+
+
Shares

‘निम्स’ लाई जसले हुर्काए, पढाए

शिक्षक सुरेन्द्र भन्छन्- निर्मल, जनवरी त आउला तर तिमी कहिल्यै आउने छैनौ !

निर्मलसँग एउटा शिक्षकका रूपमा बिताएका विगतका क्षणहरू सुरेन्द्रको मस्तिष्कमा बेजोडले दौडिरहेका छन् । आँखा लोलाएका छन् ।

सुवास पण्डित सुवास पण्डित
२०८३ साउन १७ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको असामयिक निधनप्रति चितवनको स्मल हेभन स्कुलका शिक्षक तथा शुभचिन्तकहरू मर्माहत र स्तब्ध बनेका छन्।
  • विद्यालयका शिक्षकहरूले निर्मल सानैदेखि साहसी, अनुशासित र खेलकुदमा रुचि राख्ने मेधावी विद्यार्थी भएको स्मरण गरेका छन्।
  • निर्मलले विश्वका १४ वटा अग्ला हिमाल चढेर विश्व कीर्तिमान कायम गरी नेपाललाई विश्वसामु चिनाउन पुर्‍याएको योगदानप्रति विद्यालय परिवारले गौरव व्यक्त गरेका छन्।

१७, साउन, चितवन । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा बेपत्ता भएको खबर सुनेपछि भरतपुरस्थित स्मल हेभन स्कुलका शिक्षक सुरेन्द्रकुमार बराललाई मनमा छटपटी भयो ।

उनलाई लागेको थियो- निर्मल जीवितै फर्किन्छ । ऊ यति बलियो र साहसी छ, जस्तोसुकै चुनौतीको पनि सामना गर्नसक्छ ।

तर, जब हिमपहिरोमा परी निर्मलको असामयिक निधन भएको खबर सुने, सुरेन्द्रको मन व्याकुल भयो । जीवनमा ठूलै कुरा गुमाएको जस्तो अनुभूति भयो ।

निर्मलसँग एउटा शिक्षकका रूपमा बिताएका विगतका क्षणहरू सुरेन्द्रको मस्तिष्कमा बेजोडले दौडिरहेका छन् । आँखा लोलाएका छन् ।

स्मल हेभन स्कुलका शिक्षक सुरेन्द्रकुमार बराल र शैलेन्द्र बराल

म्याग्दीको दानाबाट बहिनी अनितासहित २०५१ सालमा ११ वर्षको उमेरमा कक्षा ३ मा अध्ययन गर्न आएका निर्मल सानैदेखि होस्टेलमा बसे । हालको भरतपुर महानगरपालिका–१ रामनगरमा घर भए पनि निर्मल र उनकी बहिनी होस्टल बसेका थिए । अहिले पनि एक दाजुको घर रामनगरमा नै छ ।

सुरेन्द्र निर्मलका खेलकुद शिक्षक थिए । होस्टेलमा सँगसँगै बस्ने भएकोले उनीहरूबीच आत्मीयता थियो । सुरेन्द्र खेलकुद शिक्षक, निर्मलको रुचि पनि खेलकुदमै भएकोले विद्यार्थीभन्दा साथी जस्तो सम्बन्ध थियो उनीहरूको । झण्डै ७ बर्ष निर्मलसँग बिताएका सुरेन्द्र भन्छन्, ‘ऊ सानैदेखि साहसी थियो र अनुशासित पनि । केही न केही नयाँ काम गरिहाल्ने सोच उसमा थियो ।’

निर्मल भलिबल खेल्न रुचि राख्थे । होस्टल नजिकै सानो खाली चौरमा सुरेन्द्र र निर्मल भलिबल खेल्थे । ‘गर्मी समयमा बिहानी कक्षा हुन्थ्यो । बिहान ११ बजे विद्यालय छुट्टी भएपछि अरू विद्यार्थी आएर सुत्थे । तर निर्मल दिउँसो सुतेको कहिल्यै थाहा पाइनँ । खेल्नै बल गर्ने,’  शिक्षक सुरेन्द्र भन्छन्, ‘म पनि भलिबल खेल्न रुचाउने भएकोले खास्साको साथी हुन्थ्यो । म सर्ट हान्थें, ऊ जस्तो पनि उठाउँथ्यो, अरू डराउँथे ।’

शिक्षक र साथीहरूसँग निर्मल पुर्जा

निर्मलसँग पोखराको नदीपुर जाँदा अन्तिम सिटमा बसेर चाउचाउ खाँदै गएको कुरा अहिले पनि सुरेन्द्रको मानसपटलमा ताजै छ ।

स्मल हेभन स्कुलको होस्टल इन्चार्ज रहेका शैलेन्द्र बरालले निर्मल विद्यालयको एकदमै अनुशासित विद्यार्थी भएको सुनाए । त्यतिबेला होस्टेलमा ५०/६० जना विद्यार्थी बस्थे ।

भरतपुरस्थित स्मल हेभन स्कुल

‘सुरुमा उसको पढाइ निकै राम्रो थियो । ठूलो कक्षा उक्लिँदै गएपछि अलि मध्यम भयो । उसको रुचि पढाइभन्दा बढी खेलकुद र लाहुरे हुनेतिर थियो,’ शैलेन्द्र भन्छन्, ‘कक्षाको हेड ब्वाय जस्तो थियो । आफू कहिल्यै गल्ती गर्दैनथ्यो, शिक्षकलाई अति सम्मान गर्थ्यो र फिजिकल्ली सधैं फिट रहन्थ्यो । फुटबल खेल्दा किप्पर बस्न खोज्थ्यो ।’

निर्मल अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय विद्यार्थी थिए । ‘आमैले भन्थे धाराको पानी, साह्रै नै चिसो नखाऊ नानी, मरें नि तिर्खैले…’ भन्ने गीतमा निर्मलले नेतृत्व गरेर विद्यार्थीहरूले नाँचेको अहिले पनि शिक्षक शैलेन्द्र सम्झन्छन् ।

‘होस्टेलमा कहिल्यै यो खान्नँ, त्यो खान्नँ भनेको सुनिएन । उसको कम्प्लेन आएको कहिल्यै थाहा भएन,’ शैलेन्द्र भन्छन्, ‘सानो हुँदा काखमा लिन्थें, खेलाउँथें । उसको अनुशासन र साहस देख्दा यो मान्छे एकदिन ठूलो मान्छे बन्छ भन्ने लाग्थ्यो ।’

ठूलो कक्षामा गएपछि होस्टेलबाट बिहानै मर्निङ वाक, फिजिकल एक्सरसाइज गर्न बाहिर जान्थे निर्मल । बिदाको दिन हिँडेर मुग्लिनसम्म पुगेर आएको भन्थे । उनलाई डर र जोखिम भन्ने केही नभएको शैलेन्द्र बताउँछन् ।

निर्मल एकै कक्षामा पढ्ने तर अर्को होस्टलमा बसेकी बहिनी अनिता पुर्जालाई निकै माया गर्थे । कक्षा १० मा पढ्दापढ्दै उनी बेलायती सैनिकमा भर्ना हुन गए । निर्मलका दाजुहरू ब्रिटिस सैनिक भएकाले सेनामा नै भर्ती हुने चाहना थियो ।

सेनामा भर्ती भएपछि निर्मलसँग लामो समयसम्म भेटघाट नभएको विद्यालयका खेलकुद शिक्षक सुरेन्द्र बताउँछन् । पछि नारायणगढको साविक सेन्ट्रल पाम होटलमा भएको आफ्नो विवाह समारोहमा निर्मलले विद्यालयका शिक्षकहरूलाई समेत बोलाए ।

सुरेन्द्र भन्छन्, ‘अर्को वर्ष नेपाल आउँदा नजिकका साथीहरूसहित शिक्षकहरूलाई बोलाएर क्षेत्रपुरको साइरेन क्लबमा पार्टी दियो । हामी सबै जना गयौं । ऊ विद्यालयका शिक्षकलाई असाध्यै माया र सम्मान गर्थ्यो ।’

निर्मलले संसारका ८ हजार मिटर अग्ला १४ वटा बढी हिमाल ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान बनाएपछि आफ्नो विद्यार्थीले गौरव राखेकोमा आफूहरू औधी खुसी भएको सुरेन्द्र र शैलेन्द्र बताउँछन् ।

‘हाम्रो काखमा हुर्किएको बच्चा हो । हामीले माया गरेर ७ वर्षसम्म असल शिक्षा दिएको एउटा विद्यार्थीले विश्वकै ध्यान आफूतिर खिचेर आफू र देशलाई चिनाउँदा को खुसी नहोला र ?,’ शैलेन्द्र भन्छन् ‘देशलाई विश्व सामु चिनाएको एउटा विद्यार्थीको दु:खद निधन हुँदा निकै मर्माहत बनाएको छ ।’

विश्व कीर्तिमान राखेपछि चितवनमा २०७८ चैतमा गरिएको एक कार्यक्रममा स्मल हेभन विद्यालयका तर्फबाट निर्मललाई सम्मान गरिएको विद्यालयका प्रशासक कंकलकुमार श्रेष्ठले बताए । त्यतिबेला विद्यालयका तत्कालीन प्रिन्सिपल रेमशलाल श्रेष्ठलाई निर्मलले खुट्टामा नै ढोगे । आफ्ना खेलकुद शिक्षक सुरेन्द्र बराललाई न्यायो अँगालोमा एकछिनसम्म बेरे । निर्मलले अँगालोमा बेरेको भिडियो सुरेन्द्रले अहिले फेसबुकमा राखेका छन् ।

उनी भन्छन्, ‘निर्मलको निधन भएको खबर अझै पत्यार लागेको छैन । ऊ साधारण मान्छेभन्दा फरक थियो । भगवानलाई मैले मेरो विद्यार्थी बचाइदेऊ भनेर पुकारा गरें, तर…।’

पाकिस्तान जानुभन्दा केही समय अगाडि सुरेन्द्रको निर्मलसँग फोनमा कुराकानी भएको थियो । उनले ‘सर अहिले ब्यस्त छु, आगामी जनवरीमा चितवन आउँछु, सँगै बसेर रमाइलो गर्नुपर्छ हैं’ भनेको कुरा अहिले पनि सुरेन्द्रको मनमा झल्झली आउँछ ।

उनी भन्छन्, ‘अब त्यो जनवरी त आउला तर निर्मल आउँदैन । एक सपना अधुरो बन्यो…।’

स्मल हेभन स्कुलका प्राचार्य रामचन्द्र न्यौपाने आफ्नो विद्यार्थीले विश्व कीतिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुसी भएको तर अहिले उनको निधनले विद्यालय परिवार मर्माहत र स्तब्ध बनेको बताउँछन् । उनको निधनले देशका लागि अपूरणीय क्षति पुगेको उनले बताए ।

Noting is impossible होइन I M possible भन्ने ‘निम्स’ को मूल ध्येयलाई विद्यालयका सबै विद्यार्थीले आत्मसात गर्ने विश्वास आफूले लिएको प्रधानाध्यापक न्यौपानेले बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?