोजना हुनेछ, जहाँ कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, उन्नत एसइओ, डिजिटल मार्केटिङ तथा वर्डप्रेस इकोसिस्टमका समसामयिक विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
प्राविधिक नेतृत्व विकास र प्रविधिको विकेन्द्रीकरणलाई प्राथमिकता दिँदै यसअघि बुटवल, पोखरा र भरतपुरमा समेत वर्डक्याम्प सफलतापूर्वक आयोजना भइसकेका छन् । ती कार्यक्रमहरूले मोफसलमा प्रविधिप्रतिको आकर्षण बढाउनुका साथै ‘टेक–टुरिजम’ को सम्भावनासमेत उजागर गरेका छन् ।
नेपालमा वर्डप्रेस समुदायको विकासमा महत्वपूर्ण योगदान पुर्याएका स्वर्गीय उज्ज्वल थापाको सम्मानमा स्थापित ‘उज्ज्वल थापा मेमोरियल छात्रवृत्ति’ले सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीलाई प्रविधिमा पहुँच विस्तार गर्न निरन्तर सहयोग गर्दै आएको छ ।
आयोजकका अनुसार वर्डप्रेसले युवाहरूलाई फ्रिलान्सिङमार्फत वैदेशिक मुद्रा आर्जन गर्ने अवसर सिर्जना गर्नुका साथै स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । साना तथा मझौला व्यवसायको डिजिटल रूपान्तरणमा समेत वर्डप्रेस प्रभावकारी माध्यम बन्दै गएको छ ।
पारदर्शी डिजिटल टिकट प्रणाली, समावेशी नेतृत्व र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना हुन लागेको वर्डक्याम्प काठमाडौं २०२६ ले नेपालको डिजिटल अर्थतन्त्रलाई थप बलियो बनाउनुका साथै नेपाललाई दक्षिण एसियाको उदीयमान सूचना प्रविधि केन्द्रका रूपमा स्थापित गर्न योगदान पुग्ने विश्वास आयोजकको छ ।



प्रतिक्रिया 4