+
+
Shares

कसरी भयो सुनसरीको कप्तानगञ्ज घटना ?

देवानगन्जमा झडप हुँदा जिल्लाका मुख्य दुई सुरक्षा निकाय नै नेतृत्वविहीन थियो । सीमावर्ती र उच्च सुरक्षा जोखिमका रूपमा चिनिने सुनसरीमा सशस्त्र प्रहरीका कमान्डर दुई सातादेखि रिक्त छ । नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी बिदामा थिए ।

हरि अधिकारी हरि अधिकारी
२०८३ साउन ११ गते २१:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा झण्डा हटाउने विषयमा सुरु भएको विवादले हिंसात्मक रूप लिँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।
  • प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको दाबी गरे पनि १० जना स्थानीय कम्मरमाथि गोली लागेर घाइते भएका छन् ।
  • घटनाका बेला सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखहरू बिदा वा पद रिक्त रहेको अवस्थामा सुरक्षा निकाय नेतृत्वविहीन थियो ।

११ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा एउटा समुदायले एक महिनाअघि मोरहम खेल्ने स्थानमा झण्डा राखेका थिए । उक्त झण्डा एक महिनासम्म हटेको थिएन ।

पर्व सकिएकाले झण्डा हटाउन अर्को समुदायले आग्रह गरिरह्यो । यही विषयमा विवाद भयो । झण्डाको विवाद गाउँपालिका अध्यक्ष बेचनकुमार मेहतासम्म पुग्यो ।

पालिका अध्यक्षले पनि झण्डा हटाउन आग्रह गरे । यो झण्डा विवादको जानकारी सुरक्षा निकायमा पनि थियो ।

तर यसलाई प्रशासनले बेलैमा सम्बोधन गर्ने तदारुकता देखाएन । आइतबार बेलुका एउटा समूहले सोमबारको बोलबम पूजाका लागि भन्दै डिजेसहित गानाबजनाको तयारी गरिरहेको थियो ।

कप्तानगन्जको चोकमा राति करिब ९ बजे अर्को समूहका व्यक्ति आएर डिजेले डिस्टर्भ गरेको भन्दै अवरोध गरे । दुई पक्षबीच विवाद बढ्यो ।

यही विवादकाबीचमा विद्युत अवरुद्ध भएको सुनसरीका क्षेत्र नम्बर-२ का सांसद लालविक्रम थापा बताउँछन् । यसलाई संयोगमात्रै मान्न नसकिने उनको भनाइ छ ।

करिब २ घण्टापछि मात्रै बजार क्षेत्रमा लाइन आएको उनले बताए । विजुली आउँदा कप्तानगन्ज क्षेत्रको अवस्था अस्तव्यस्त भइसकेको थियो ।

दुई समूहको विवाद हुँदै गर्दा प्रहरी टोली पुग्यो । प्रहरी टोली पुगेको केही समयपछि एउटा समूह भाग्यो । अर्को समूहसँग प्रहरीको विवाद भयो । विवादपछि प्रहरी र बोलबमको तयरीमा रहेको समूहबीच झडप भयो ।

त्यसपछि राति थप मद्दतका लागि सशस्त्र प्रहरीको टोली पुग्यो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार प्रदर्शनकारीले घेरेर ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीको टोलीले हवाइ फायर गरेको हो ।

कप्तानगन्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २५ राउण्ड हवाई फायर गरेको दाबी गरेका छन् । हवाई फायर भनिए पनि १० जना सुरक्षाकर्मीको गोलीले घाइते भए । घाइतेको कम्मरमाथि गोली लाग्यो । गोली लागेका मध्ये देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का दिलिप मेहताका छोरा मिथलेश पनि गोली लागेर घाइते छन् । छोराको उपचारका लागि न्युरो अस्पताल विराटनगरमा आएका दिलिपका अनुसार एउटा पक्ष भागेपछि प्रहरीले अर्को पक्षलाई गोली हानेको देख्छन् ।

‘झण्डा टाँङ्ने विषयमा झडप भयो, प्रहरीले कसरी गोली चलायो थाहा भएन । सुरुमा कतैबाट लाठी प्रहार भएको छैन,’ उनले भने, ‘उता प्रहरी यता सर्वसाधारण थिए । उताबाट फायर आयो । फायर गर्न थालेपछि कताबाट आयो के आयो थाहा भएन ।’

यो घटनामा सुरक्षा निकायले सामान्य सावधानी पनि नपअनाएको क्षेत्र नम्बर २ का सांसद लालविक्रम थापा बताउँछन् ।

देवानगञ्ज– ७ का स्थानीय बुधनारायण यादवका अनुसार पालिकाले मोहरम खेल्नका लागि जग्गा उपलब्ध गराएको थियो । त्यसबेला राखिएको झण्डा हटाउन खोज्दा विवाद बढको हो । त्यही विवादका कारण अहिलेको अवस्था आएको उनले बताए ।

सुरक्षा निकाय नेतृत्वविहीन

देवानगन्जमा झडप हुँदा जिल्लाका मुख्य दुई सुरक्षा निकाय नै नेतृत्वविहीन थियो । सीमावर्ती र उच्च सुरक्षा जोखिमका रूपमा चिनिने सुनसरीमा सशस्त्र प्रहरीका कमान्डर दुई सातादेखि रिक्त छ । नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी बिदामा थिए ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि (असार ३) गते सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका गणपति एवं सशस्त्र प्रहरी बलका सुनसरी प्रमुख, एसपी श्यामकुमार कार्कीलाई मुख्यालय तानिएका थिए । उनको स्थानमा नयाँ गणपति आएका छैनन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवे साउन ८ गतेदेखि बिदामा थिए । उनको स्थानमा डीएसपी चन्द्रबहादुर खड्का निमित्त प्रमुखको जिम्मेवारी थिए । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा थिए ।

सुरक्षा निकायका प्रमुख विदामा रहेको अवस्थामा आइतबार राति बोलबमका लागि बजाइएको डिजेलाई लिएर सुरु भएको सामान्य विवाद विस्तारै दुई समुदायबीचको हिंसात्मक झडपमा परिणत भयो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?