News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको शव घटनाको पाँच दिनपछि परिवारले बुझेका छन्।
- मृतकका परिवारलाई सरकारले १०–१० लाख राहत दिने र सहिद घोषणा गर्नेलगायत ७ बुँदे सहमति भएका छन् ।
- घटनाले गाउँको सामाजिक सद्भावमा दरार आएको भन्दै स्थानीय जनप्रतिनिधि र अगुवाहरूले दुवै पक्षलाई सहकार्य गर्न आग्रह गरेका छन्।
१५ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा प्रहरी चलाएको गोली लागेर मृत्यु भएका दुई युवकको शव घटनाको पाँच दिनपछि उठेको छ । सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति भएपछि शुक्रबार आफन्तले शव बुझेका हुन् ।
गत आइतबार राति दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए ।
देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । गम्भीर घाइते भएका देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । यो घटनामा गोली लागेर गम्भीर घाइते भएका ६ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
शुक्रबार ज्यान गुमाएका दुवै मृतकका आफन्तले कोशी अस्पतालमा पोष्टमार्टम गरी शवयात्रा गरे ।
पाँच दिनपछि अन्त्यष्टि गर्ने वातावरण बनाउन बिहीबार रातभर गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा छलफल भएको थियो । शुक्रबार बिहान आफन्तसँगको सहमतिमा गृहमन्त्री गुरुङले नै हस्ताक्षर गरे ।

पीडित परिवार र सरकारबीच भएको ७ बुँदे सहमतिमा मृतकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने, मृतकलाई सहिद घोषणा गर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने उल्लेख छ ।
मृतकका परिवारका एक सदस्यलाई रोजगारी दिने र उनीहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति छ ।
तर, शुक्रबार उज्यालो नहुँदै भएको सहमतिमा दिउँसो केही स्थानीयले असहमति जनाए । उधारो सहमति भएको भन्दै आफन्तलाई शव बुझ्नका लागि रोके ।
गृहमन्त्रीले नै गरेको सम्झौतामा शंका नगर्न भन्दै प्रशासनले विश्वास दिलाएपछि बेलुका आफन्तले शव बुझेका थिए ।
सामाजिक सम्बन्धमा चिसोपन
दुई युवकको मृत्युले गाउँ शोकमा डुबेको छ । गाउँमा त्रास र तनाव पनि कम भएको छैन । देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवका अनुसार सुरक्षा कर्फ्यु कायम नै छ, सेना प्रहरीको उपस्थिति पनि बाक्लो छ ।
आइतबारको घटनापछि मिलेर बसेको गाउँमा दुई समुदायबीचको सामाजिक सम्बन्धमा दरार आएको छ । उपाध्यक्ष यादवका अनुसार बिग्रीएको सामाजिक सम्बन्ध सुधार गर्न समय लाग्छ ।
‘हिजोसम्म को हिन्दु, को मुस्लिम भन्ने नै थिएन, सबै मिलेर बसेका थियौँ,’ उनले भनिन्,‘यो घटनाले सामाजिक सम्बन्ध बिग्रिएको छ, यसलाई पुरानै अवस्थामा फर्काउन समय लाग्छ ।’

उनका अनुसार दुई समुदायको सम्बन्ध अहिले चुँडिएको धागो जस्तै छ । ‘सिंगो धागो र टुटेको (चुडिएको) धागोमा फरक त हुन्छ नि , अहिले टुटेको धागो जस्तै छ,’ उनले भनिन्,‘ अब दुवै पक्ष एक कदम पछि हट्छु पर्छ, सहकार्य गरेर अघि बढ्नुपर्छ ।’
स्थानीय सामाजिक अगुवा रामनारायण मेहता मिलेर बस्नुको विकल्प देख्दैनन् । त्यसका लागि घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने उनको भनाई छ । ‘आफ्नो ठाउँ छाडेर उनीहरू कहाँ जाउन, अनि हामी पनि कहाँ जाने र ?’ उनी भन्छन्,‘सँगै बस्ने नै हो, तर राज्यले अवस्था बनाइदिनु पर्छ ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डीएसपी चन्द्रबहादुर खड्का सरकार र परिवारबीचको सहमतिपछि स्थिति बिस्तारै सामान्य बन्दै गएको बताउँछन् । तर दुवै पक्षमा अझै त्रास भने रहेको उनले बताए ।
‘दुवै पक्षमा एक प्रकारको त्रास र आशंका अझै छ, हामीलाई फोन आइरहन्छ,’ डिएसपी खड्काले भने,‘हामीले सुरक्षा सतर्कता उच्च राखेका छौँ र सहजीकरण गरिरहेका छौँ ।’ अहिले देवानगञ्जमा सुरक्षा स्थिति नियन्त्रणमै भए पनि स्थानीय प्रशासनले सुरक्षा सतर्कताका लागि कर्फ्यु भने हटाएको छैन । परिस्थिति मुल्याङ्कन गरी कर्फ्यु बारे थप निर्णय हुने उनले बताए ।
प्रतिक्रिया 4