News Summary
Generated by OK AI. Editorially reviewed.- अभिभावक र शिक्षकको दृष्टिकोण फरक हुने भएकाले उनीहरूबीचको साझेदारीले मात्र किशोरकिशोरीको वास्तविक अवस्था बुझ्न मद्दत गर्दछ ।
- सफलतालाई अंक वा प्रमाणपत्रमा मात्र नभई भावनात्मक स्वास्थ्य, सिर्जनशीलता र नैतिक विकासको आधारमा मापन गर्नुपर्नेमा जोड दिइएको छ ।
केही समयअघि छोरीको स्कुलमा अभिभावक–शिक्षक भेटघाट कार्यक्रममा सहभागी भएकी थिएँ । शिक्षकले उनको जिज्ञासा, कक्षामा सक्रिय सहभागिता र सम्भावनाका बारेमा निकै सकारात्मक कुरा गर्नुभयो । एक अभिभावकका रूपमा म पनि गर्वका साथ घरमा उनी कति मिहिनेत गर्छिन्, राति अबेरसम्म पछिन् भन्ने सुनाउँदै थिएँ ।
हाँस्दै मैले यतिसम्म भनें, ‘अलिकति किताबबाट समय निकालेर साथीहरूसँग पनि घुलमिल भएको भए हुन्थ्यो ।’
शिक्षक मुस्कुराउँदै मेरो कुरा सुनिरहनुभएको थियो । म उठेर जान लाग्दा उहाँले शान्त स्वरमा भन्नुभयो, ‘म्याम, कृपया उनलाई आईए (इन्टरनल असाइनमेन्ट) समयमै समिट गर्न सम्झाइदिनुहोला । डेडलाइन त कटिसकेको छ ।’
म एकछिन अचम्ममा परें । मलाई त त्यो काम उनले एक हप्ता अघि नै पूरा गरिसकेको विश्वास थियो । घर फर्किएर सोध्दा उनले सहज रूपमा भनिन्, “काम त सक्काएको थिएँ, तर अरू असाइनमेन्टहरू पूरा गर्ने हतारमा समिट गर्नै बिर्सिएँ ।’
त्यो घटना मेरो मनमा गहिरो गरी बस्यो । त्यस दिन मैले फेरि एकपटक महसुस गरें – किशोरकिशोरीहरू घरमा एउटा रूप देखाउँछन्, विद्यालयमा अर्को । अभिभावकले उनीहरूको एउटा संसार देख्छन्, शिक्षकले अर्को । यी दुवै दृष्टिकोण अपूर्ण हुन्छन् । जब यी दुई अनुभव एकअर्कासँग जोडिन्छन्, तब मात्र हामीले उनीहरूलाई वास्तवमा बुझ्न सुरु गर्छौं ।
हामीले सानैदेखि एउटा भनाइ सुन्दै आएका छौं– “एउटा बच्चा हुर्काउन सिंगो गाउँ चाहिन्छ ।’ तर आजको समाजमा त्यो ‘गाउँ” बिस्तारै टुक्रिँदै गएको जस्तो देखिन्छ । परिवारहरू व्यस्त छन्, विद्यालयमाथि शैक्षिक उत्कृष्टताको बढ्दो दबाब छ, प्रविधि हाम्रो जीवनको अभिन्न हिस्सा बनेको छ, र समुदायबीचको आत्मीयता पहिलेभन्दा कमजोर हुँदै गएको छ । तर यदि जीवनको कुनै यस्तो चरण छ, जहाँ सबैभन्दा बढी सामूहिक साथ र सहकार्य आवश्यक हुन्छ भने त्यो किशोरावस्था नै हो ।
स्वस्तिश्री गुरुकुलमा आयोजित अभिभावक र किशोरकिशोरीको सम्बन्धको विषयमा भएको छलफल कार्यक्रममा सहभागी भएपछि यही प्रश्नले लामो समयसम्म सोच्न बाध्य बनायो । त्यो छलफलले सजिला उत्तरहरू दिएन, बरु एउटा गम्भीर प्रश्न छोड्यो – के हामी आफ्ना सन्तानलाई केवल सफल बन्न तयार पारिरहेका छौं, कि जीवनमा साँचो अर्थमा फस्टाउन सक्षम बनाइरहेका छौं ?
यी दुईबीच ठूलो अन्तर छ ।
समाजले सफलता प्रायः अंक, विश्वविद्यालय प्रवेश, जागिर वा उपलब्धिबाट नाप्छ । तर फस्टाउनु भनेको केवल बाह्य उपलब्धि होइन । त्यो भावनात्मक रूपमा सबल हुनु, अरूप्रति सहानुभूति राख्नु, इमानदार हुनु, परिवर्तनसँग जुध्न सक्नु र अनिश्चित परिस्थितिमा पनि आत्मविश्वासका साथ अघि बढ्न सक्नु हो ।
यी गुणहरू पाठ्यपुस्तकले सिकाउँदैनन् । यस्ता क्षमता विश्वासपूर्ण सम्बन्ध, अर्थपूर्ण संवाद, सम्मानपूर्ण वातावरण र निरन्तर साथबाट विकास हुन्छन् । विडम्बना के छ भने आजका किशोरहरू इतिहासकै सबैभन्दा धेरै ‘कनेक्टेड’ पुस्ता हुन् । उनीहरू दिनभर सामाजिक सञ्जालमा जोडिएका छन्, संसारभरको जानकारी उनीहरूको औंलाको टुप्पोमा छ । तर यही पुस्ताले आफूलाई सबैभन्दा बढी एक्लो र भावनात्मक रूपमा अलग महसुस गरिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
उदाहरणका लागि, अमेरिकी स्वास्थ्य सेवाका प्रमुख डा. विवेक मूर्तिको ‘हाम्रो एक्लोपना र आइसोलेसन महामारी (२०२३)’ प्रतिवेदनले सामाजिक सम्बन्धको कमजोर हुँदै गएको अवस्था विशेष गरी किशोरकिशोरी तथा युवाको मानसिक स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको उल्लेख गरेको छ ।
त्यसैगरी, ‘हार्वर्ड ग्रेजुएट स्कूल अफ एजुकेशन’ अन्तर्गतको ‘मेकिङ क्यारिङ कमन प्रोजेक्ट’ ले पनि धेरै किशोरहरूले आफूलाई पर्याप्त रूपमा बुझिएको, सुनिएको र महसुस नगरेको निष्कर्ष प्रस्तुत गरेको छ । यसले स्पष्ट गर्छ कि सामाजिक सञ्जालले सम्पर्क बढाए पनि त्यसले सधैँ आत्मीय सम्बन्ध निर्माण गर्दैन ।
सामाजिक सञ्जालले सम्पर्क त दिन्छ, तर सधैं सम्बन्ध दिँदैन । एआईले तत्काल उत्तर दिन सक्छ, तर उसले माया, सहानुभूति, धैर्यता र मानवीय उपस्थिति दिन सक्दैन । जानकारी असीमित भएको छ, तर मार्गदर्शन झन् दुर्लभ बन्दै गएको छ ।
यही वास्तविकताले एउटा पुरानो सोचलाई चुनौती दिन्छ; किशोरकिशोरी हुर्काउने जिम्मेवारी केवल परिवारको हो । निस्सन्देह, परिवारले नै मूल्य, संस्कार र अपनत्वको पहिलो जग बसाल्छ । तर आजको जटिल संसारमा अभिभावकलाई मात्र सम्पूर्ण जिम्मेवारी सुम्पिनु न्यायोचित होइन । विद्यालयहरूले पनि आफ्नो भूमिकालाई नयाँ ढंगले परिभाषित गर्न आवश्यक छ ।
आजको विद्यालय केवल पाठ पढाउने ठाउँ होइन । यो त्यस्तो समुदाय हो जहाँ किशोरकिशोरीले आफ्नो पहिचान खोज्छन्, असफलतासँग जुध्न सिक्छन्, मतभिन्नता व्यवस्थापन गर्न सिक्छन्, नेतृत्व विकास गर्छन् र आत्मविश्वास निर्माण गर्छन् ।
शिक्षकहरू केवल ज्ञान दिने व्यक्ति होइनन् । उनीहरू सिकाइको वातावरण निर्माण गर्ने मार्गनिर्देशक हुन् । त्यस्तै, विद्यालयका परामर्शदाता, प्रशिक्षक, साथीहरू र विद्यालय नेतृत्व; सबै मिलेर त्यो ‘कमुनिटी’ बन्छन्, जसले एउटा किशोरको भविष्य निर्माण गर्छ ।
छलफलले अर्को महत्त्वपूर्ण कुरा पनि सम्झायो । किशोरहरूलाई सधैँ समाधान चाहिँदैन, धेरैजसो अवस्थामा उनीहरूलाई सुन्ने मानिस चाहिन्छ । आज हामी वयस्कहरू सल्लाह दिन निकै छिटो गछौं, तर सुन्न त्यति धैर्य देखाउँदैनौं ।
जब किशोरहरूले आफूलाई आलोचना होइन, बुझ्ने वातावरण पाउँछन्, तब उनीहरू आफ्ना समस्या लुकाउनुको सट्टा साझा गर्न थाल्छन् । यही विश्वासले भविष्यका धेरै जटिल समस्या आउनै नदिने आधार तयार गर्छ ।
त्यसैले विद्यालय र परिवारबीचको सम्बन्ध केवल रिपोर्ट कार्ड वा अभिभावक–शिक्षक भेटघाटमा सीमित रहनु हुँदैन । त्यो निरन्तर संवाद, साझा उद्देश्य र परस्पर सम्मानमा आधारित साझेदारी बन्नुपर्छ ।
समुदायको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ । सुरक्षित सार्वजनिक स्थान, सकारात्मक रोल मोडल, युवामैत्री कार्यक्रम, सांस्कृतिक गतिविधि र सक्रिय समुदायले किशोरकिशोरीहरूलाई आफू मूल्यवान् भएको अनुभूति गराउँछन् ।
बालबालिका हुर्काउनु केवल अभिभावक वा विद्यालयको जिम्मेवारी होइन । यो सम्पूर्ण समाजको साझा दायित्व हो । सायद त्यस छलफलले दिएको सबैभन्दा ठूलो सन्देश यही थियो: किशोरावस्थालाई समस्या होइन, सम्भावनाको समयका रूपमा हेर्न सिकौँ ।
हरेक जिद्दी व्यवहार, हरेक भावनात्मक उतारचढाव र हरेक पहिचानको खोजीभित्र किशोरकिशोरी आफूलाई बुझ्ने प्रयास गरिरहेका हुन्छन् । अब प्रश्न उनीहरू बदलिने कि नबदलिने भन्ने होइन ।
प्रश्न हामी बदलिन तयार छौं कि छैनौँ भन्ने हो । के हामी अझै पनि सफलतालाई केवल अंक र प्रमाणपत्रले मापन गर्नेछौं ? कि भावनात्मक स्वास्थ्य, नैतिक नेतृत्व, सिर्जनशीलता र करुणालाई पनि शिक्षाको अभिन्न हिस्सा बनाउनेछौं ?
भोलिको संसारले केवल प्राविधिक ज्ञान भएका युवाहरू होइन, अनिश्चिततामा पनि अडिग रहने, विविधतालाई सम्मान गर्ने, नैतिक निर्णय लिन सक्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्न सक्ने नागरिकहरूको आवश्यकता राख्छ ।
यी क्षमता कुनै एक संस्था, कुनै एक शिक्षक वा कुनै एक परिवारले मात्र विकास गर्न सक्दैन । साँचो अर्थमा किशोरकिशोरी हुर्काउन आज पनि एउटा ‘सिङ्गो समाज’ चाहिन्छ ।
तर प्रश्न अब उनीहरूलाई सिङ्गो समाज चाहिन्छ कि चाहिँदैन भन्ने होइन । प्रश्न त हामी त्यस्तो समाज बन्न तयार छौं कि छैनौँ भन्ने हो ।
प्रतिक्रिया 4