News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग विभागले उद्योग दर्ता र नवीकरण लगायतका अधिकांश प्रशासनिक सेवाहरू पूर्णरूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।
- उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनमा सेवाग्राहीलाई सहज र पारदर्शी सेवा उपलब्ध गराउन विभागले नयाँ व्यवस्था कार्यान्वयन गरेको हो।
- अनलाइन प्रणालीमा समावेश भएका सेवाका लागि सेवाग्राहीले अब भौतिक रूपमा विभाग धाउनुपर्ने बाध्यता हटेको छ।
१३ साउन, काठमाडौं । उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवा पूर्णरूपमा अनलाइन प्रणाली मार्फत सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि विभागले यस्तो व्यवस्था मिलाएको समेत दाबी मन्त्रालयको छ ।
मन्त्री यादवले उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउँदै सेवाग्राहीले अनावश्यक रूपमा विभाग धाउनुपर्ने अवस्था अन्त्य गर्न निर्देशन दिएपछि विभागले सूचना जारी गर्दै उद्योग दर्ता, नवीकरण, उद्योग अद्यावधिक, उद्योग स्थानान्तरण, पूँजी तथा क्षमता वृद्धि, नाम तथा उद्देश्य संशोधन, विदेशी लगानी स्वीकृति, व्यावसायिक भिसा सिफारिस, वार्षिक प्रगति विवरण, सीएसआर सम्बन्धी सेवा तथा आईईई/टीओआर स्वीकृति लगायत अधिकांश सेवा अब अनलाइनबाट हुने भएको हो ।
विभागका अनुसार अनलाइन प्रणालीमा समावेश भइसकेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ ।
आवश्यक परे सम्बन्धित उद्योग वा कम्पनीका आधिकारिक प्रतिनिधिले मात्र आवश्यक परिचयपत्र सहित उपस्थित भई सेवा लिन सक्नेछन् । अनलाइन प्रणालीमा समावेश भएका सेवाका आवेदन र कागजात अब भौतिक रूपमा दर्ता गरिने छैनन् । सम्पूर्ण प्रक्रिया विद्युतीय माध्यमबाटै सम्पन्न गरिने विभागले स्पष्ट पारेको छ ।
मन्त्री यादवले मन्त्रालयको नेतृत्व सम्हालेसँगै उद्योग प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने अभियानलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर निर्देशन दिँदै आएकी छिन् ।
विभागले लागु गरेको यो व्यवस्था सोही अभियानको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । उद्योग विभागले उद्योगी–व्यवसायीलाई अनलाइन प्रणालीको अधिकतम उपयोग गर्न आग्रह गर्दै आवश्यक जानकारी विभागको वेबसाइट सहितका प्रणाली मार्फत प्राप्त गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया 4