News Summary
Generated by OK AI. Editorially reviewed.- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीलगायत तराईका जिल्लामा घटेका घटनाप्रति चिन्ता व्यक्त गर्दै मृतकप्रति दु:ख प्रकट गरेका छन्।
- उनले घाइते नागरिक तथा सुरक्षाकर्मीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
- उपराष्ट्रपति यादवले भन्ने, \'नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक सद्भाव हाम्रो साझा सम्पत्ति हो।\'
१३ साउन, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुनसरीसहित तराईका जिल्लामा भएका घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार एक वक्तव्य जारी गर्दै उनले घटनामा ज्यान गुमाएकाप्रति दु:ख व्यक्त गरेका हुन् ।
उनले घटनामा घाइते नागरिक तथा सुरक्षाकर्मीको प्रभावकारी उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘नेपालको विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक सद्भाव हाम्रो साझा सम्पत्ति हो । सबै नागरिकलाई संयमता अपनाउन, आवेग, हिंसा वा मुठभेडबाट टाढा रहन र जिम्मेवार व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछु ।’
उनले कुनै पनि समस्याको समाधानको मार्ग नै शान्तिपूर्ण संवाद भएको उल्लेख गर्दै आफ्ना माग र विचारहरू संयमित ढंगले प्रस्तुत गर्न सबै पक्ष थप जिम्मेवारीपूर्वक प्रस्तुत हुन अनुरोध गरेका छन् ।
‘स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजले आपसी समन्वय गरेर विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछु,’ उनले भने, ‘यस्तो संवेदनशील समयमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह तथा घृणास्पद अभिव्यक्तिप्रति हामी सबै सचेत रहनुपर्दछ ।’
उनले राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षण नै साझा जिम्मेवारी भएको बताएका छन् । ‘उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता अग्रसर हुन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4