+
+
Shares

सुनसरी घटनाको निष्पक्ष छानविन गर्न बृहत नागरिक आन्दोलनको माग

केही समय यता विशेष गरी तराई–मधेशमा शान्तिसुरक्षा, सामाजिक सद्भाव र सहिष्णुताको विषय निकै संवेदनशील बनेको भन्दै बृहत नागरिक आन्दोलनले चिन्ता पनि जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते २०:३७

१२ साउन, काठमाडौं । बृहत नागरिक आन्दोलनले सुनसरी घटनाको निष्पक्ष छानविन गर्न र शान्तिसुरक्षा तथा सामाजिक सद्भाव कायम गराउन माग गरेको छ ।

मंगलबार साँझ नागरिक आन्दोलनले प्रेस विज्ञप्ति जारी गर्दै सुनसरी घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै घटनाप्रति दु:ख पनि व्यक्त गरेको छ ।

‘दुई पक्षबीच सुरु भएको विवादमा सम्बन्धित पक्ष र सुरक्षाकर्मीले पर्याप्त सावधानी र संयमता अपनाउन नसक्दा हिंसात्मक रूप लिनु ज्यादै दु:खद र आपत्तिजनक छ,’ बृहत नागरिक आन्दोलनले भनेको छ, ‘यस दु:खद घटनामा ज्यान गुमाउनु भएका नागरिकप्रति बृहत नागरिक आन्दोलन, भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

साथै घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि प्रेस विज्ञप्तिमा गरिएको छ ।

‘सुरक्षा व्यवस्थामा देखिएको यस कमजोरीको सही, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचार गर्न बृहत नागरिक आन्दोलन जोडदार माग गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

केही समय यता विशेष गरी तराई–मधेशमा शान्तिसुरक्षा, सामाजिक सद्भाव र सहिष्णुताको विषय निकै संवेदनशील बनेको भन्दै बृहत नागरिक आन्दोलनले चिन्ता पनि जनाएको छ ।

‘यस परिस्थितिमा सामाजिक सद्भाव, सहिष्णुता, शान्तिसुरक्षा र अमनचैन खल्बलिन नदिन राज्यपक्षले यस्ता घटनाहरुका मूलभूत कारकहरु को पहिचान गरेर त्यसको निराकरण गर्दै पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउँदै थप संयमित र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, यस संवेदनशील घडीमा कुनै पनि अफवाह वा उत्तेजनापूर्ण गतिविधि नफैलाउन, सामाजिक सदभाव कायम राख्दै परिस्थितिलाई थप प्रतिकुल हुन नदिनका लागि सचेत, सतर्क, संयमित र जिम्मेवार रहन सबैसँग आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?